ताजा अपडेट »

जापान र भियतनामबीच प्रतिरक्षा सहयोग आदानप्रदान गर्न सहमति

सोमबार, ०३ कार्तिक २०७७, १५ : १५
2 Shares

हनोई । जापान र भियतनामबीच रक्षा र सुरक्षा सहयोग बढाउन तथा दुई देशबीच प्रत्यक्ष हवाई उडान पुनः स्थापित गर्न सहमति भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो विदेश भ्रमणका क्रममा भियतनाम आइपुग्नु भएका जापानका प्रधानमन्त्री योशिहिडे सुगा र आफ्ना भियतनामी समकक्षी प्रधानमन्त्री नुग्वेन जुआन फुकबीच शिखर वार्तामा उक्त सहमति भएको हो ।

दुबै देशका उच्च अधिकारीबीच यस क्षेत्रमा चीनको विस्तारित प्रभावको सामना गर्न रक्षा र सुरक्षा सहयोग बढाउन सहमत भएका थिए । सोमबार हनोईमा आयोजित शिखर वार्तापछि भियतनामका लागि आवश्यक रक्षा उपकरण र प्रविधि जापानले निर्यात गर्ने आधारभूत सम्झौतामा हस्ताक्षर समेत भएको छ । जापानले हालका वर्षहरूमा दक्षिणपूर्वी एशियासँग सम्बन्ध बलियो बनाउन र आफ्नो प्रतिरक्षा उद्योगलाई सबल बनाउन यस्ता सम्झौताहरू गरिरहेको छ ।

सुगाले आफ्नो चार दिने भियतनाम भ्रमण र त्यसलगत्तै इन्डोनेसियाको भ्रमणका क्रममा आफूले स्वतन्त्र एवं खुला हिन्द–प्रशान्त महासागरीय बहुपक्षीय आर्थिक तथा सुरक्षा सहयोगका लागि समर्थन जुटाउनेतर्फ केन्द्रित रहने बताए । उनले दक्षिण चीन सागरमा चीनको बढ्दो उपस्थितिका बारेमा पनि समीक्षा हुने उनले स्पष्ट गरे ।

“स्वतन्त्र र खुला हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) प्राप्त गर्ने हाम्रो दृष्टिकोण हासिल गर्न भियतनामको भूमिका निकै महत्वपूर्ण छ,” प्रधानमन्त्री सुगाले भियतनामी प्रधानमन्त्री फूकसँगै आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने । “जापान, एक इण्डो–प्यासिफिक राष्ट्रको रूपमा, यस क्षेत्रको शान्ति र स्थिरतामा निरन्तर योगदान दिनेछ ।”

प्रधानमन्त्री सुगाले इन्डो–प्यासिफिकको केन्द्रका रुपमा रहेको भियतनाममा आफ्नो पहिलो विदेश भ्रमण गर्न पाएकामा खुशी व्यक्त गरे । जापानले यसअघि पनि संयुक्तराज्य अमेरिका, बेलायत र मलेसियालगायत अन्य देशहरूसँग रक्षा उपकरण स्थानान्तरण सम्झौता गरिसकेको छ । भियतनाम १२ औं साझेदार मुलुक हो । जापानले पहिलो रक्षा उपकरण फिलिपिन्सलाई गत अगष्ट महिनामा उपलब्ध गराएको थियो जसमा जापानमा निर्मित राडार निगरानी प्रणाली रहेको थियो ।

भियतनामलाई उपलब्ध गराउने सम्भावित रक्षा उपकरणका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन, तर प्रधानमन्त्री सुगाले सम्झौतालाई द्विपक्षीय रक्षा सहयोगका लागि “एक प्रमुख कदम” भनेक छन् । जापानले सन् २०१४ मा सैन्य उपकरण र प्रविधि हस्तान्तरणमा आंशिक रूपमा प्रतिबन्ध हटाएको थियो । पूर्व प्रधानमन्त्री शिन्जो आबेले जापानको रक्षा क्षमता बढाउने प्रयास स्वरुप जापानी रक्षा सामान विदेश निर्यातमा रहेका प्रतिबन्धहरु हटाएका थिए ।

सुगा र फुकले अन्य आर्थिक क्षेत्र र आतंकवाद विरोधी उपायहरुमा परस्पर सहयोग गर्न अन्य सम्झौताहरुमा हस्ताक्षर गरेका छन् । कोरोना भाइरसका कारण दुबै देशबीच अबरुद्ध उडान र यात्रालाई खुकुलो बनाउन पनि सहमति भएको छ । छोटो अवधिको व्यावसायिक भ्रमणलाई अनुमति दिन तथा भियतनाम र जापानबीच उडान पुनः खोल्न पनि सहमति भएको छ ।

सुगाले कोरोनाभाइरसबाट प्रभावित जापानमा कार्यरत भियतनामी कामदारहरूलाई सहयोग पु¥याउन जापानले आवश्यक सहयोग गर्ने पनि बताए । हालैका वर्षहरुमा जापान आएका विदेशी कामदारमध्ये आधाभन्दा बढी भियतनामी छन् ।

भियतनामको एक प्रमुख व्यापारिक साझेदार मुलुक जापान हो जुन यस वर्ष झण्डै २९ अर्ब डलरको छ । भियतनामको सबैभन्दा ठूलो विदेशी सहयोगी दातृ मुलुक जापान रहेको छ । सन् २०१९ सम्ममा जापानले २३ अर्ब डलर अनुदान र ऋण भियतनामलाई उपलब्ध गराइसकेको छ । -एपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।