ताजा अपडेट »

गुल्मीका मन्दिर र शक्तिपीठमा निषेधाज्ञा जारी

बुधबार, ०५ कार्तिक २०७७, १० : २२
10 Shares

गुल्मी । गुल्मीका मन्दिर र शक्तिपीठमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला बडादशैं लगायतका चाडपर्वमा मन्दिरहरुमा भेला हुन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

प्रशासनले नगरपालिका र गाउँपालिका तथा सो वडाहरुमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजा बाहेक दर्शनका लागि मन्दिर जान सर्वसाधारणका लागि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी भएको छ । यदि कोहि कसैले सूचनाको अवज्ञा वा उल्लंघन गरे संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारबाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिड-१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरुप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउन प्रशासनले आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले अति आवश्यक काम नपरि बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला तथा भोज भतेर नगर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको हो ।

यस वर्षको चाडपर्व जो जहाँ छौं त्यहि बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।