ताजा अपडेट »

कोरोना : सामना गर्दै स्वावलम्बन बन्न आवश्यक

बुधबार, २८ असोज २०७७, १९ : ३०
10 Shares

चीनबाट फैलिएको कोरोना भाइरस कोभिड-१९ विश्वको लागि अभिषाप बन्यो । व्यापार ,व्यवसाय स्कूल कलेज सबै बन्द गरेर हामी घर भित्रै बस्न थालेको पनि सात महिना बढी भयो । हाम्रा कति उद्देश्य थिए,जीवनप्रतिका कति योजनाहरु थिए । एका-एक सबै रोकिए । उद्देश्य र भविष्यका योजना भन्दापनि जीवनरक्षा प्राथमिकतामा परेको छ । समय अनवरत रुपमा बढेपनि हामी भने धेरेै नै पछि परेका छौं । सबैलाई लाग्दो हो, कहिले सबै ठीक होला, पहिले जस्तो सामान्य अवस्था फेरी आउला कि नआउला ? त्यसो त कोरोनाको कहर झनै बढ्दो छ । यो सात महिनाको समयलाई नियाल्दा यस अवधीमा कोरोनाले हामीलाई दिएको पीडा, मानसिक छटपट्टी, बेचैनि भेट्छौ । तर हरेक कुरामा दुई पक्ष हुन्छन् नकरात्मक र सकरात्मक ।

हरेक समस्याका दुई पाटाहरु हुुन्छन् । ती चूनौती र अवसर हुन् । समस्यालाई सहि रुपमा समहाल्न सके हामीले समस्या, चूनौतीबाट पनि अवसर प्राप्त गर्न सक्छांै । कोभिड-१९ ले सबै क्षेत्र र वर्गमा त्रास फैलाई रहेको बेलामा हाम्रो जीवनमा उतार-चडाव आउनू स्वभाविक नै हो । कोभिड-१९ले गरिखाने निम्न वर्ग र माथिल्लो वर्गका मानिसको जीवनमा अझ बढि चूनौती थपिदिएको छ । कैंयौ प्रयासका बाबजूद पनि कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि हालसम्म कुनै खोप र औषधि पत्ता नलाग्न विज्ञान र आविष्कारका क्षेत्रका लागि विडम्बना हो । र, त्यतिनै बढी हानी मानवजातीलाई छ । झनै हाम्रो जस्तो विकासोमुख राष्ट्को लागि गम्भीर चूनौतीका साथै ठूलो क्षतिको जोखिम हो ।

करिब ६ महिनाको लकडाउन पछि हाल अवस्था अल्लि सहज, लकडाउन (सीमा बाहेक) खुल्ला भएपनि मानिसको मनमा रहेको कोराना प्रतिको डर भने साम्य हुन सक्ने अवस्थामा छैन । हाल भौतिक दूरी कायम गर्दै, मास्कको प्रयोग गर्दै, बिस्ताररै अवस्था साम्य बनाउने गरि कोसिस गरेता पनि कोरोना संक्रमण संख्या भने बढ्दो छ । चैतमा एक जनाबाट र फाट्टफुट्ट देखिन थालेकोसंक्रमण असारसम्म विदेशबाट आएकाहरुमा मात्रै देखिएको थियो । त्यसपछि समुदायमा फैलिएको संक्रमण अहिले प्रायःसबै क्षेत्र र वर्गमा समेत पुगेको छ । प्रदेश सांसददेखि संघीय र प्रदशमन्त्रीदेखि केन्द्रीय मन्त्री वा उच्च पदस्थहश्र पनि कोरोना संक्रमित भएका छन् । संक्रमण दर बढ्दो छ । हालसम्म एकलाख बढी संक्रमित भएक छन् भने दैनिक ५ हजारसम्म थपिने गरेका छन् । त्यसैगरी पछिल्लो समय निको हुने दर भने घटेको छ । अहिले देशका अधिकांश स्थानका अस्पताल भरिभराउ हुन थालेका छन् ।

बढ्दो संक्रमण मृत्युदर र स्वास्थ्य समस्याले गर्दा बाहिर जनजीवन सामान्य देखिएपनि मानसिक तनाव बढेको छ । कोभिडको कारण विदेशिएका नागरिकहरु स्वदेश भित्रन क्रम बढेको छ । धेरै परिवारको आय-आर्जनको बाटो बन्द भएको छ । कति प्राइभेट अफिसहरु स्कुलहरु बन्द भएर पनि आम्दानीको श्रोत बन्द भएको छ । यस्तो अवस्थामा मानसिक छटपट्टी बढ्नु स्वभाभिक नै हो । यदि हामीले समस्यामा पनि अवसरलाई औलयाउन थालेउ भने यो अवस्थाबाट राहात पाउन सक्छौं । कोरोनाले सिर्जना गरेको बिभिन्न चूनौती बीच परिवारका सदस्य एकसाथ भएको बेलामा यस समयलाई स्वरोजगार तथा स्वनिर्भर बन्नतर्फ अवसरका रुपमा ग्रहण गर्न सक्छौं ।

जब-जब संसारमा ठूलाठुला घटना भएका छन् त्यसपश्चात परिस्थती बद्लिएको छ । देशहरु विकसित बनेका छन ।ठुला प्राकूतिक प्रकोप र महामारीको सामना गरेर समाज बद्लिएको छ । अर्का अर्थमा औंल्याउनु पर्दा समस्या नै बिकासको पहिलो सिँढी हो । त्यसैले कोरोना भाइरसले सिर्जना गरेको वातावरणले नया ढङ्गबाट सोँच्न, नयाँ यात्रा र नयाँ गन्तब्य खोज्न हामीलाई बाध्यसँगै उन्मुख बनाएको छ ।

हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि कोरोनाले निम्ताएको संकट र चूनौती भविष्यको लागि अवसरको ढोका खोल्ने सुनौलो माध्यम हो । कोभिड-१९ नियन्त्रणको लागि सरकारले केहि योजना बनाई कार्य गरेतापनि, देश र जनताको पक्षमा अभिभावकत्व पूर्ण रुपमा निर्वाह नगरेकै हो । जब हाम्रो देशमा संक्रमितको संख्या बढ्दै गयो परीक्षण र लापरबाही बढेको हो । बढ्दो संक्रमितको संख्यासंगै बिरामीको जाँचमा भने ढिलासस्ती यथावत नै छ । जुन निकट भबिष्यमा आउन सक्ने ठूलो विपद्को पूर्व संकेत हो । सरकार कोरोना बिषय उपज रहेर कुनैपनि महत्वपूर्ण बिषयमा रहेर छलफलमा जुटेको देखिदैन ।

कोरोना अवधिको समयभरमा नेपालको अर्थतन्त्रले ठूलो मात्रामा घाटा बेहोर्नु परेको देखिन्छ । जसको क्षतिपूर्तिको लागि वर्षौ लाग्ने निश्चित छ । लकडाउनको कारण धेरै समयसम्म उधोगधन्दा , व्यापार, व्यवसाय, यातायात, पर्यटनहरु जस्ता क्षेत्रहरु ठप्प भए । । रोजी-रोटीको लागी तेस्रो मुलुक पुगेका ४० लाख भन्दाबढि नेपाली, स्वदेश फर्किने क्रममा छन् भने कति विदेशमै अलपत्र अवस्थामा छन । खाडीमुलुक मलेसिया, कुवेत जस्ता देशम गएका नेपाली कामदारलाई कामबाट निकाली अलपत्र पारिएका खबरहरु पनि दिन प्रतिदिन हामीले सुन्ने गर्दछौ । विदेशिएका नेपालीले पठाएको रेमिट्यान्स (विप्रेषण)नै नेपालको अर्थतन्त्रमा पिल्लर साबित भएको थियो । तर, आज तिनै नेपालीले खाडी मुलुकमा दुःख पाएका छन् । सरकारले त्यस्ता नेपालीके उचित संरक्षण र व्यवस्थापन गर्न सकेको छैन । विदेशी भूमिमै ज्यान गुमाउन बाध्य भएका युवाको शव समेत नेपाल ल्याउनको लागि पनि सरकारको अक्षमता देखिएको छ ।

एउटी आमाले आफ्नो छोरालाई अन्तिम पटक देख्न नपाएको, एक श्रीमतीले आफ्नो लोग्नेलाई अन्तिम पटक भेट्न नपाएको धेरै घरको पीडा हो यो । हो यस्तै-यस्तै समस्या र दुःखलाई बुझ्दै बुझाउदै, समाधानको बाटो पहिलाउने अवसर हामी माझमा आएको छ । विदेशबाट फर्किएका, स्वदेशमै केही गर्न चाहाने युवाको लागि, कृषि, पशुपालन, सानो उधोग, मझौला उधोग, व्यापार व्यवसाय अन्य क्षेत्रमा रोजगारीको अवसर खोज्न सकिन्छ । कोरोनाको कारण क्रमशः विदेशबाट नेपाल फर्किनेको संख्या बढ्दो क्रममा छ । यसरी बिदेशबाट फर्किएका युवाहरुको ज्ञान सिप, जोस र जागरलाई स्वदेशमै लगानी गर्न सक्छौ ।

कृषि:
हाम्रो देश कृषि प्रधान देश हो । यहाँ कृषिमा धेरै नै अवसर छ । कोरोनाले अर्थतन्त्रको अन्य पक्ष कमजोर बनाएको सन्दर्भमा कृषिमा आत्मनिर्भर बन्न सकिने कुरालाई हामीले नकार्न सक्दैनौ । हाम्रो देश कृषि प्रधान देश भएता पनि, पुरानो कृषि प्रणाली र देशको जल्दो-बल्दो युवाको विदेश पलायनले हाम्रो देशमा हरेक कुरा आयात गर्नु परेको अवस्था छ ।

आधुनिक कृषि प्रणालीमा जोड दिँदै, कृषिलाई व्यवसायिक र प्रविधिगत गर्ने हो भने कृषि हाम्रो लागि उपार्जनको अवसर पक्कै बन्ने छ । हाल सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति नियम तर्जुमा गरेको अवस्थामा कृषिमा भविष्य पाउन सक्छौ ।

उद्योगः
कृषिमा सृद्दिढिकरण आउनुनै उद्योग धन्दाहरुको आधार सिर्जना हुनु हो । विदेशमा काम गरिरहेका युवा शक्तिलाई स्वदेशमै उद्योग सञ्चालन गरि रोजगारी दिन सकिन्छ । साना तथा मझौला उधोग सञ्चालन गरि जनशक्तिको आधारमा रोजगारी सिर्जना गर्न सकिन्छ । यसको लागि सरकारले पनि सहुलियत दरमा क्रण उपलब्ध गराउनु पर्छ । पर्यटन, निर्माण, पूर्वाधार र अन्य क्षेत्रमा रोजगारी सिर्जना गरेर नयाँ अवसर पहिल्यानु पर्छ ।

हरेक समस्याका दुई पाटा हुन्छ । हामीमा अटोठ हुनेहो भने चुनौतिलाई अवसरमा बदल्न सकिन्छ ।देशका माथिल्लो दर्जाका मानिसहरु देखि लिएर आम नागरीक पनि दुरदर्शी बन्न जरुरी छ । स्वास्थकर्मीदेखि लिएर साधारण नागरिकले पनि कोभिड-१९ नियन्त्रणको लागि आफ्नो ठाउँबाटै पहल गर्नू पर्छ । कोरोन ले दिएको त्रास र चूनौतीको सामना गर्नको लागी समय सापेक्ष नीति नियम तर्जुमा गर्दै दिर्घकालिन विकासमा ध्यान दिने हो भने पक्कै पनि कोना अवसर बन्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।