ताजा अपडेट »

गाउँको डायरी : प्राचीन जारकाटे गाउँ, अचेल गणेशटोल

विहीबार, २९ असोज २०७७, १७ : ४७
18 Shares

भद्र, भलादमी र गन्य, मान्यको गाउँ हो गणेशटोल । उक्त गाउँमा तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता एवम् वडा नं. २ का वडाध्यक्ष राजेश श्रेष्ठ, साविक दोभान गाविसका अध्यक्ष लक्ष्मण थापा, शिक्षक पदमलाल शाक्य, सहकारीका अभियन्ताहरु विष्णु एवम् दुर्गा थापाहरु बस्दै आएका छन् । गाउँपालिकाका अधिकृत यादवप्रसाद अर्यालको घर पनि सोही गाउँमै छ । यसो भएकै कारण गणेशटोललाई बढेवालाका गाउँ पनि भन्ने गरेको सुनिन्छ ।

पहिले यस गाउँको नाम जारकाटे थियो । पाका पुरानाले अचेल पनि जारकाटे भनेरै चिन्दछन् । जारकाटे गाउँको निशानी ठूलो ढुंगो छ । नयाँ पुस्तालाई जारको अर्थ थाहा नहुन सक्छ । जारकाटे नाउँ नमीठो लागेरै होला स्थानीयहरुले नयाँ नाम गणेशटोल राखेको । गाउँमा गणेश मन्दिर छ।
सामान्य भाषामा आफ्नी श्रीमती भगाएर लैजाने पुरुषलाई जार भनिन्छ । शब्दकोषका अनुसार रुसका बादशाहको प्राचीन उपाधि जार थियो । पोइल गएकी स्त्रीको पहिलो लोग्नेको नातामा दोस्रो लोग्ने,पुरानो पोइको लेखा नयाँ पोई, अर्काकी ब्याइते पत्नीसँग संभोग गर्ने ब्यक्ति, उपपति, नाठो भनेर शब्दकोषमा जारका बारेमा विस्तृत रुपमा उल्लेख गरेको पाइन्छ ।

प्राचीन जारकाटे ढुंगा

एकपटक कुनै लाहुरेको श्रीमती कुनै जारले लगिदिए छ । बाटामा पूर्व श्रीमती र जार भेटिएछन् । लाहुरेले जारलाई देखेपछि आफ्नी श्रीमती भगाइ दिएको रीसको झोंकमा तरबारले काटिदिए छन् । त्यतिले रीस नमरेपछि नजिकै रहेको ढुंगामा तरबार धसे छन् । जसको स्वरुप एकहात जति गहिरो खत आजसम्म पनि भेट्न सकिन्छ । यो आधिकारिक प्रमाण त खासै छैन । स्थानीय नागरिकहरुले कहावतका रुपमा भनेका सुनेको हुँ मैले । माथिको घटनाले जारप्रति कति आवेग, रीस र घृणा हुन्छ भन्ने एकीन गर्न खासै कठिनाई हुँदैन । यो घटनाले जारकाटे नाम रहन गएको किंवदन्ती छ । यो गाउँ अहिलेको गणेशटोलमा नै छ । जारकाटे नाम तत्कालीन समयमा उपयुक्त थियो होला !

स्थानीय बुद्धिजीवी अमर प्रधानका अनुसार जारकाटे नाम देशका अन्य धेरै ठाउँमा छ । गाउँका पाका पुराना गंगाबहादुर खत्री भन्छन्–हामीले जान्दादेखिनै गाउँको नाम जारकाटे थियो । अचेल नयाँ पुस्ताले गणेशटोल राखिदिए पनि जारकाटे भन्न बिर्सिएका छैनौं ।

ऐतिहासिक दाेभान पुल

नेपालको पहिलो मुलुकी ऐन सम्वत् १९१० मा राणाहरुले लागू गर्दा जारीको महल नै खडा गरेका रहेछन् । सो महलमा तागाधारीहरुले जार काट्न नपाउने र गैह्रतागाधारी वा मतवालीहरुले जार काट्न,जारी लिन वा जारलाई आफ्नो टाङ्गमूनि छिराएर नार्मद बनाएर छाड्न सक्ने प्रावधान रहेको कानूनका जानकार युवराज कंडेल बताउँछन् । दोस्रो मुलुकी ऐन २०२० मा जार काट्ने चलन पूर्ण रुपमा खारेज गरिएको थियो ।

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ पर्ने गणेशटोलमा गणेश सामुदायिक वन,गणेश आमा समूह,गणेश सांस्कृतिक समूह जस्ता सामाजिक संघसंस्थाहरु छन् । जसका कारण सामाजिक,आर्थिक एवम् सांस्कृतिक परिवर्तनका निम्ति केही कामहरुको थालनी भएको छ ।

सोही गाउँमा मिलीजुली वचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ । स्थानीयहरुको आर्थिक उपार्जनका निम्ति सो सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । २०५७ सालदेखि निरन्तर गतिशील उक्त सहकारीमा सात सय ८० जना शेयरधनी सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०७६/२०७७ सम्म आइपुग्दा पाँच करोड बढीको आर्थिक क्रियाकलाप भइसकेको छ । गाउँलेहरुका गर्जो टार्ने काममा सारथि बनेको मिलीजुली सहकारीको आफ्नै जग्गा र पक्की एकतले भवन समेत रहेको छ । पटक पटक पुरस्कृत भइसकेको मिलीजुली सहकारीले तिनाउकै मुहार फेर्ने काममा आफूलाइ दर्ज गर्न सक्नुपर्छ ।

गणेशटोल गाउँमा दोभान मावि रहेको छ । सम्वत् २०१८ सालमा स्थापना भएको सो विद्यालय तिनाउ गाउँपालिकाको दोस्रो पुरानो विद्यालय हो । कक्षा नौदेखि १२ सम्म कृषि धारतर्फको शिक्षा सञ्चालनमा रहेको दोभान मावि यस क्षेत्रको शैक्षिक उन्ननयनका लागि नौलो आयाम हो ।

तिनाउ गाउँपालिकाको मुटुमा रहेको गणेशटोल हुँदै ऐतिहासिक,प्राचीन, पुरातात्विक एवम् पर्यटकीय गन्तव्य नुवाकोट पुग्न सकिन्छ । पुरानो बटौलीबाट नून, तेल, तमाखु बोकेर नुवाकोट,जारकाटे(गणेशटोल) नजिकै रहेको पुल तरेपछि बोटेगाउँ, सालबास, रानीबास, मस्यामको हटिया पुगिन्थ्यो । गणेशटोल नजिकैबाट दोभान खोलामाथि बनेको एउटा प्राचीन झोलुङ्गे पुल छ । जुन पुल सम्वत् १९७० सालमा जुद्ध सम्सेरको पालामा बनेको सोही पुल नजिकै राखिएको शिलालेखबाट थाहा हुन आउँछ ।

गणेश टाेलमा रहेकाे पुल सम्बन्धि शिलालेख

इतिहास सम्बन्धी जानकारी राख्ने युवराज कंडेलले उक्त दोभानको पुल सम्भवत पश्चिम क्षेत्रमा पर्ने जाजरकोटपछिको पहिलो पुल हुन सक्छ । चन्द्र सम्सेरको ससुराली जाजरकोट रहेको हुँदा उनले पहिलो पटक त्यहाँ पुल बनाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

करीव डेढ सय रोपनी जग्गामा फैलिएको गणेशटोल गाउँमा धान, मकै, गहुँ खेती उब्जनी हुने भएपनि कृषिलाई पहिलो प्राथमिकता राख्न नसक्नु सिंचाईको अभाव हो भन्ने ठहर गर्न सकिन्छ । व्यवसायिक तरकारी खेती, पशुपालनमा समेत गाउँलेहरुका उत्ति ध्यान जान सकेको छैन । गाउँ,अर्धसहरी क्षेत्र जस्तै भएको कारण उत्पादनमुखी कार्यमा कम जोड दिएको पाइन्छ । निर्वाहमुखी कृषि तथा पशुपालनमा आधारित गाउँलेहरु देश विदेश जाने, स्थानीयस्तरमा रोजगारीका बाटाहरु अपनाउँदै आएको देखिन्छ ।

गाउँमा रहेको गणेश मन्दिरमा कार्तिके एकादशीमा भव्य मेला लाग्छ । धार्मिक क्रियाकलापका रुपमा तोरण टाँग्ने, ठूलो नाच नाच्ने र युवाहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना र अखण्ड हरिभजनकीर्तन गर्दै आएका छन् ।

गाउँमा ३० घर, मगर, नेवार, ब्राह्मण लगायतका जातिहरुको बसोबास छ । करीव डेढ सय जनसंख्या रहेको पाइन्छ । पानीको ठीकै सुविधा छ । सञ्चारको सुविधा राम्रो छ । नुवाकोट जाने ग्राभेल बाटो छ । नयाँ पक्की पुलले गाउँलाई नजिक बनाएको छ । पुरानो झोलुङ्गे पुलले पुरानो पहिचान दिएकै छ । युवाहरु रोजगारका लागि स्वदेश तथा विदेश जाने चलन रोकिएको छैन ।

नुवाकोटसम्म पुग्ने पक्की बाटो,गाउँमा उच्च शिक्षाका लागि क्याम्पस, आधुनिक मिटरसहितको पानी, सिंचाईको सुविधा, गाउँको सुरक्षाका लागि दोभान खोलामा तटबन्ध, सुविधा सम्पन्न सामाजिक भवनको आवश्यकता औल्याएका गाउँलेहरुले आफ्ना प्रगतिका लागि आधुनिक कृषि,पशुपालन र प्रविधिमैत्री सीप र जाँगरमा जोड दिनुपर्ने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।