ताजा अपडेट »

राजपत्रमा ‘राप्ती उपत्यकाको (देउखुरी)’, भालुवाङमै झुक्किए मान्यहरु

विहीबार, २२ असोज २०७७, १० : २९
4 Shares

बुटवल । लुम्बिनी प्रदेशको राजधानीको केन्द्र तोक्ने विषयमा मुख्यमन्त्रीको चलाखी राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै मान्यहरुले थाहा पाएका छन् । प्रदेशको केन्द्र तोक्नका लागि गरिएको प्रस्तावको अध्ययन नगरी भाषणमा भुलेका मान्यहरुले केन्द्रको नाम राप्ति उपत्यका ‘देउखुरी’ उल्लेख गरी राजपत्र प्रकासित हुँदा बल्ल झस्किएका छन् । प्रदेशसभामा राजधानी बारे छलफल हुँदा दाङको भालुवाङलाई केन्द्रमा राखी स्थायी राजधानी तोकिने भने पनि प्रस्तावमा भालुवाङ शब्दनै थिएन ।

प्रदेशसभाका मान्यहरुनै अलमलमा पर्ने गरी ल्याइएको प्रस्तावमा भएको त्रुटी राजपत्रमा जारी गरिएको सुचनापछि मात्रै चाल पाएको एक सदस्यले बताए । प्रदेश सभाको गत मंगलबार बसेको बैठकमा दाङको भालुवाङलाई केन्द्रमा राखेर दाङको राप्ती गाउँपालिका पुरै र गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ भनिए पनि लिखित प्रस्तावमा भने भालुवाङ शब्द नै थिएन । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा दिएको मन्तव्यमा समेत भालुवाङलाई केन्द्रमा राख्ने र शितगंगा, राप्ती र गढवाका वडाहरुलाई केन्द्रित गरि राजधानीको प्रस्ताव गरिएको बताएका थिए ।

तर प्रस्तावमा भने ‘दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको, चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी कायम गरियोस् ।’-भन्ने उल्लेख गरिएको थियो ।

राजधानीको केन्द्र राजपत्रमा प्रकाशित हुँदा सबै विवरण हटाएर राप्ती उपत्यका (देउखुरी) मात्रै स्थायी राजधानी भनेर उल्लेख भएको छ । प्रदेश सभा सचिवालयले भने प्रदेश सभामा लिखित रुपमा आएको प्रस्ताव र भएको निर्णय अनुसार नै राजपत्र प्रकाशित भएको जनाएको छ । लिखित कागजात अनुसार राजपत्र निकाल्नुपर्ने हुनाले त्यसो गरिएको सचिवालयको भनाई छ । ‘राप्ती उपत्यका देउखुरी’ भनेको दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका बुझिने सचिवालयएको भनाइ छ ।

भालुवाङलाई केन्द्र विन्दुमा राख्ने भनिएपनि भालुवाङ शब्द कहि कतै नभेटिएपछि यसबाट चलखेल गर्न सजिलो हुने प्रदेशसभाका एक सदस्यले बताए । राजधानी बिषयको राजपत्रमा राजधानीको केन्द्र राप्ती उपत्यका देउखुरी मात्रै भनिएपछि अर्घाखाँची तथा कपिलवस्तुका मान्यहरु पनि झस्किएका छन् । राप्ती उपत्यका भनेर लमहीसम्म बुझिन्छ भने देउखुरीको अर्थ घोराहीलाई पनि अर्थ्याइने गरिएको छ । यसले पनि थप आशंका थपिदिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।