ताजा अपडेट »

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने

आइतबार, ०२ कार्तिक २०७७, १२ : ४७

बुटवल । सिटिजन्स बैंक इन्टरनेशनल र बुटवलस्थित तिनाउ मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिने भएका छन् । सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी शनिबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्राप्ति सम्बन्धी सम्झौतापत्रमा सिटिजन्सका सञ्चालक तथा मर्जर समिति संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका सञ्चालक तथा मर्जर समिति संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतामा हस्ताक्षर गरेको तिनाउ मिसनका सिइओ प्रदिपकुमार श्रेष्ठले ग्लोबल आवाजलाई जानकारी दिए ।

आइतबार कात्तिक २ गते आजसम्मको तथ्यांकमा, सिटिजन्सले तिनाउ मिसन प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ । ऋण लगानी ९८ अर्ब रुपैयाँ पुग्नेछ भने कुल शाखा १ ६४ हुनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ छ भने तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ । सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए ) द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ ।

सिटिजन्सले देशभरका १ सय ११ वटा शाखा, ९९ वटा एटिएम र १०४ शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गरिरहेको छ भने तिनाउ मिसनले ५ जिल्लाका ५३ वटा शाखा तथा १५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । तिनाउका थप ५ वटा शाखा खुल्ने तयारीमा रहेको सिइओ श्रेष्ठले जानकारी गराए ।

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मावन-संशाधनका साथै प्राविधिक एवम् अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्क सुविधा प्रदान गर्न सहज हुने बताइएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाम्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजनन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त तिनाउ मिसन प्राप्ति गर्ने प्रक्रिया पौष महिनाभरी सक्ने गरी काम भइरहेको जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।