Aug 18, 2022
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको व्यासनगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको पुलको रेलिङ भाँच्चिदा उच्च जोखिम बनेको छ । पुलको दायाँबायाँ राखिएका फलामका रेलिङ खिया लागेर जीर्ण हुनका साथै केही रेलिङ भाँच्चिएपछि उच्च जोखिम बनेको हो ।
भाँच्चिएका रेलिङ समयमा मर्मत नहुँदा गत भदौ १० गते धादिङ घर भएका ३० वर्षीय दिनेश थापा अचानक खस्दा उनको खुट्टा भाँच्चिएको थियो । बेवारिसे भएको उनको स्थानीयवासीले आर्थिक सङ्कलन गरेर पोखरा लगि उपचारपश्चात घर फर्किएका छन् । व्यासनगरपालिका–२ निवासी रामजी लौडारीको नेतृत्वमा रकम सङ्कलन गरी उनको उपचार गरिएको हो ।
त्यसैगरी यही असोज २८ गते साँझ पुनः एक जना सोही पुलको रेलिङ नभएको स्थानबाट खसेर घाइते भएका छन् । बागलुङमा ज्यालामजदुरी गर्दै आएका कटारी नगरपालिका–९ भोर्लाका ३७ वर्षीय प्रेम रोका पुलबाट खसेर सख्त घाइते भएका छन् । बागलुङबाट दमौली झरेर पैदल हिँडेर घर जाने क्रममा खस्दा घाइते भएका हुन् । उनको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पुलको रेलिङ जीर्ण र भाँच्चिएर खतरा बन्दै गएपछि उक्त रेलिङ मर्मतसम्भार तत्काल गर्न लागिएको सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमितकुमार श्रेष्ठले बताए । उक्त पुल हुँदै दैनिक विद्यालय तथा क्याम्पसका विद्यार्थी तथा सर्वसाधारण आवतजावत गर्दैै आएका छन् ।
मानिस साँझबिहान हिँड्दा खतरा बढेकाले तत्काल मर्मतसम्भारको कार्य अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । दशैँअगावै उक्त पुलको रेलिङ मर्मतसम्भार कार्य गरी सहजरूपमा यात्रा गर्ने व्यवस्था मिलाइने उनले बताए ।
प्रतिकृया दिनुहोस्