ताजा अपडेट »

दशकदेखि अलपत्र तिलोत्तमा स्थित १० करोडको पुल पुनः चर्चामा

शनिबार, १० असोज २०७७, २० : ००
4 Shares

बुटवल । ‘मृत्युको मुखमा पुगेका एक व्यक्तिको सकुशल उद्धार’, ‘पुलबाट तिनाउ नदीमा खसेका एक व्यक्तिको उद्धार’ लगाएतका शिर्षकमा शुक्रबार विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा खबर प्रचार-प्रसार भए । रुपन्देहीको तिलोत्तमा ६ गोरकट्टामा निर्माण सुरु भएको एक दशकसम्म पनि सम्पन्न हुन नसकेको पुलबाट खस्दा घाइते भएका ती व्यक्ति अहिले भैरहवाको मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । पारिवारीक श्रोतका अनुसार थप उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उनलाई घरमा लगिएको हो ।

१० करोड ३ लाख लागतमा बन्न लागेको तिलोत्तमा-६ र मोतिपुर जोड्ने निर्माणाधिन पुल प्राविधिक समस्याका कारण एक दशकसम्म पनि सम्पन्न हुन सकेको छैन । दश वर्षको अवधिमा ३ वटा पिल्लर र ३५ मिटर लम्बाईका ३ वटा स्ल्याव मात्रै तयार भएका छन् । नक्सा अनुसार पुल निर्माणको काम गर्दा अन्य पिल्लर गाड्ने ठाउँमा ठूला चट्टान भेलिएपछि काम रोकिएको हो । पुल निर्माणका लागि भौगोलिक अध्ययन तथा माटो परीक्षणमा भएको प्राविधिक त्रुटीका कारण अलपत्र परेको छ ।

वि.स. २०६७ असार २५ गते एलिट कन्ट्रक्सन काठमाण्डौं र सडक डिभिजन कार्यालय बुटवल बीच टेन्डर सम्झौता भई साढे दुई वर्षमा पुल निर्माण सक्ने गरी सम्झौता भएपनि अहिलेसम्म अलपत्र परेको छ । १७५ मिटर लामो ६ मिटर चौडाईको दुई लेनको पुल निर्माणका लागि पिल्लर गाड्ने ठाउँमा खोल्न नसकिने गरी ठूला चट्टान भेटिएपछि समस्या भएको हो । नेपाल सरकार पुल विभागले सो पुलको अध्ययन तथा नक्सा तयार गर्नका लागि नर्थ स्टार इन्जिनियरिङलाई परामर्श दाताका रुपमा छनोट गरी जिम्मा दिएको थियो । सो कम्पनीले संरचना निर्माणका लागि माटोको परिक्षण तथा भौगोलिक अवस्थिती अध्ययनमा गल्ती गर्दा पुल निर्माण सुरु भएको १० वर्षसम्म पनि सम्पन्न हुन नसकेको हो ।

३५ मिटर लामो ५ वटा स्ल्याव तथा ६ वटा मिल्लरसहित बन्ने सो पुलका लागि ३ वटा पिल्लर तयार भए पनि अन्य पिल्लर नदीको १० मिटर तल भेटिएको ठूलो चट्टानका कारण निर्माण गर्न नसकिएको निर्माण कम्पनी एलिट कन्ट्रक्सनका इन्जिनियर रमेश पाण्डेले बताए । स्वीकृत नक्सा अनुसार वेल फाउण्डेशन विधिबाट पुल निर्माण गर्नु पर्ने भए पनि नक्सा निर्माण गर्दा नै प्राविधिक त्रुटी देखिएपछि दशक वित्दा पनि पुल अलपत्र छ ।

नयाँ प्रविधि अनुसार यही आर्थिक वर्षमा काम सक्ने गरी नयाँ सम्झौता भएको गौतमले बताएका छन् । पुल निर्माणका लागि नक्सा तयार पार्दा प्राविधि त्रुटी भएको कुरालाई अस्वीकार गर्दै उनले भवितव्य जस्तै पछिमात्र चट्टान फेला परेको बताए । ‘पुल निर्माणका लागि माटो परीक्षण गर्दा कुनै एक ठाउँको मात्रै गरिने हो, ३ वटा पिल्लर गाडिएका ठाउँमा चट्टान नभेलिएर अन्य पिल्लर गाड्ने ठाउँमा चट्टान भेटिनु भवितव्य जस्तै हो ।’-ग्लोबल आवाजसँगको कुराकानीमा उनले भने ।

लामो प्रयासपछि पनि पिल्लर राख्न नसकेपछि सोही ठाउँमा बनिसकेका पुराना संरचनामै नयाँ प्रविधि प्रयोग गर्ने गरी सडक डिभिन कार्यालयले नयाँ नक्सा निर्माण गरी निर्माण कम्पनीलाई जिम्मा लगाएको छ । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर दुर्गा गौतमले २०७७ वैशाखमा नयाँ नक्सा जारी गरी निर्माण कम्पनी एलिट कन्ट्रक्सनलाई काम गर्न निर्देशन जारी गरेको बताए । ‘पहिलेको नक्सा अनुसार संरचना बनाउन नमिल्ने भएपछि पुनः अर्को नक्सा बनाउनका लागि पुल्चोक इन्जिनियरिङ संस्थान काठमाण्डौंलाई जिम्मा दिएका थियौं ।’-गौतमले भने ‘उनिहरुले विकल्पसहित दिएको नयाँ नक्सा महँगो हुने भएपछि सडक डिभिजनले नै नयाँ नक्सा तयार पारेर काम सञ्चालन गर्न भनेका छौं ।’

नयाँ प्रविधि अनुसार यसअघि गाडीएका तर सम्पन्न नभएका पिल्लरको संरचनालाई भत्काएर पुन सोही ठाउँमा ८० सेन्टिमिटर ठूला तथा करीब २० मिटर गहिरो प्वाल पारेर ४ वटा पाइल राखी पिल्लर उठाइने छ । पुरानो वेल फाउण्डेशन र नयाँ पाएल फाउण्डेशन अनुसार बन्ने पुलको काम नदीमा पानीको सतह कम भएपछि मात्रैसुरु हुने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।