ताजा अपडेट »

बुटवलमा आइसियू बेडको अभाव, २ दिनदेखि आइसियूको प्रतिक्षामा रहेका संक्रमितको मृत्यु

बुधबार, २८ असोज २०७७, ०८ : ३७
6 Shares

बुटवल । बुटवलमा दुई दिनदेखि आइसियू बेडको प्रतिक्षामा रहेका एक संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका ७७ वर्षिय एक वृद्ध २ दिनदेखि आइसियू बेड कुर्दै गर्दा गएराती मृत्यु भएको बुटवलमा अवस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका सुनवल-४ नवलपरासीका ती वृद्धलाई सोही दिनदेखि नै आइसियूमा राख्नु पर्ने भएपनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो । बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोराना विशेष अस्पतालमा आइसियू बेड खालि भएपछि विरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ । मुटुका रोगी तथा रगतको कमी भएका वृद्धको राती करिब २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डा. थापाले बताए ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियू बेडको अभाव देखिएको छ । कोरोना विशष अस्पतालमा रहेका १६ वटा आइसियू बेड खाली छैनन् भने अन्य साधारण बेडमा २५ जना विरामी रहेका अस्पतालले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।