ताजा अपडेट »

चाडपर्वसँगै अब गाउँघर सङ्क्रमणको जोखिममा

शनिबार, १७ असोज २०७७, १६ : ००
2 Shares

काठमाडौँ । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।

अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र ती मानिस दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जाने भएकाले गाउँघरतिर सङ्क्रमण फैलिने खतरा रहेको छ । बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसको चहलपहल बढेपछि सङ्क्रमित सङ्ख्या पनि ह्वात्तै बढेको छ । अब तीनै मानिस गाउँघरमा जाँदा सङ्क्रमण फैलिने डर रहेको छ । चाडपर्व नजिकिँदै गर्दा मानिस अब गाउँघरतिर जान थालेका छन् । विद्यालय, कलेज बन्द भएका बेला कतिपय विद्यार्थी घर गइसकेका छन् भने अब केही जाने तयारीमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

कोभिड–१९ का फोकल पर्सन महेन्द्र श्रेष्ठले चाडपर्वसँगै जोखिम गाउँतिर बढ्ने बताए । उनले उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए त्यहाँ रहेका वृद्धावृद्धा, साना बालबालिका, दीर्घरोगी, सुत्केरीलगायतमा जोखिम बढ्ने बताए । यही कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दशैँ शुरु हुँदैछ । त्यसलगत्तै तिहार र छठपर्व शुरु हुँदैछ ।

नेपालमा अहिले सङ्क्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा सङ्क्रमण सरेपछि सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तैपनि अहिले केही जिल्लामा वर्ग विशेष (क्लस्टर)मा सङ्क्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ । “यसपटक चाडपर्व हामी जहाँ छौँ, त्यही बसेर मनाए हुन्छ । हामी चाडपर्वमा घर गयौँ भने घरमा रहेका बुढा आमाबुबा, साना बालबालिका र दीर्घरोगीलाई सङ्क्रमणको जोखिम हुन्छ”, श्रेष्ठले भने, “बरु यसपटक टीका नलगाए केही हुँदैन, खोप आएपछि अर्को वर्ष टीका लगाउँदा हुन्छ ।”

हिजो शुक्रबार एकैपटक दुई हजार ७२२ जनामा सङ्क्रमण देखिएको थियो । त्यसमध्ये आधाभन्दा धेरै एक हजार ६३८ काठमाडौँ उपत्यकाका सङ्क्रमित रहेका छन् । हिजोको तथ्याङ्कले पनि अहिले सबैभन्दा बढी सङ्क्रमित शहरी क्षेत्रमा रहेको देखाएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्रै २६ हजार ७४१ जना सङ्क्रमित भइसकेका छन् । नेपालमा अहिले ८२ हजार ४५० सङ्क्रमितमध्ये २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । यस्तै ६० हजार ६९६ जना निको र ५२० जनाको सङ्क्रमणको कारणले निधन भएका छन् । नेपालमा निको हुने दर ७३.६ प्रतिशत रहेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैँ अर्को वर्ष पनि आउने भएकाले भीडभाड नगरी मनाउन अनुरोध गरेका छन् । उनले दशैँका बेला उच्च सङ्क्रमण भएको जोखिम ठाउँबाट गाउँ जाने भएकाले गाउँतिर सङ्क्रमण सर्ने बताए । “दशैँको बेला कोभिड–१९ को उच्च सङ्क्रमणको ठाउँबाट टीका थाप्न गाउँगाउँ जाँदैछौँ । एकपटक सोचौँ कतै हामीले कोरोना त बोकेर गएका छैनौँ”, उनले भने, “ज्येष्ठ नागरिकसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । उनीहरुलाई सङ्क्रमण भएको बेला अस्पतालमा राखेर विशेष उपचार गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्वको बेला घर जाँदा विशेष ख्याल गर्नुपर्दछ ।”

मन्त्रालयका प्रवक्ता डा गौतमले दशैँमा घर गइसकेपछि बूढाबूढीसँग कम्तीमा दुई मिटर टाढा बस्नुपर्ने, अँगालो हाल्ने, हात समाउने काम नगर्न र उनीहरुको नजिक जाँदा जहिले पनि मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले दशैँमा घर जाँदा शहरबजारबाट सङ्क्रमण लिएर जाने भएकाले गाउँ जोखिम हुने बताए । उनले दशैँमा आफूभन्दा मान्यजनसँग टीका थप्दा टाढैबाटै बसेर थाप्नसमेत अनुरोध गरे । उनले बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने बताए ।

महागरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले धेरै मानिस पहिल्यै गइसकेकाले यसपटक कम मानिस चाडपर्वमा जाने बताए । उनले अहिले दैनिक २१ हजार मानिस घर गइरहेको जानकारी दिए । उनले चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको बताए । उनका अनुसार यही असोज १ गतेदेखि अहिलेसम्म तीन लाख १५ हजार मानिस घर गइसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।