ताजा अपडेट »

नेकपाको दुई गुट बीच झडपमा घाइते भएका जिल्ला सदस्यको मृत्यु

शुक्रबार, ०७ कार्तिक २०७७, १५ : ४६
6 Shares

बुटवल । पर्सामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई समूहबीच झडप हुँदा घाइते भएका जिल्ला कमिटी सदस्यको मृत्यु भएको छ। घाइते चौरसियाको उपचारको क्रममा शुक्रबार बिहान न्युरो अस्पताल वीरगञ्जमा मृत्युु भएको पर्साका प्रहरी प्रबक्ता एवं डीएसपी मनोजित कुवरले जानकारी दिए।

मृतक चौरसिया नेकपाकै कार्यकर्ता थिए । बिहिवार दिउँसो पर्साको बिन्दवासिनी गाउँपालिका ५ प्रसौनी भाटामा नेकपाका कार्यकर्ताबीच आपसी विवाद झडपमा परिणत भएपछि चौरसिया गम्भीर घाइते भएका थिए । प्रसौनी भाटामा नव गठित नेकपाको गाउँपालिका समितीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो। सोही विषयलाई लिएर नेकपाका कार्यकर्ताबीच बाटोमा नै झडप हुँदा चौरसियाको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका-३ का हनिश मिया, देवा सहनी र वडा नम्बर ५ प्रसौनीका शोकदिन गद्दी रहेको पर्सा प्रहरीले जनाएको छ ।

यसैबीच नेकपा पर्साले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै पार्टी जिल्ला कमिटीका सदस्य एवम् विन्दवासीनि गाउँपालिकाका सचिव चौरसियामाथि सांघातिक हमला गरी हत्या गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ। जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष प्रभु हजरा र जिल्ला सचिव विजय महतोले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न मतियारहरुलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न माग गरेका छन्। मुकेश चौरसियालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।