ताजा अपडेट »

लैङ्गिक विभेदको कारण धर्म, विपन्नता वा अशिक्षा ?

बुधबार, ०५ कार्तिक २०७७, ११ : १०
30 Shares

काठमाडौं । धार्मिक अगुवा, सामाजिक अभियानकर्मी, कलाकारलगायतले लैङ्गिक विभेदको कारण धर्म नभई आर्थिक विपन्नता र अशिक्षा भएको बताएका छन् ।  सञ्चारिका समूहले आज आयोजना गरेको ‘धर्म र सामाजिक लिङ्ग’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले सबै धर्म र त्यससम्बन्धी ग्रन्थले महिलालाई सम्मान दिएकाले लैङ्गिक विभेदलाई बढवा नगरेको बताएका हुन् ।  

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इश्लाम धर्मले महिलालाई उच्च सम्मान दिएको बताए । विगतमा शिक्षा र चेतनाको कमीले गर्दा विभेद भएको उनको भनाइ छ । उनले भने, “विगतमा छोरीलाई अर्काको घरमा पठाउनुपर्छ र पढाउनु हुँदैन भन्ने भएपनि अहिले त्यसमा परिवर्तन आइरहेको छ ।” त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र विभागका सहप्राध्यापक शुक्रराज अधिकारीले धर्म भनेको धारण गर्ने विषय भएको बताउँदै पहिले युद्धग्रस्त समाजमा पुरुषलाई उत्पादनसँग जोडेर हेरिए पनि अहिले धर्मले कतै पनि महिलालाई विभेद नगरेको जिकिर गरे ।

कलाकार आनी छोइङ डोल्माले समाजमा रहेका विभेद हटाउन महिला आफैँले पनि आत्मबल बलियो बनाउनुपर्नेमा जोड दिइन् । आध्यात्मिक अगुवा भोलानाथ योगीले महिलालाई आमाका रुपमा नहेरेर स्त्रीका रुपमा हेर्दा विभेद हुने गरेको बताए ।

सञ्चारिकाकी अध्यक्ष नितु पण्डितले हिन्दु धर्ममा छोराले नै दागबत्ती दिनुपर्छ भन्ने मान्यताका कारण छोरा नै चाहिन्छ भन्ने धारणा विकास भएको जनाउँदै बाबुआमाको मृत्युपछिको संस्कारका लागि बरु दाजुभाइका छोराले गर्ने तर आफ्नै छोरीले हुँदैन भन्ने सोच गलत रहेको बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।