ताजा अपडेट »

'एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए...'

आइतबार, ११ असोज २०७७, १४ : ५३
10 Shares

बलेवा । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको  भीडभाड लाग्थ्यो । धेरै औपचारिक कार्यक्रम हुन्थे, योजना सुनाउने र बनाउने काम  हुन्थे । कोभिड–१९ को त्रासदी हटेको छैन् । प्रविधिको प्रयोगमार्फत् हुने कार्यक्रमबाहेक बागलुङमा कुनै पनि कार्यक्रम भएनन् । 

पर्यटनका हिसाबले भरपुर सम्भावना बोकेको जिल्ला हो बागलुङ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट आशा राखिएको थियो । महामारीले त्यसो हुन सकेन । विश्व पर्यटन दिवसका अवसरमा यहाँका पर्यटनसँग सम्बन्धित कोही कसैले औपचारिक कार्यक्रम गरेनन् । पत्रकारको साझा संस्था पत्रकार महासङ्घले भने प्रविधिकै प्रयोग गरेर भए पनि संसारलाई जोड्ने प्रयास गर्यो । 

महासङ्घको सभाहल । अग्रपङ्क्तिमा बसे प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुख । उनीहरु बाहेक पछिल्लो पङ्क्तिमा केही पत्रकार मात्रै । सामाजिक दूरी कायम गर्दै व्यवस्थापन गरिएको बसाइ । न कुनै औपचारिक भाषण न त आसन ग्रहणको व्यवस्था । पर्यटनमा कोरोना महामारीले पारेको प्रभाव र त्यसबाट उठ्नका लागि आफैले प्रयास गर्नुपर्छ भनेर महासङ्घले एउटै मञ्चमा एउटै व्यक्तिबाट ५० देशका राष्ट्रियगान गुञ्जियो । 

नेपाल चिनाउन विश्व यात्राको अभियान थालेका गायक रामजी नेपालीले ५० देशका राष्ट्रिय गान गाए। त्यहाँ गाइएका सबै गीतको सामाजिक सञ्जाल तथा स्थानीय सञ्चार माध्यममार्फत प्रत्यक्ष प्रसारण भैरहेको थियो । “हामीले नगरे कस्ले गर्छ, पत्रकारले सिर्जनात्मक सन्देश जाने काम पनि गर्नुपर्छ”, महासङ्घका अध्यक्ष दिल शिरीष भन्छन्, “ पर्यटन दिवसमा नयाँ ऊर्जा ल्याउनका लागि गरिएको प्रयास हो ।” 

विभिन्न २५ देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्व यात्रामा निस्किएका  नेपालीले विश्व पर्यटन दिवसका अवसरमा ५० देशका राष्ट्रगान गाए । उनले गाउँदा हर्षित मुद्रामा सबैले प्रशंसा गरे ।नेपालीले ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’ को सन्देशसहित थालेको विश्व यात्रामा साथ दिन र पर्यटनमा ऊर्जा सिर्जना गर्न एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जाईएको महासङ्घका सचिव राम थापा ‘अविरल’ ले बताए ।

“यो अद्भूत क्षमताले हाम्रो पहिचान बनाउँछ, आजको प्रयासले हाम्रो समृद्धिमा सहयोग गर्छ”, बागलुङ नगर प्रमुख जनकराज पौडेलले भने, “प्रयास साना हुन्छन् तर त्यसको प्रभावको हामीले मूल्याङ्कन गर्न सक्नुपर्छ ।” झण्डै छ महिनाको अन्तरमा भएको एउटा उत्साहवद्र्धक औपचारिक कार्यक्रमले जिल्लाको पर्यटन क्षेत्रमा सहयोग गर्ने महासङ्घका पूर्वअध्यक्ष रामबहादुर जिसी बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।