ताजा अपडेट »

जुम्लाका किसानलाई मार्सी धान भित्र्याउन चटारो

आइतबार, १८ असोज २०७७, १७ : २८
4 Shares

जुम्ला । जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ । यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ ।  धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताए।

यहाँका किसानले लगाएकोे प्राय : सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको किसान बताउँछन् । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन्  । यतिखेर पाक्न थालेको मार्सी धान असोजमै काट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिए।

जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पु¥याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् ।

करिब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुन्छ ।

खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यहाँका किसान बताउँछन् । यो चामलको माग शहरबाट बर्सेनि बढेर आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।