ताजा अपडेट »

गाउँको डायरी : पहिरोको पिरलो, घोडेबास गाउँ

शुक्रबार, १६ असोज २०७७, २० : ००
70 Shares

घोडेबास । कस्तो नाम होला गाउँको ? धेरैलाई अनौठो लाग्छ । कुनै समय त्यहाँ घोडाहरु बास बसे होलान् ? घोडा बस्ने ठाउँलाई तबेला भनिन्छ । न तबेलाका कुनै संकेत छन् । न कतै हिडेका घोडाहरु बास बसे होलान् झैं लाग्छ । यो खोजीको विषय हुन सक्छ । समथर भू–भाग,उब्जनी योग्य भूमि,रहर लाग्दो गाउँ हो घोडेबास । चिटिक्क परेको सानो फाँट, हेर्दै मनमोहक छ । घोडेबास गाउँ दोभान खोलाको किनारदेखि अल्केदमारको फेदसम्म फैलिएको छ ।

घोडेबास गाउँमा यही असोजको १० गते राति सवा एकवजे पहिरो गयो । पहिरोमा टीकाराम खरेल, यज्ञ खरेल, कलावती घिमिरे र शेषकान्त पौडेलको घरमा क्षति पुग्यो । यतिबेला गएको पहिरो गाउँकै निम्ति पिरलो बनेकोछ । दीर्घकालीन रुपमा पहिरोको व्यवस्थापन नभएमा गाउँको विनाश हुन सक्ने देखिन्छ ।

दोभान खोला उर्लेको थियो २०३८ सालको असोज १३ गते झैं । असोज ९ गते साँझको सवा सात वजेदेखि दोभान क्षेत्रमा मुसलधारे पानी परिरहेको थियो । नदीको सतह सदाभन्दा माथि पुगिसकेको थियो । गाउँलेहरुले लाइट बालेर खोला हेरिरहेका थिए । खोला किनारमा बस्ने अमरसिंह भण्डारी, महेन्द्र पुनहरु त्रसित थिए ।

दोभानबाट साथीहरुले मलाई एकोहोरो फोन गरिरहेका थिए । अब घोडबास नरहने भयो । गाउँलेहरुलाई सार्नुपर्ने भयो । पछि पहिरो गएको खबर जुना, विष्णु पाण्डेयको फेसबुक वालबाट थाहा पाएँ । स्थानीयहरु प्रदीपको घरतिर दौडिएको कुरा गर्दै थिए । घोडेबासका आदिवासी भनेका खरेल बाजे थिए । उनका सन्तानहरु अहिले अंशबण्डा गरेर गाउँमै बसेका छन् ।

बाग्लुङ्ग,गुल्मीबाट बसाइँ सरेर आएका नागरिकहरु यतै बस्दै आएका छन् । ख्याति कमाएका नरसिंह भण्डारी यही गाउँमा बस्दै आएका छन् । एउटा खुट्टाले मात्र उनले गर्न सक्ने काम हेर्दा जो कोहीले जिभ्रो टोक्छन् । अंशबण्डामा पाएको थोरै जग्गालाई टेकेर आफ्नै पौरखले थप जग्गाजमीन जोडेका छन् । हलो जोत्छन्,अग्ला अग्ला रुख चढ्छन्, खोला तर्छन् , लौरोबिना हिड्छन् । यो उनको विशिष्ट क्षमता हो । यो क्षमताको कदर गर्दै श्रीनगर फिल्मस् प्रोडक्सन प्रालि,बुटवलका मनीष पन्थको छायाँकन तथा निर्देशन र मेरो लेखनमा एउटा वृत्तचित्र निर्माण गरी देशका केही स्थानहरुमा प्रदर्शन गरेका थियौं ।

घाेडेबास गाउँ

धान, मकै, गहुँ, नगदेबालीका रुपमा तरकारी फल्ने घोडेबासका जग्गामा उटुवा खोलाबाट ल्याइएको कुलोबाट सिंचाईको उचित प्रवन्ध भएकै कारण उब्जनी राम्रो हुने गर्छ । केही गाउँलेहरुलाई खान नपुग्ने कुरा छुट्टै भयो । फाँटमा एक सय २० रोपनी जग्गा छन् । तीनजना भूमिहीन छन् । गाउँलेहरुले भैसी, गाई, गोरु र बाख्राहरु पालेका छन् । पशुपालनबाट केही आम्दानी बढाएका छन् । प्रेमसिंह झेंडीले ब्रोइलर कुखुरा पालेर राम्रै आम्दानी गरेका छन् । शिव खरेल गाउँकै चुनिएका अगुवा किसान हुन् । तरकारी खेती गरेर पहिला पहिला मनग्य आम्दानी गर्थे ।

धान उत्पादन

परदेशिएका टीकाराम खरेल गाउँमै फर्किएर खेती किसानीमा ध्यान दिएका छन् । शेरबहादुर थापा गाउँका अगुवा सामाजिक कार्यकर्ता हुन् । उनी सिस्नेरी सामुदायिक वनका संस्थापक अध्यक्ष हुन् । दोभानकै दोस्रो पुरानो सिस्नेरी सामुदायिक वन यहिंका गाउँलेहरुले व्यवस्थापन गरेका छन् ।

गाउँको पारि जमुने र गणेशटोललाई आँखामा सजाएर आफू उन्मुक्त हाँसेको जस्तै लाग्थ्यो तर पहिरोले गाउँकै स्वरुप स्खलन भएको भान हुन्छ अचेल । पहिरोको स्थायी समाधान नभएमा रवीन्द्र र जुनाका घरहरु पहिरोको शिकार हुने छन् । गाउँमा मगर, ब्राह्मण र दलित जातिको बसोबास छ । गाउँमा जम्मा ३० घरहरु छन् । जनसंख्या बढीम दुई सय छ ।

स्थानीय वन उपभाेक्ताहरुले गरेकाे वृक्षराेपण

गाउँकै नजिकबाट नुवाकोट जाने पुल बनेको छ । दोभान खोलाबाट गाउँलाई जोगाउन तटवन्ध गरिएको छ । तैपनि दोभान खोलाले घरिघरि निहुँ खोज्छ र गाउँतिर उक्लिन्छ ।

घोडेबासमा घरघरमा धारा पुग्यो । विजुली बलेकै छ । नजिकै दोभान मावि छ । गाउँमै एउटा चर्च छ । गाउँमा धार्मिक सहिष्णुता देखिन्छ । जातीय एकता छ । गाउँ सानो भएपनि फराकिला मनका मानिसहरु भेटिन्छन् ।

ताेरी खेती

तिनाउ गाउँपालिकाको मुख्य कार्यालयबाट नजिकै रहेको घोडेबास बीचबाट खुर्साने,कचल जाने ग्राभेल बाटो बनेको छ । सोही गाउँको बाटो उकालिएपछि मितेरी गाउँ पुगिन्छ । सुगम गाउँ हो घोडेबास ।

घोडेबास फाँटको जग्गालाई एकीकृत गरी कृषि पकेट क्षेत्रमा रुपान्तरण गर्दै आधुनिक तरिकाले सामुहिक कृषि प्रणालीमा ध्यान दिन सकिने हो भने गाउँका किसानहरुले रोजगारीका लागि कहिंकतै जानुपर्ने छैन । गाउँमै किसानहरुले मनग्य आम्दानी गर्ने छन् । स्वरोजगारीको अवस्था सिर्जना हुने छ । गाउँमै हरिया नोट फल्ने छन् ।

गाउँलेहरुले उत्पादन गरेकाे आर्गेनिक तरकारी
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।