ताजा अपडेट »

बाल्यकालको दशैं

शुक्रबार, ०७ कार्तिक २०७७, १९ : ००
110 Shares

बाल्यकालको दशैं मेरो हृदयमा आजसम्म ताजै छ । पश्चिम नेपालको पहाडी जिल्ला पाल्पाको कचलमा जन्मिएको म । मेरो गाउँ वरिपरि पहाडी टाकुराले घेरिएको छ गाउँकै किनारबाट तिनाउ नदी कलकल गर्दै बगेको छ, भुभाग समथर नै छ । विकासका लागि बामे सर्दै गरेको कचल सांस्कृतिक र प्राकृतिक रौनकताले पहिलेदेखि नै धनी हो । ग्रीष्म ऋतु पश्चात् वर्षा ऋतुको आगमनसँगै प्रकृतिमा छुट्टै खालको अनुभूति हुन्थ्यो । कचल वरिपरिका पहाडी टाकुरालाई धपक्क कुहिरोले छोप्थ्यो ।

कलकल बग्ने तिनाउ नदी उर्लन थाल्थ्यो । हिउँदमा निदाएका खोल्साखोल्सी जाग्न थाल्थे । अधिकांश किसानको बसोबास भएकाले वर्षासँगै हिलोमाटोमा कचललाई सिगार्न सिङ्गो कचलवासी जुट्थ्यो । बिस्तारै हरियाली छाउथ्यो अनि सेलाउथ्यो झरी, बाढी र हिलो त्यसपछि लेखनाथ पौड्यालले भने झै ऋतुहरूकी रानी शरद ऋतुको आगमन हुन्थ्यो यसैसँगै मेरो बाल्यकालको खुसि बोकेर आउथ्यो दशैं । प्रकृती र संस्कृतीको यति राम्रो समन्वय मलाई अति नै प्रिय लाग्थ्यो ।

युवतीले जब ब्रेक लगाइन्
बाल्यकालमा नाँचगान, नयाँ लुगा, मीठो खाना, केरा कुराउनी, सेलरोटी, मासु र अन्य परिकार बोकेर आउने भएकाले होला मलाई दशै सबैभन्दा प्यारो लाग्थ्यो । जब शरद ऋतुको आगमन हुन्थ्यो गाउँमा लाहुर गएर पैसा कमाई फर्कनेहरूले गाउँलाई त्यसै रमाईलो बनाएका हुन्थे । सयपत्री र मखमली फूल फुलेसँगै धानका बाला झुल्थे यसैमा लाहुरेहरूले घन्काएको टेपरिकडको आवाज र उनीहरूले दलेको चमेली फूलयुक्त मगमग सुगन्धले गाउँ नै फुरुङ्ग हुन्थ्यो । जब नवदुर्गा गाउँमा भित्रिन्थ्यो तब हाम्रो नाँचगान र अभिनयको तालिम सुरु हुन्थ्यो ।

हाम्रो गाउँमा अष्ठमीको दिन कालीरात्रीमा रातभर जागाराम बस्ने चलन थियो । यहाँ पहिलेदेखि नै चेतनामूलक गीत र अभिनय गरेर देखाउने चलन थियो । अनि मन परेका गीत र अभिनयलाई दर्शकहरूले पैसा दिने गरिन्थ्यो । हामी बाल क्लवबाट तालिममा जुट्थ्यौं मनमा एक किसिमको जोस र जागर चल्थ्यो। अविवाहित लाहुरे र युवतीहरू एक हुने ठूलो सौभाग्य मिल्थ्यो । ती प्रेमी जोडीहरूको त्यो दिनको घटना अझै पनि मेरो मनमा ताजै छ । म सानै थिएँ । कालीरात्रीको रात थियो । गीत गाउने र अभिनय देखाउने कार्यक्रम सकिसकेको थियो । धेरै मानिस घर फर्किसकेका थिए । अविवाहित लाहुरे, युवती र केटाकेटीहरू मात्र मन्दिरमा बसेका थिए । चिसो सिरेठोले प्राय युवायुवती एउटा सलमा छोपिएका थिए ।

हामी केटाकेटीहरू ती युवायुवतीको कुराकानी र व्यवहारलाई नियालिरहेका हुन्थ्यौँ अनि उनीहरूले नदेख्ने गरि एकअर्कालाई हेर्थ्यौं र हास्थ्यौं । यसै समयमा हामी एउटा जोडीको नजिक पुग्यौं उनीहरू सलभित्र के कुरा गरिरहेका थिए हामीले ठम्याउन सकेनौं तर एकछिनपछि युवती लाहुरेसँग रिसाए झै गरि जुरुक्क उठेर जङ्गलतिर लागिन् । हामी युवतीको पछि लाग्यौँ अलि पर पुगेसी त फ्रक उल्टाएर पो बसिन् अनि हामी एकअर्कालाई हेरेर खुब हास्यौं । श्यामे युवती बसेको नजिक पुग्यो र चिच्यायो, ‘सर्पले ठुङ्गला है !’ युवतीले इमेर्जेन्सी ब्रेक लगाईन् अनि पखओ भन्दै आइन् हामी त्यहाँबाट विलिन भयौं । यसरी पत्तै नपाई जान्थ्यो कालीरात्रीको रात अनि बिहान राता आँखा लिएर घर पुगिन्थ्यो ।

सेल रोटी र केरा थपार्ने प्रतिस्पर्धा
नवमीको दिन घरमा बुवा मासुको जोरजाममा लाग्नुहुन्थ्यो । आमाहरू सेलरोटी पकाउनमा व्यस्त हुनुहुन्थ्यो । हामी केटाकेटी अनिदो भएकाले अबेरसम्म सुत्थ्यौं अनि उठेर रातीका कुराकानीमा व्यस्त हुन्थ्यौं । घरमा लाहुरेको आगमन र मिठा खानेकुराको बास्नाले नै मताउथ्यो । हामी मख्ख हुन्थ्यौँ । छिट्टै खानेकुरा खाएर सुत्थ्यौं । दशमीको दिन विहानैदेखि स्वच्छ, निलो र सफा आकाश हुन्थ्यो ।

हामीलाई प्राय नयाँ लुगा स्कुल ड्रेस सिलाइदिने चलन थियो दशैमा । दशैको दिन नुहाएर त्यही कपडा लगाउथ्यौं । आफूभन्दा ठूलाको हातबाट टीका लगाउन दिनभरि गाउँमा डुल्थ्यौं । टीका लगाउँदा प्रसाद स्वरुप दिएका रोटी र केरा कसले धेरै गराउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । संकलन गरेर राखेका ती रोटी धेरै पछिसम्म खान्थ्यौं । हाम्रो गाउँमा दशैकै दिन सराय खेल्ने चलन छ त्यहाँ रमाइलो गर्न कहिलै छुटिएन । धेरै साथी भएर गफिन्थ्यौं ।

दशै कसैको दसा नबनोस्
यसरी खुशी नै खुशी लिएर आउने भएकाले ३/४ महिना अगाडिबाट दशै आउने दिन गनेर बसिन्थ्यो । समय बिस्तारै अघि बडेसँगै बाल्यकालको दशै स्मृतीको पानामा सिमित हुन पुग्यो अहिले ती स्मृतिलाई आउँदै गरेको २०७७ सालको दशैले ताजा बनायो । समय गतिशील रुपमा चलिरहेको छ सँगै विभिन्न किसिमका महामारी र बाध्यताहरू भोग्नु पर्दो रहेछ त्यसैले नै खुशीहरूमा तगारो लगाउँदो रहेछ । समय, परिस्थिती अनुसार हाम्रा संस्कार र संस्कृतिहरू संरक्षण र सम्वर्धन गर्नु हाम्रो कर्तव्य हो ।

हिन्दुहरूको महान पर्व दशै-तिहारलाई संयमित भएर मनाउँ । कोभिड भाइरसको जोखिम कायमै रहेकाले यसलाई ख्याल गरि सामाजिक दुरी कायम राखौँ । दशै कसैको पनि दसा नबनोस् । फेरि पनि २०७७ सालको महान पर्व दसैको सबैलाई धेरै-धेरै शुभकामना !!!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।