ताजा अपडेट »

तिलोत्तमा लगानी सम्मेलनको एक वर्ष, कोभिडका बीच सकारात्मक प्रयास

आइतबार, ११ असोज २०७७, २० : ००
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न क्षेत्रमा १६ अर्ब बढी लगानी प्रतिबद्धता प्राप्त गरेको एक वर्ष वितेको छ । नगरपालिकाले गत वर्ष भाद्र ९ गते आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न २२ क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै निजी तथा सहकारी क्षेत्रहरुले प्रारम्भीक सम्झौता समेत गरेका छन् ।

कृषि, पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित क्षेत्रहरुमा भएका प्रतिवद्धता अनुसार ९० प्रतिशतबढी सम्झौताहरुमा काम भइरहेको तिलोत्तमाका मेयर बासुदेव घिमिरेले बताए । कोडिभ-१९ को प्रभावका बीच पनि प्रतिवद्धता अनुसार नगरका विभिन्न ठाउँहरुमा काम भइरहेको उनले बताएका छन् ।

यस क्षेत्रका अर्थविद रामप्रसाद खरेलले भने लगानी सम्मेलन लाभदायक भए पनि प्रतिवद्धता अनुसार २५ प्रतिशत पनि काम नभएको बताए । सम्मेलनले लगानीकर्ताका लागि उपयुक्त छ भन्ने सन्देशका साथै तिलोत्तमालाई राष्ट्रिय स्तरमा परिचित गराउनका लागि पनि सहयोग गरेको उनले बताए । यसैगरी अर्का अर्थविद बैकुण्ठ पाण्डेले कोभिडका कारण पनि केही जटिलता पैदा भएको बताउँदै सम्मेलनको ५ वर्ष भित्रै कार्यान्वयको तहमा सकारात्मक प्रतिफल पाउन सकेमा सम्मेलनलाई सफल मान्न सकिने बताए ।

लगानीका सम्भावनाहरु देखाउने, लगानी कर्ताको प्रतिक्रिया प्राप्त गर्ने तथा कार्यान्वयनको तहमा जाने ३ चरणमा हेर्दा दोस्रो चरणमा प्रवेश गर्नुलाई पनि सफलता मान्न सकिने उनले बताए । यस्तै तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीले लगानी सम्मेलनले उत्साह पैदा गरेपनि कोभिड-१९ का कारण कार्यन्वयनमा जान समस्या भएको उल्लेख गरे । ‘लगानीकर्ताहरुमा एक प्रकारको उत्साह पैदा भएको थियो । तर, कोभिडको प्रभावसँगै उनीहरु निराश भएका छन् ।’

लगानी सम्मेलनपछि भएका प्रयास

तिलोत्तमामा लगानी सम्मेलनपछि सकारत्मक प्रयासहरु जारी रहेको नगरपालिकाको दाबी छ । लगानी सम्मेलनमा भएको प्रतिवद्धता अनुसार वडा नम्बर ६ पश्चिम पौनेमा ६० करोड लगानीमा दुग्ध शंकलन तथा प्रशोधन केन्द्र बन्ने भएको छ । प्रदेश ५ का विभिन्न ६० वटा सहकारी संस्थाको संयुक्त लगानीमा प्रशोधन केन्द्र बन्न लागेको नगर प्रमुख घिमिरेले बताए । वार्षिक ५० लाख लिटर दुध प्रदेश बाहिर निर्यात गर्दा कृषकले मूल्य नपाउने समस्यालाई प्रशोधन केन्द्र स्थापनपछि समाधान हुने अपेक्षा व्यक्त गरे । उत्पादीत दुध प्रदेश भित्रै अधिकतम खपन गरी दुग्धजन्य पदार्थ उत्पादनमा टेवा पुग्ने गरी उद्योग सञ्चालनमा ल्याउन लागिएको उनले बताए । प्रशोधन केन्द्र स्थापनका लागि डिपिआरको काम भइरहेको छ । सहकारी संस्थाहरुले सुरुवातमा ३ करोड रकम जम्मा गरी काम सञ्चालन गरीरहेका छन् ।

लगानी सम्मेलनमा भएको अर्को महत्वकांक्षी योजनाका रुपमा रहेको कृषि उपज तथा थोक संकलन केन्द्र निर्माणको कामले पनि गती लिएको छ । तिलोत्तमा–१७ गँगोलीयामामा बन्ने संकलन केन्द्रका लागि तिलोत्तमाका २५ वटा सहकारी संस्थाहरुले लगानी गर्ने भएका छन् । पिपिपि मोडेल अनुसार ३० करोड लागतमा बन्ने केन्द्रका लागि डिपिआरको काम भइरहेको नगरपालिकाले जनाएको छ । ६ विगाह क्षेत्रफलमा बन्ने संकलन केन्द्रमा ४ हजार मेट्रिक टन क्षमताको कोल्ड स्टोर तथा ३ हजार मेट्रिकटन क्षमताको गोदाम घर बन्ने भएको छ । संकलन केन्द्र मार्फत कृषकका उत्पादनलाई संकलन गरी वितरण गर्नुका साथै नगरपालिकाले विक्रि नभएका कृषकका उत्पादनलाई उचित मूल्यमा खरिद गर्ने व्यवस्था हुने नगर प्रमुख घिमिरेले बताए ।

यसैगरी तिलोत्तमाा नगर परिक्रमा गर्ने गरी पर्यटन प्रवद्र्धनका लागि रेल सञ्चालन गर्न ५ सयजना लगानी कर्ता कगाडी सरेका छन् । तिलोत्तमाको जोगीकुटी, रोहीणी, मेडिकल कलेज, वन बाटीका, टिकुलीगढ, गँगोलिया लगायतका सबै ठाउँलाई छुने गरी ५० किलो मिटर लामो मार्गमा रेल सञ्चालनका लागि प्रक्रिया अगाडी बडेको नगरपालिकाले जनाएको छ । डिपिआर तयार भई ५ अर्ब लगानी अनुमान गरिएको आयोजनाका लागि तिलोत्तमा रेलवे कम्पनी दर्ता भइसकेको नगरप्रमुख बासुदेव घिमिरेले बताए । प्रति घण्टा २० देखि ३० किलोमिटरको गतीमा गुड्ने गरी पर्यटकिय हिसाबले रेल सञ्चालन हुने उनले बताए ।

यसैगरी निजी लगानीमा नेपालकै ठूलो एएसी ब्लग निर्माण कम्पनी सञ्चालनमा आउनेभएको छ । धुँवारहित हुने यो उद्योग सञ्चालनका लागि ७० करोड लागत अनुमान गरिएको छ । तिलोत्तमाको वडा नम्बर ६ मा उद्योग स्थापन हुँदै छ । यस्तै वडा नम्बर १३ र १४ टिकुली गढमा बस पार्क बन्दै छ । संघीय सरकार तथा नगरपालिकाको संयुक्त लगानीमा बन्ने बस पार्कका लागि ५५ करोड लागत अनुमान गरिएको छ । नगरपालिकाले यो वर्ष १ करोड विनियोजन गरेको छ । तिलोत्तमा औद्योगिक क्षेत्र निर्माणका लागि काम अगाडी बढेको छ । वडा नम्बर १० मा बन्ने औद्योगिक क्षेत्रका लागि ५२ करोड लागत अनुमान गरिएको नगरपालिकाले जनाएको छ । यसका लागि संघीय सरकारले ९२ र नगरपालिकाले १ करोड ५८ लाख विनियोजन गरेको छ ।

लगानी सम्मेलनमा भएका प्रतिवद्धता अन्तरगत नगरमा महिला तथा बाल अस्पताल सञ्चालनमा आउने तयारीमा छ । रोटरी क्लब अफ रुपन्देहीको ८० लाख तथा नगरपालिकाको २० लाख लगानीमा अस्पताल निर्माण भएको हो । वडा नम्बर १० सेमरामा निर्माण गरिएको अस्पतालाई सुविधा सम्पन्न हुने गरी १५ सैया क्षमतामा सञ्चालन गरिने नगर प्रमुख घिमिरेले बताए । पिपिपि मोडल अनुसार बन्ने सिटी कलेजका लागि ३ लताको २६ कोठे भवन ढलान भइसकेको छ ।

तिलोत्तमा-१४ पत्थर डाँडामा ४ करोड लगानीमा भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमामा मासु प्रशोधन केन्द्र स्थापनका लागि निजी क्षेत्रबाट काम भइरहेको छ । ८० करोड लागतमा बन्दे प्रशोधन केन्द्रका लागि निजी क्षेत्रबाट ४ विगाह जग्गा खरिद भई काम अगाडी बढेको नगर प्रमुख घिमिरेले बताए । लगानी सम्मेलनमा रिडी हाइड्रोले ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, एक अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न एक अर्ब ५० करोड लगानीको प्रतिबद्धता सहितको सम्झौता भएको थियो ।

सम्मेलनमा भएका सबै प्रतिवद्धतासहितका सम्झौता कार्यानवयमा जानका लागि कतिपय ठाउँमा कानूनी उल्झनहरु देखिएको बताउँदै सुधारको आवश्यकता रहेको नगर प्रमुख घिमिरेले बताएका छन् । यसैगरी प्रदेश सरकारबाट सम्मेलनमा भएका प्रतिबद्धता अनुसार सहयोग प्राप्त हुन नसकेको उनको गुनासो छ ।

https://www.globalaawaj.com/archives/15151
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।