ताजा अपडेट »

बुटवलमा सुरक्षा चूनौती : सडकदेखि सदनसम्म सुरक्षाकर्मी

शनिबार, १७ असोज २०७७, १७ : ३७
18 Shares

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ्ग प्रस्ताव पेश भएपछि प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा असन्तुष्टिसँगै सुरक्षा चूनौती पनि थपिएको छ । शुक्रबार प्रदेश सभाको छैठौं अधिवेशनको २९ औं बैठकमा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश सभामुख पूर्ण बहादुर घर्तिमगर समक्ष सो प्रस्ताव पेश गरेको थिए ।

प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ्गको भालुवाङ्ग प्रस्ताव गरेपछि राजधानीको विषयलाई लिएर बुटवलमा सोही दिननै कांग्रेस भातृ संगठन नेविसंघले आन्दोलन गर्दै टायर बालेर विरोध गरेको थियो । त्यस्ते आन्दोलित समूहले केहि सरकारी गाडीमा आक्रमण गरी तोडफोड गरेका थिए । सम्भवतः अस्थायी राजधानीनै स्थायी बन्ने क्रम र निश्चित प्रायः भएको अवस्थामा नयाँ स्थानको नाम पेश भएपछि बुटवल लगाएत यस क्षेत्रका जनताहरु असन्तुष्टि मात्रै होइन आक्रोशित नै भएका छन् । सो विषयमा महसुस गर्दै रुपन्देहीका सांसद्हरुले आफू असुक्षित भएको भन्दै घरको बीमा गर्न समेत आग्रह गरेका छन् ।

उता प्रतिपक्ष दल नेपाली कांग्रेसले शनिबार साँझ राँके जुलुस गर्दै आइतबार रुपन्देही बन्दको घोषणा गरेको छ । यससँगै प्रदेशको अस्थायी राजधानी बुटवलमा सुरक्षा चूनौती थएिको छ । र,चूनौतीसँगै सडकदेखि सदनसम्म सुरक्षाकर्मी परिचालित पनि भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविन पोखरेलले प्रदेश सरकारले राजधानी सार्ने प्रस्ताव गरेसँगै हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए ।

सम्भावित घटना हुन नदिनका लागि आवश्यकता अनुसार प्रदेश प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको उनले बताए । ‘कुनै अप्रिय घटना हुन नदिनका लागि आज शनिबार पनि बुटवलका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ उनले भने । ‘आवश्यकता परेको खण्डमा प्रदेश ५ प्रहरी कार्यालयबाट आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन हुन्छ, सुरक्षाकर्मी तयारी अवस्थामा छन् ।’ उनले थपे । शनिबारनै बुटवलमा तीनसय बढी सुरक्षाकर्मी सडकदेखि सदनमा खटिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

विशेषगरी राजमार्ग चौराहा, आन्तरिक तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय , प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, ट्राफिकचोक, जेसीजचोक, प्रदेश प्रमुख निवास लगाएतका स्थानमा सुरक्षाकर्मी परिचालित छन् ।

हेर्नुहोस् तस्वीरमा :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।