ताजा अपडेट »

गुल्मी दरबार गाउँपालिकामा ५९ वटा पसलहरु कारवाहीमा परे

बुधबार, २८ असोज २०७७, ०९ : २८
6 Shares

गुल्मी । गुल्मीदरबार गाउँपालिकामा ५९ वटा पसलहरु कारबाहीमा परेका छन् । गाउँपालिकाले बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटललगायतको अनुगमन गरेको छ । अनुगमनको क्रममा म्याद गुज्रेका सामग्री विक्री वितरणको लागि राखिएका ५९ वटा पसलहरुबाट सामग्री जफत गरी जरीवाना रकम असुल गरिएको हो । प्रथम पटकको लागि ५ सय जरिवाना रकम लिइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

चाडपर्वमा हुनसक्ने कालो बजारी तथा म्याद गुज्रेका सामाग्री बितरणमा रोक लगाउने उद्देश्यले गाउँपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउँपलिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरेका थिए ।

बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २ सय २१ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ, म्याद गुर्जेका पेन्टहरु, टुथ पेस्टहरू, विद्यालयको १ सय मिटरको क्षेत्र भित्रका पसलहरुबाट चुरोट तथा सूर्तिजन्य सामग्रीहरू भेटिएकाले अनुगमन टोलीले जफत गरेको पाण्डेयले बताए ।

करिब २ लाख बराबरको म्याद गुज्रेका सामग्रीहरु जफत गरिएको छ । ती सबैलाई सरोकारवालाहरु सबैको रोहवरमा नष्ट गरिने गाउँपालिकाले जनाएको छ । पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई सात दिन भित्र व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको छ ।

दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई असोज महिनासम्म दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ । अनुगमनको क्रममा बाँकी रहेका र बन्द भएका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको पनि जुनसुकै समयमा अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।