ताजा अपडेट »

कसरी मनाऔं खुसी, कसरी बाँडौं शुभकामना !

शुक्रबार, ०७ कार्तिक २०७७, १९ : ३०
12 Shares

‘कोरोना संक्रमित बेड नपाएर तड्पिएका छन, ब्यापारी घर बहाल र बैंकको ब्याजले त्रसित छन् । यातायात व्यवसायी झन् छटपटिएका छन्, रोगी बिरामीले उपचार पाएका छैनन्, दशैंको बेला घरसम्म पुग्ने अवस्था छैन । गरिब भोकै मर्ने स्थिति छ । यो महामारीको बेला हामीले चुनेका महानुभावहरु दसैं पेश्की मोहमा डुबेको कुरा सुन्दा मन भक्कानिएर आउँछ ।’ -समुन्द्र जि.सी, (अध्यक्ष होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही)

केही दिनअघि फेसबुकमा राखिएको यो पोष्ट पढ्दा लाग्यो-साँच्चै नै यो दशैं धेरैका लागि खुसी र उमङ्ग भन्दा पनि न्यास्रोमा परिणत हुनेछ । दसैं हाम्रो सांस्कृतिक पर्व हो । यूगौंदेखि मनाइँदै आएको यो सांस्कृतिक पर्व कोरोना कहरका कारण नेपालको इतिहासमै पहिलोपटक हर्षमा भन्दा पनि बिस्मातका साथ बित्ने अवस्था आएको छ । हामी सबैलाई थाहा छ कोभिड-१९ को कारण नेपालको अर्थतन्त्र उकालोभन्दा पनि ओरालो लागेको अवस्थामा छ । सरकार खर्च चलाउने अवस्थामा छैन । लकडाउन गर्नैपर्ने अवस्थामा पनि कर उठाएर खर्च चलाउन सरकार आँफै बाध्य छ । नीजि क्षेत्रले करिव सात महिनाको अवधीमा अरबौंको क्षति व्योहोरेको छ । सबै क्षेत्रका आ-आफ्नै पीडा छन् । यातायात व्यवसायीले सात महिनादेखि ग्यारेजमा राखेका बस यो दशैंमा चलाउने आशा साथ सडकमा निकालेका छन् । तर, बिडम्वना यात्रु नपाएर खाली बस गुडाउनुपर्ने अवस्था छ ।

बैंक ऋण र ब्याज तिर्न नसकिएको गुनासो माझ व्यवसायीले त्यो दिनको आशा गरेका थिए, जुन दिन फेरी मुलुकको जनजीवन सहज बन्नेछ । तर, कोरोनाको महामारी बढ्दैछ । जनजीवन झनै सकसपूर्ण बन्दैछ । सरकार भन्दैछ ‘यो दशैं घरभित्रै मनाउँ । कोही आफन्त र इष्टमित्रसँगै बसेर खुसी साटासाट नगरौं ।’ बास्तवमा कोरोना कहरको करिब आठ महिना लामो सकसबीच दशैं नेपाली घर आँगनमा आएको छ । तर, यो दशैंले न रौनक ल्याउन सक्यो न बहार नै । कुनै खुसी र उमङ्ग सिर्जना गर्न सकेन । बिजयको खुसीयालीमा मनाइने दशैंले कोरोनाको त्रास र मनोविज्ञानलाई पराजित गर्न सकेन । सुन्दर भविष्यको कल्पना गर्दै शुभकामना र आशिर्वाद छर्ने हाम्रो परम्परागत सांस्कृतिक पर्व दशैंले यो वर्ष उमङ्ग, रोमाञ्चकता र सौन्दर्यभन्दा पनि उकुस–मुकुस, उही त्रास र भूगोलको घेराबन्दी तोड्न सकेन ।

आठ महिना भयो-नेपालीको जीवन उमंगित हुन नपाएको । धन हुनेहरु पनि खर्च गर्न नपाउँदा उमङ्गित र प्रफुल्लित हुन पाएका छैनन् । त्यसैपनि यो वर्ष दशैं उजाड बन्ने नै भयो । त्यसमाथि आर्थिक सूचकहरुले पनि निरास हुने सर्वेक्षण गरिरहेका छन् । आर्थिक बृद्धि अति न्यून हुने प्रक्षेपण भैरहेको छ । जसका कारण नेपालको अर्थतन्त्र फेरी माथि उकासिन वर्षौ लाग्ने अवस्था छ । गत वर्ष आर्थिक बृद्धि १ दशमलव आठ प्रतिशतमा सीमित भएको सर्वविदित छ । यो वर्ष पनि आर्थिक बृद्धि त्यसभन्दा तल अर्थात ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको घोषणाले नेपालीहरुलाई निरास वनाएको छ । नेपाल सरकारको प्रक्षेपणभन्दा अत्यन्तै कम आँकलन गर्दै विश्व बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नेपालको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने उल्लेख छ । विश्व बैंकका अनुसार कोरोना महामारी र बन्दाबन्दीका कारण पर्यटन क्षेत्र लगाएत अनौपचारिक क्षेत्रमा व्यापक नकारात्मक प्रभाव परेकाले नेपाल मात्र नभई दक्षिण एसियामा नै हालसम्म नै सामना नभएको चरम आर्थिक मन्दीको सामना गर्ने प्रक्षेपण गरिएको छ । कोभिडका कारण अनौपचारिक क्षेत्रका लाखौँ कामदार बेरोजगार हुने र यसबाट दक्षिण एसियाली नागरिकले चरम गरिबीको सामना गर्नुपर्ने खतरा पनि विश्व बैंकले औँल्याएको छ । विप्रेषण आय पनि गुम्ने खतरा उच्च छ । सन् २०२१ मा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि ४.५ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति आय पनि अपेक्षा गरेभन्दा ६ प्रतिशतले कम हुनेछ । कोभिडको असर अर्थतन्त्रमा दीर्घकालीन रूपमै पर्नसक्ने देखिएको विश्व बैंकको विश्लेषण छ । त्यसमाथि नेपाल जस्तो कम विकसित राष्ट्रलाई कोरोना कहरले कैयौं वर्षसम्म गाँज्ने स्वाभाविक छ ।

आठ महिनाको अवधीमा नेपालको अनौपचारिक क्षेत्रबाट ७० हजार श्रमिकले काम गुमाएको उल्लेख छ । सामाजिक सुरक्षामा नसमेटिएका व्यक्तिमाथि आर्थिक मन्दीको असर झनै उच्च हुने प्रक्षेपण गरिएको छ । यस्ता नागरिकको आर्थिक अवस्था खस्कन नदिन रोजगारी सिर्जना, सामाजिक सुरक्षाजस्ता कार्यक्रम ल्याउन आवश्यक रहेकोमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय दातृ निकायले जोड दिएका छन् । अझ सहरी क्षेत्रको अनौपचारिक क्षेत्रका कामदार तथा स्वरोजगार परिवार उच्च जोखिममा परेका औँल्याइएको छ । सीमित बचतका आधारमा चलेका यस्ता अनौपचारिक क्षेत्रले संक्रमणको जोखिमका बीच पनि व्यवसाय चलाउन बाध्य हुनुपर्ने र यसबाट पुनः संक्रमण फैलाउने खतरापूर्ण अवस्था औँल्याइएको छ । यस्तो अवस्थामा दसैंको उल्लास र उमङ्ग कसरी साटासाट गर्ने ? प्रश्न यहिँनिर छ ।

प्रत्येक दिन कोरोनाले ‘रेकर्ड’ बिट गरिरहेको छ र हामी त्यही रेकर्ड सुनेर त्रासमा बाँच्न विवश छौं । यो बेला दशैंको रौनकले खुसी र उमङ्ग भन्दापनि अब आउने सुदूर भविष्यको चिन्ताले नेपालीजनलाई आक्रान्त बनाइरहेको छ । भविष्यको चिन्तालाई लिएर उत्पन्न कुण्ठा, नैराश्यता र उद्धिपन चिर्ने साहस गुम्दै गएको छ ।

विदेशमा श्रम गर्ने नेपालीहरु मध्ये करिब दुई लाख नेपाली कोरोना कहरका बीच स्वदेश फर्किएका छन् । पाँचलाख नेपाली स्वदेश फर्किएको भनिएपनि दुई लाखको हाराहारीमा नेपालीहरु स्वदेश फर्किएका छन् । उनीहरुले स्वदेशमै श्रम गरेर नेपालकै माटो हराभरा गर्ने अठोट गरेका छन् । सरकारले विदेशबाट फर्किएकाहरुलाई लक्षित गर्दै रोजगारी र व्यवसायमा प्रेरित गर्ने योजना अघि बढाएको छ । तर, सरकारको यो प्रतिबद्धता केवल दिवास्वप्ना जस्तै भयो । स्वदेश फर्किएकाहरुमध्ये धेरै फेरि खाडी जाने निधो गरेर उडिरहेका छन् ।

सरकारको योजना र प्रतिबद्धता कार्यान्वयनमा आउन महिनौं लाग्ने देखिन्छ । त्यसले नेपालीको ध्यान तान्न सकेन । अर्कोतर्फ कोरोना महामारीले दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकट बढ्दै गएको दाबी गरिएको छ । त्यसको छनक विश्व आर्थिक मन्दीले पनि दिएको छ । अन्तर्राष्ट्रिय विज्ञहरुले भविष्यसम्मको यसको अवश्यम्भावी प्रभावले त यसलाई सन् १९३० को भन्दा पनि भयानक ‘ग्रेटर डिप्रेसन’ को नाम दिएका छन् । मानव जीवन सुरक्षासंँगै आर्थिक सुरक्षा आजको प्रमुख मुद्दा र चूनौती बनेको छ ।

अहिले सबै आय-व्यय विपरीत दिशामा घुमेको अवस्था हो । यद्यपि कोभिड-१९ को कारण आएको विश्वव्यापी आर्थिक मन्दीले आत्मनिर्भर अर्थतन्त्रको निर्माणतर्फ अघि बढ्न उपयुक्त अवसर प्रदान गरेको भन्ने गरिन्छ । नेपालका लागि भने यो आकासको फल आँखातरी मर भनेजस्तै हो । सरकारले आठ महिनाको अवधीमा आर्थिक बृद्धिका ठोस कार्यक्रम सार्वजनिक गर्न सकिरहेको छैन । सबैतिर निरासा मात्र छ । प्रत्येक दिन कोरोनाले ‘रेकर्ड’ बिट गरिरहेको छ र हामी त्यही रेकर्ड सुनेर त्रासमा बाँच्न विवश छौं । यो बेला दशैंको रौनकले खुसी र उमङ्ग भन्दापनि अब आउने सुदूर भविष्यको चिन्ताले नेपालीजनलाई आक्रान्त बनाइरहेको छ । भविष्यको चिन्तालाई लिएर उत्पन्न कुण्ठा, नैराश्यता र उद्धिपन चिर्ने साहस गुम्दै गएको छ । यस्तो बेला हरेक नेपालीको मनमा एउटै प्रश्न आउने गर्दछ, यो दशैंमा कसरी मनाउने खुसी अनि कसरी बाँडौं शुभकामना !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।