ताजा अपडेट »

बुटवल बसपार्क सुनसान : यातायात सञ्चालनमा आए, यात्रु आएनन्

आइतबार, ११ असोज २०७७, १९ : ३०
12 Shares

बुटवल । विश्वव्यापी कोरोना महामारी तथा लकडाउनका कारण ६ महिनापछि यातायात सञ्चालनमा आएपनि यात्रु नपाएपछि व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोना महामारी बीच सरकारले गत असोज १ गतेदेखि यातायात सञ्चालन गर्न अनुमति दिएपनि प्रदेश ५ को अस्थायी राजधानी समेत रहेको बुटवल बसपार्कमा यात्रुको चहलपहल खासै देखिएको छैन ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अनुसार अहिले दैनिक दर्जनौं बसहरु राजधानी तथा अन्य जिल्लाका लागि छुट्ने गरेका छन् । प्रालिका अध्यक्ष दधिराम खरेलले भने, ‘बस त सञ्चालन हुन्छन्, त्यो पनि आधा यात्रु बोकेर ।’ रुपन्देही भित्रै पनि छोटा दुरीमा चल्ने बस, माइक्रोहरुमा पनि यात्रु छैनन् । ‘लामो समय यत्तिकै थन्किएर खिया लागेका मोटर अझ बढी नबिग्रियोस् भनेर औपचारिकताका लागि मात्र चलाएजस्तै भएको छ ।’ उनी भन्छन्, ‘गाडी कुदेका छन तर चढ्ने यात्रु नै छैनन् ।’

खरेलका अनुसार अत्यावश्यक काम भएका केही यात्रु मात्रै चढ्ने गरेका छन् । मानिसहरू कोरोना त्रासका कारण पनि सार्वजनिक यातायात चढ्न हिच्किचाइरहेको उनको बुझाई छ । प्रालिको बस काउण्टरमा कार्यरत एक कर्मचारी नरबहादुर रजालीले अहिले राजधानीका लागि १८ वटा मात्रै बस छुट्ने गरेको बताए । उनले यात्रुको संख्या एकदमै न्यून भएकोले व्यवसायीहरु यात्रु बिना खाली गाडी चलाउन बाध्य भएको बताउँछन् । ‘चाडपर्व नजिकिँदै छ, गत वर्षहरुमा यतिबेला काउण्टरमा यात्रुको चापले सास फेर्न गाह्रो हुन्थ्यो ।’ उनले थपे, ‘त्यसमाथि झन यात्रुले टिकट बुकिङ गरिदिन भन्दै गर्ने फोेन उठाउने समय मिल्दैनथ्यो, अहिले त्यस्तो केही छैन् ।’

अर्घाखाँचीबाट बुटवलसम्म चल्ने बसका मालीक फर्सुराम बेल्बासेले यात्रुहरुको संख्या न्यून हुदाँ गाडी चलाउने कि राख्ने भन्नेमा दोधार भएको बताउँछन् । उनी भन्छन्, ‘गाडी चलायो यात्रु हुदैँनन्, नचलाई राख्यो झनै ईन्जिन खराब हुने हो कि भन्ने डर ।’ यात्रु संख्या न्यून त्यसैमा पनि आधा सिट मात्रै यात्रु बोक्नुपर्ने भएकाले आर्थिक नोक्सानी पनि भएको उनको गुनासो छ ।

यस्तै रुपन्देही जिल्लाभित्रै चल्ने बसहरुमा पनि यात्रुको संख्या न्यून रहेको व्यवसायीहरु बताउँछन् । लुम्बिनी मेट्रो सिटी प्रालिका सञ्चालक प्रकाश पूनले गाडी सञ्चालन भएपनि यात्रु नहुँदा नोक्सानी व्यहोर्नु परेको गुनासो गरे । उनी भन्छन्, ‘यात्रु कुरेर बस्छौं, छिटपुटबाहेक आउँदैनन् ।’ संक्रमणको अवस्थालाई मध्यनजर गरि लामो समय ग्यारेज र पार्किङ्गमै थन्किएपछि जिर्ण बनेका सवारी साधन मर्मत तथा सञ्चालन गर्दा यातायात व्यवसायलाई पुरानै अवस्थामा ल्याउन लामो समय र निरन्तर मिहिनेत गर्नुपर्ने अवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।