ताजा अपडेट »

आजदेखि खाली सिलिण्डरको मूल्य लागू

बुधबार, २८ असोज २०७७, १७ : २७
4 Shares

नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु दुई हजार एक सय आजबाट लागू भएको छ ।

यसअघि सङ्घले ग्यास बिक्रेताले फरक÷फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ ।

सङ्घले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर)मार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।

सङ्घले तोकेको नयाँ मूल्य अुनसार रु एक सय बिक्रेताका लागि छुट्याइएको जनाएको छ । सङ्घले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने जनाएको छ ।

उद्योग तथा बिक्रेता अुनसार खाली सिलिण्डरको मूल्य रु तीन हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिण्डरको मूल्य रु दुई हजार एक सय लागू भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।