ताजा अपडेट »

'इतिहास बिन्तीपत्र चढाएर पाइएको होइन'

मंगलबार, ०१ माघ २०७५, १२ : ५९
2 Shares

माघ १,

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो हक अधिकारका लागि उत्पीडित वर्ग आफै जागरुक हुनुपर्ने बताएका छन् । मंगलबार लिःल (घले) ल्होसारको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रचण्डले इतिहास संघर्षको उपज भएको बताए । ‘इतिहास बिन्तीपत्र चढाएर मात्र पाइएको छैन’, उनले भने, ‘त्यसका निम्ति जो उत्पीडिन, विभेद अन्यायमा परेका छन् उनीहरु आफै जागरुक हुन र अगाडि बढ्न जरुरी छ ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको हक अधिकारलाई सुनिश्चित गर्नका लागि संविधान बाधक नबनेको भन्दै संविधान संशोधन र परिमार्जन गरेर हक अधिकारको सुनिश्चित गर्न सकिने दावी गरे ।

उनले भने, ‘यो संविधानको एउटा विशेषता के छ भने यसले कुनै पनि कुरालाई देशको सार्वभौम सत्ता, भौगोलिक अण्खडताका र हाम्रो राष्ट्रिय स्वतन्त्रता बाहेक अन्य कुनै पनि विषयलाई रोकेको छैन ।’

अध्यक्ष प्रचण्डले घलेलाई थरका रुपमा लिएर एउटा ठूलो समूदायलाई संकुचन गर्न खोजिएको बताए । ‘यहाँ गुरुङ घले, मगर घले, तामाङ घले हुँदा–हुँदा बाहुन क्षत्री पनि घले भनेर जता पनि लगेर जोडिदिन मिल्ने भएर घलेलाई जातिको रुपमा नभई एउटा थरको रुपमा संकुचित गर्ने परम्परा छ’, उनले भने । उनले आदिवासी जनजातिको सूचीकृत गर्दा घले समूदायमाथि अन्याय भएको भन्दै त्यसमाथि पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘तपाईंहरुका कुरा सुन्दा र अध्यक्षज्यूले जुन ज्ञापनपत्र बुझाउनुभएको छ त्यो हेर्दा साच्चै नै आदिवासीको जनजातिको अनुसूचीमा सूचीकृत गर्दा तपाईहरुमाथि अन्याय भएकै रहेछ भन्ने मलाई महसुस भएको छ’, उनले भने, ‘त्यसकारण यो ज्ञापनपत्रको आधारमा पार्टी, सरकार र संसदमा यो मुद्दालाई पुर्नविचार गरेर सूचीकरण गर्ने प्रक्रियालाई अगाडि बढाउन तपाईहरुको साथमा हुनेछु ।’

अध्यक्ष प्रचण्डले कसैलाई विभेदमा पारेर राष्ट्रिय एकता बलियो हुन नसक्ने भन्दै सबै जातिजाति, भाषाभाषी, क्षेत्र, वर्ग र समुदायको हक अधिकारलाई सुनिश्चित गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।