ताजा अपडेट »

सचेत हुँदै दूरी कायम गरेर दशैं मनाऔं : प्रधानमन्त्री

शुक्रबार, ०७ कार्तिक २०७७, १७ : ०७
8 Shares

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना संक्रमणका बीच सचेत भएर दशैं तथा अन्य चाडवाड मनाउन आग्रह गरेका छन् । संक्रमणको दर उच्च भइरहेका बेला यो अवस्था अझै केही समय लम्बिन सक्ने देखिएको भन्दै उनले देशबासीका नाममा सम्बोधन गर्दै सचेत रहन आग्रह गरेका हुन् ।

कोरोना संक्रमणको उपचार तथा परीक्षणका लागि सरकारले जिम्मेवारी लिने भन्दै उनले जनतालाई निश्चिन्त रहन आग्रह गरे । सरकारले संक्रमितहरुलाई उपचार नगर्ने तथा सव व्यवस्थापन नगर्ने भन्ने गलत प्रचार भएको गुनासो गर्दै उनले उपचार गर्न सक्नेहरुको उपचार तथा सव व्यवस्थापनका लागि पारीवारीक संस्कार अनुसार हुने गरी सव व्यवस्थापन गर्न दिने सरकारले निर्णय गरेको बताए । ‘यदि कोही कोरोना संक्रमितको परिवारले उपचार गर्न सक्दिन भनेर स्वघोषित गरे सरकारले उपचार गर्छ ।’-प्रधानमन्त्री ओलीले भने ‘सव व्यवस्थापन गर्दा परिवारको आफ्नो संस्कार अनुसार गर्न पाउने गररी सरकारले व्यवस्था गरेको हो ।’ विपद्का बेला कोरोनाको निःशुल्क परीक्षण र उपचारमा सरकारले सक्दो प्रयास गर्ने बताउँदै नागरिकले चुनेको सरकार नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले उपचार पाउनेमा ढुक्क हुन आग्रह गरे ।

कोरोनाविरुद्धको खोपका लागि पनि नेपालले पहल गरिरहेको दाबी गरे । यस्तै, उनले चाडपर्व हाम्रो संस्कृति भएकाले यसलाई सबैको हित हुने गरी मनाउनुपर्ने बताए । चाडपर्वका नाममा हुने विकृतिलाई भने हटाउनुपर्ने उनको भनाइ छ । आँखा चिम्लेर फजुल खर्च नगर्न आग्रह गर्दै उनले चाडपर्वलाई मितव्ययी बनाउनपर्नेमा जोड दिए । दशैँलाई फरक-फरक स्थितिमा मनाउँदै आएकाले परिस्थितिअनुसार पर्व मनाउनुपर्ने उनले बताए । २०७२ सालको भूकम्पमा पनि धेरैले त्रिपाल भित्रै बसेर दशैँ मनाएको बताउँदै उनले कोरोनाको डर भएकाले एकै ठाउँमा नजिकिएर भन्दा छुट्टिएर दुरी कायम गरेर पर्व मनाउन आग्र गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।