ताजा अपडेट »

अमेरिकी राष्ट्रपतिको अर्को आदेश अदालतले रोक्यो

मंगलबार, ०१ माघ २०७५, १३ : ४६
4 Shares

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ । 

सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधाहरु हटाएको थियो । ट्रम्प प्रशासनको उक्त आदेश लगत्तै स्वास्थ्य बीमा कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका सुविधा कटौती हुनुका साथै कतिपय स्वास्थ्य संस्थाले गर्भपतनमा कडाई गर्न थालेका थिए । 

अमेरिकी अदालतहरुले ट्रम्प प्रशासनका नयाँ नियमहरुप्रति आपत्ति जनाएपछि सामान्य संशोधन गरिएको थियो । यी संशोधनहरु सोमवारदेखि लागू हुने तयारीमा थिए । पेन्सिलभेनियाकी अमेरिकी जिल्ला न्यायाधीश वेन्डी बिटलस्टोनले राष्ट्रव्यापी रुपमै लागू हुनेगरी नयाँ आदेश जारी गरेकी हुन् । 

खासगरी, ट्रम्प प्रशासनले निःशुल्क औषधिका सुविधा धार्मिक र केही व्यावसायिक संस्थाका हकमा लागू नहुने गरी नियमहरु जारी गरेको थियो । उक्त नियमका कारण ठूलो संख्यामा महिलाहरुले त्यस्तो स्वास्थ्य सुविधा पाउन नसक्ने अवस्था सिर्जना भएसँगै अदालतमा महिलाहरुले उजूरी गरेका थिए । 

“ट्रम्प प्रशासनका अन्तिम नियमहरुका कारण परिवार नियोजनका साधन उपलब्ध नगराउने संस्थाहरुको संख्या ठूलो हुने अवस्था देखियो । यो नियम सरकारी स्वास्थ्य कार्यक्रमको प्रतिकूल पनि हो,” न्यायाधीश वेन्डीले भनेका छन् । “पछिल्ला नियमहरुका कारण कम्तीमा ७० हजार ५ सय महिलाले निःशुल्क परिवार नियोजनका सुविधा पाउने छैनन् । आर्थिक क्षतिका अलावा नागरिकको सुरक्षा र भलाईमै राज्यको दायित्व कमजोर हुने अवस्था सिर्जना भएको छ ।” 

पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा सन् २०१० मा ल्याइएको ओबामाकेयरले महिलालाई निःशुल्क परिवार नियोजनका सुविधा उपलब्ध गराउँछ । यो कार्यक्रम मार्फत लाखौं अमेरिकीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लीकलन पार्टीले उक्त कार्यक्रम खारेज गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेपनि सफल हुन सकेको थिएन । 

संयुक्तराज्य अमेरिकामा गर्भपतन बारे ठूलै बहस भइरहेको छ, र राज्यपिच्छे फरक नियमहरु अपनाइएका छन् । सन् १९७३ मा अदालतको विशेष आदेशपछि अमेरिकाभर नै महिलालाई गर्भपतनका लागि कानुनी बाटो खुलेको थियो । 

वर्तमान अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा समेत गर्भपतन विरोधी व्यक्तिलाई न्यायाधीशमा नियुक्त गरेसँगै महिला अधिकारवादीहरुले गम्भीर चासो व्यक्त गरेका छन् । 

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार अदालतको पछिल्लो आदेशविरुद्ध सङ्घीय वा सर्वोच्च अदालतमा पुनरावेदन गर्नेबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । 

पेन्सिलभेनियाका महान्यायाधीवक्ता जोस सापिरोले अदालतको आदेशप्रति खुशी व्यक्त गर्दै अमेरिकी संसदबाट पारित नै नभएको स्थितिमा राष्ट्रपति ट्रम्पले बलजफ्ती महिलाको अधिकार खोस्न लागेको अवस्थामा अदालतले सही आदेश दिएको प्रतिक्रिया दिए।-  एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।