१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

कास्की । रामसार सूचीमा सूचीकृत पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको संरक्षणका लागि संरक्षित फेवा जलाधार क्षेत्र घोषणाको तयारी गरिएको छ । दिगो संरक्षण एवं व्यवस्थापनका लागि ताल एवं यसको जलाधार क्षेत्रको एकीकृत विकास र व्यवस्थापनका लागि वन तथा वातावरण मन्त्रालयअन्तर्गत बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले संरक्षित क्षेत्र घोषणा गर्ने प्रयोजनका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिर्या शुरु गरेको हो ।

Advertisement

सर्वोच्च अदालतले विसं २०६८ चैत २० गते फेवाताल संरक्षित जलाधार क्षेत्र घोषणाका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश गरेकामा पुनः विसं २०७५ वैशाख १६ गते सरकारका नाममा आदेश जारी गरेको थियो । सरकारले संरक्षित फेवा जलाधार घोषणाको काम अघि बढाउन गत साउन ५ गते विशेष निर्णय गरी फेवाताललाई प्रचलित कानूनबमोजिम संरक्षित जलाधार क्षेत्र र वातावरण संरक्षण क्षेत्र कायम गर्न वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिएपछि जिल्लामा त्यसको तयारी शुरु गरिएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा गठित जिल्ला भू–तथा जलाधार संरक्षण समितिले जलाधार क्षेत्रअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीवासीसँग छलफल गरी राय सुझाव लिने तथा सरकारलाई घोषणाका लागि स्थानीयवासीबाट प्रतिबद्धता व्यक्त गराउन शुरु गरेको हो ।

सो समितिले सरोकार भएका सबै पक्षसँग छलफल गरी सरकारलाई संरक्षित फेवा जलाधार क्षेत्र घोषणाका लागि सिफारिस गर्नेछ । फेवा जलाधार क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३, ५, ६, ७, ८, १७, १८, २३ र २४ वडा पर्दछन् । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं १, २, ३ र ४ नं वडा पर्ने भएकाले त्यस क्षेत्रका जनतासँग सुझाव लिएर सरकारलाई सिफारिस गरिने प्रमुख अधिकारीले बताए ।

फेवातालको ड्यामलाई तालको पानी निकास बिन्दु मान्दा फेवा जलाधारको जम्मा क्षेत्रफल १२३ वर्ग किमी छ । यहाँ बसोेबास गर्ने जनसङ्ख्या एक लाख ३३ हजार ६६४ छ । प्रमुख अधिकारीले जलाधार क्षेत्रबाट वार्षिक एक लाख ४२ हजार मेट्रिकटन ढुङ्गा, माटोलगायतका गेग्रान तालमा मिसिँदा ताल पुरिँदै गएकाले जलाधार क्षेत्रको संरक्षणबाट मात्र ताल जोगिने बताए ।

“फेवातालको मूल जलाधार क्षेत्र हो, यसको संरक्षणबिना तालको संरक्षण हुँदैन”, उनले भने, “समग्र जलाधार क्षेत्रको एकीकृत व्यवस्थापनका लागि सरकारले संरक्षित क्षेत्र घोषणा गरी बृहत् योजना बनाउनेछ ।” जलाधार व्यवस्थापन केन्द्र गण्डकीका प्रमुख रामसिंह थापाले जलाधार क्षेत्रमा आइरहेका समस्या समाधान गरी भूउत्पादकत्व वृद्धि तथा स्थानीयवासीको जीवनस्तर सुधारका लागि संरक्षित क्षेत्र घोषणा गरिने बताए ।

संरक्षणको सोचबिनाको अव्यवस्थित विकास निर्माणका कार्यबाट बाढीपहिरोको प्रकोप बढ्न गई माटो तालमा मिसिँदा फेवातालको क्षेत्रफल घट्दै गएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वको सम्पदा फेवाताल प्राकृतिक र मानवीय कारणबाट तालको निरन्तर क्षयीकरण भइरहेकाले जलाधार संरक्षण नगरी विकास गर्दा तालको आयु घट्ने भएकाले संरक्षित जलाधार घोषणा गर्न लागिएको बताइन्छ ।

संरक्षित जलाधार घोषणापछि जलाधार क्षेत्रको भू–उपयोग योजनातर्जुमा तथा कार्यान्वयन, भू–क्षमताका आधारमा उपयोग नीति तथा भूक्षय, बाढी, पहिरो जस्ता प्रकोपको नियन्त्रणका लागि सडक पाखोको संरक्षणका कार्यक्रम सञ्चालन हुने भएकाले तालको संरक्षण हुने बताइन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण