ताजा अपडेट »

कबुलियती वनमा सफलताका एक दशक

शनिबार, १० असोज २०७७, १९ : ३०
79 Shares

धार्मिक, ऐतिहासिक र पर्यटकिय सम्पदाको दृष्टिले सम्पन्न पहाडी जिल्ला पाल्पा प्राकृतिक सुन्दरता, वन, वातावरण र जैबिक बिबिधताले पनि समृद्ध जिल्ला हो । यस जिल्लाको कुल क्षेत्रफल १,३६,५९५ हेक्टर मध्ये ७१,१७० हेक्टर अर्थात ५२.१० प्रतिशत भू-भाग वनक्षेत्रले ओगटेको छ । चुरे, महाभारत र नदी तटीय गरि तीन किसिमको भौगोलिक बिबिधतालाई समेटेको पाल्पा जिल्ला वनस्पति र जैविक बिबिधताको भण्डार हो ।

सहभागिता मूलक वन ब्यवस्थापनको अग्रणी यस जिल्लामा आ.व.०७६/७७ सम्म ७०६गोटा सामुदायिक वन उपभोक्ता समूहमार्फत ४१५८३.६ हेक्टर वनक्षेत्र ६१,८३८ घरधुरीबाट ब्यवस्थापन भएको छ भने १२९गोटा कबुलियती वन समूहमार्फत ११६८.२७ हेक्टर वनक्षेत्र ब्यवस्थापनको लागि बिपन्न बर्गका १६३१ घरधुरी उपभोक्ताहरु आवद्ध भएका छन् ।

पाल्पा जिल्लालाई चिनाउने विभिन्न आधारहरु मध्ये पाल्पा जिल्लामा बिपन्न मुखि कबुलियती वनले प्राप्त गरेको सफलतापनि एउटा महत्वपूर्ण आधार बनेको छ । गरिबीको रेखामुनि रहेका बिपन्न वर्गका ग्रामीण समूदायको जिवनस्तर उकास्न र वातावरण संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले ४० वर्षको लागि कबुलियती नाममार्फत कबुलियती वन हस्तान्तरण गर्ने ब्यवस्था रहेको छ ।

वि.सं. २०६६ सालबाट कबुलियती वन तथा पशु विकास कार्यक्रमको प्राविधिक सहयोग परियोजना (TA-LFLP,FAO-Nepal)मार्फत पूर्वी पाल्पा (हालको निस्दी गाउँपालिका) स्थित झिरुवासमा सुरुवात गरिएको कबुलियती वनका र्यक्रम अहिले पूर्वदेखि पश्चिम पाल्पाका विभिन्न स्थानहरु पूर्व खोला गाउँपालिकाको जल्पा, रिब्दीकोट गाउँपालिकाको पालुङ्गमैनादी, माथागढी गाउँपालिकाको झडेवा, तिनाउ गाउँपालिकाको कचल,निस्दी गाउँपालिककै ज्यामिरे र मित्याल क्षेत्रमा समेत सफलतापूर्वक अगाडि बढिरहेको छ ।

पूर्वी पाल्पाको झिरुवास कबुलियती वन समूहमार्फत समूदायमा समृद्धि हासिल गरेको ग्रामिण बस्ती हो । कबुलियती वन तथा पशु विकास कार्यक्रम र जिल्ला वन कार्यालय, पाल्पाको प्राविधिक सहयोगमा २०६६ सालमा खोरिया फडानी र वनमाराले ढाकेको नाङ्गो डाँडालाई कबुलियती वनको माध्यमबाट ब्यवस्थापन गर्ने निर्णय गरियो । सोहि अनुरुपका उलेडाँडा कबुलियती वन अन्तर समूहमा त्यस क्षेत्रका १९ गोटा कबुलियती वन समूहहरु गठन गरी २३१ घरधुरी उपभोक्ताहरुलाई २४७ हेक्टर हैसियत बिग्रिएको वन क्षेत्र हस्तान्तरण गरियो ।

कबुलियती वनमार्फत समुदायको अपनत्व जगाई जनसहभागिता जुटाउनु आफैमा चूनौती त थियो नै, हैसियत बिग्रिएको वनक्षेत्रलाई ब्यवस्थापन गरि छोटो समयमा आम्दानी लिनसक्ने अवस्थामा पु¥याउने काम कम चूनौतीपूर्ण थिएन । वनमाराले ढाकेको यस्तो वनबाट पनि आम्दानी हुनसक्छ भन्ने कुरा गाउँले समुदायको लागि पत्याउन सक्ने आधारै थिएन । झिरुवासबासीहरु गाउँमा जिविकोपार्जनको कुनै माध्यम नदेखेर धमाधम बसाई सर्दै थिए । कोही तराई क्षेत्रलाई गन्तब्य बनाउँदै थिए भने कोही रोजगारी र जिविका चलाउनको लागि गाउँ छोडेर शहरतर्फ लाग्दै थिए । समाजमा निराशा ब्याप्त थियो, त्यही समाजमै बसेर आम्दानी गर्न सकिने कुनै माध्यम देखेका थिएनन् उनीहरुले ।


निस्दी गा.पा. -४ झिरुवासमा कबुलियती वनमा गरिएको व्यवसायिक अम्रिसो खेती

तर,कबुलियती वन कार्यक्रमले गाउँलेहरुको निराशाले चाउरी परेको अनुहारमा हाँसो जगाउन सहयोग गर्यो । कबुलियती वनको जग्गामा अम्रिसो खेती सुरुवात गरियो । रोपण गरेको तीन÷चार वर्षमै आम्दानी दिने अम्रिसो गाउँलेहरुको लागि अमृत बन्यो । नाङ्गो डाँडो हरियालीले भरिँदै गयो । अम्रिसोको फूल कुचोको रुपमा बिक्री हुन थाल्यो भने अम्रिसोको पात अत्यन्त पोषिलो घाँस भएकोले पशुपालनतर्फ अग्रसर हुन सहयोग पुग्न थाल्यो । डाँठ समेत दाउराको रुपमा प्रयोग हुने हुँदा अम्रिसोको कुनै पनि भाग खेर गएन ।

मेहनत र परिश्रम गरेर नथाक्ने झिरुवास बासीहरुलाई कबुलियती वनले आशा जगाउन थालेपछि गाउँबाट बसाईसराई रोकिन थाल्यो । अम्रिसो रोपेको तीनबर्षमै कुचो बिक्रीबाट मनग्य आम्दानी हुनथालेपछि कबुलियती वनमै निर्भर रहेर जीवन गुजारा गर्ने आधार बन्यो गाउँलेहरुको । कबुलियती वनले कमाएको पैसा बचत गर्न सिकायो । कबुलियती वन समूहमा आवद्ध भएकै कारण बिभिन्न सरकारी र गैरसरकारी संघसंस्थाहरुलाई कार्यक्रम सञ्चालन गर्ने माध्यम बन्यो । बोल्नसम्म डराउने ग्रामीण बासिन्दाहरु समुदायमा निर्धक्कसँग आफ्ना कुरा राख्न सक्ने भए ।

तरकारी खेती, बाख्रापालन, भैँसीपालन, कुखुरापालन जस्ता आयआर्जनका क्रियाकलापहरु समेत सञ्चालन गरि एकिकृत रुपमा आयआर्जनको माध्यम बन्यो कबुलियती वन। कबुलियती वनको आम्दानी र समूहमा आवद्ध भई उपभोक्ताहरुले आफ्नै पौरखबाट गरेको आम्दानी जोड्दा प्रत्येक समूहका सदस्यहरुले वार्षिक एकलाखभन्दा बढी आम्दानी गर्न थालेपछि गाउँमा कबुलियती वन जिविकोपार्जनको सहयोगी बन्न सक्ने कुरामा उपभोक्ता सदस्यहरुलाई विश्वास जगायो ।

निस्दी-४, झिरुवासस्थित काउलेडाँडा कबुलियती वनमा गरिएको अम्रिसो खेती

गाउँमा स्वदेश र विदेशका महत्वपूर्ण ब्यक्ति र संस्थाहरुले कबुलियती वनको सफलतामा साथ दिनपुगे जसबाट स्थानीय स्तरमापूर्वाधार निर्माणमा समेत सहयोग पुग्यो । बाटोघाटो, खानेपानी, विद्यालय जस्ता पूर्वाधारहरुको विकास भयो । कबुलियती वनको सहकारी स्थापनागरियो । जसले सदस्यहरुको बचत ब्यवस्थापन र आयमूलक कार्यमा सहयोग पु¥यायो । कबुलियती वन सहकारीले आफ्नै ट्याक्टर समेत सञ्चालन गरेपछि समूह र स्थानीयबासीहरुको उत्पादनलाई बजारीकरणमा समेत सहयोग पु¥यायो । स्थानीय उत्पादनहरुले बजार पाउनथाले । गाउँमापुग्ने पाहुनाहरुलाई कौडा, सोरठी र पञ्चे बाजामार्फत स्थानीय मगर कला र संस्कृति पस्किएर पनि गाउँलेहरुलाई आम्दानी हुनथाल्यो ।

ग्रामिण समुदायको क्षमता विकास, पूर्वाधार विकास, स्थानीय स्तरमै आयआर्जन र रोजगारी समृद्धिको प्रमुख आधार हो । त्यहिआधार कबुलियती वनले तयार गरिदियो झिरुवासमा । बिगत एक दशकदेखि कबुलियती वनको माध्यमबाट जिविकोपार्जनमा निरन्तर सहयोग पुगिरहेको छ । कबुलियती वन ब्यवस्थापनको असल सिकाइलाई आत्मसात गर्न देशैभरबाट उपभोक्ताहरु अध्ययन अवलोकनमा आउन थालेका छन् । त्यति मात्र होइन ईलामको चियाबारी बिर्साउने झिरुवास अहिले पर्या पर्यटनमा समेत अगाडि बढेको छ ।

कबुलियती वन समूहका सदस्यहरुले उत्पादन गरेको अम्रिसोको कुचो

स्थानीय र बाह्य पर्यटकहरु पिकनिक खाने, पर्यावरणमा रमाउने, हिमाल र तराईको एकैसाथ दृश्यावलोकनगर्ने र मनोरञ्जन प्राप्तगर्ने उद्देश्यका साथ झिरुवास पुग्ने गर्दछन् । कबुलियती वनमा प्रवेश गर्दा प्रवेश शुल्कमार्फत पनि वर्षेनी लाखौँ रुपैया आम्दानी हुन्छ भने स्थानीय उत्पादनहरुको बिक्रीबाट समेत स्थानीयबासीहरुले लाभ लिँदै आएका छन् । ब्यवस्थित रुपमा काउलेडाँडामा पर्यटन विकास गतवर्षबाट सुरु गरिएको हो । यसमा निस्दी गाउँपालिका र कबुलियती वन सहकारीले सहयोग पुर्याएका छन् । अझै महत्वपूर्ण सफलता निस्दीगाउँपालिकाले आफ्नो महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा काउलेडाँडाको कबुलियती वन समूहलाई छनौट गरेर पर्यटन विकास कार्यक्रम सञ्चालन गरेको छ ।

यसरी एकदशकमै कबुलियती वनको माध्यमबाट महत्वपूर्ण सफलताहरु प्राप्त गरेको पूर्वी पाल्पाको बिपन्न ग्रामीण समूदाय हो झिरुवास । त्यसैले त काउलेडाँडा कबुलियती वन अन्तर समूहले अन्तरराष्ट्रिय पर्वतीय विकास पुरस्कार प्राप्त गरेको छ भने अन्तर समूहकै मिलिजुली कबुलियती वन समूहले रु. १ लाख राशीको कबुलियती वन राष्ट्रिय पुरस्कारको प्रथम स्थान हासिल गरेको छ । जिल्लास्तरमा समेत बिभिन्न पुरस्कार र सम्मानहरु प्राप्त गरेको झिरुवासका कबुलियतीवन समूहहरुले एक दशकमै यति ठूलो सफलता प्राप्त गर्नु पाल्पा जिल्लामा महत्वपूर्ण उपलब्धी हो ।

त्यस्तै कबुलियती वनको अर्को महत्वपूर्ण सफलताको कथा ज्यामिरेको मलग्रामले रचेको छ । निस्दी गाउँपालिकाको वडा नं. ७ मलग्राममा गाडादी र टोक्लौदी कबुलियती वन समूहले पनि हैसियत बिग्रिएको, खोरिया फडानी गरिएको र वनमाराले ढाकेको १२ हेक्टर कबुलियती वनमा २५ हजार बोट केरा खेती गरेका छन् । छिटो आम्दानी दिने केरा खेतीमार्फत दुबै समूहले बार्षिक ५ लाखभन्दा बढी आम्दानी लिन थालिसकेका छन् । वातावरण संरक्षणमा सहयोग, खेर गइरहेको जमिनको सदुपयोग र स्थानीय स्तरमा लाखौँ आम्दानीको श्रोत बनेको छ, मलग्राममा केराखेती ।

निस्दी गा.पा. -७ स्थित गाडा दी कबुलियती वनमा गरिएको व्यवसायिक केरा खेती

केरा खेतीमार्फत समूदायले गर्दै गरेको समृद्धि हेर्नको लागि जिल्लाभित्र र जिल्ला बाहिरबाट समेत मानिसहरु आउन थालेका छन् । केरा बिक्री गर्न बजारको समस्या छैन । नजिकैको दुम्कीबास र अरुण खोला बजारमा कबुलियती वनको केरा बिक्री हुन्छ । कबुलियतीव नमा केराखेतीको सफलता बाँझो जमिनलाई आम्दानीमा रुपान्तरण गर्न सिकाउने सफलताको कथा बनेको छ । त्यसैले आर्थिक वर्ष ०७५÷७६ मा गाडादी कबुलियती वन समूहले राष्ट्रिय स्तरमै प्रथम स्थान हासिल गरेर एकलाख रुपैयाँ राशीको पुरष्कार सहित कबुलियती वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।

यी सफलताका कथाहरु पाल्पा जिल्लामा कबुलियती वनको सफलताका प्रतिनिधि कथा मात्रहुन् । पूर्वखोला गाउँपालिकाको जल्पाक्षेत्र समेत कबुलियती वन विकासमा अग्रणी मानिन्छ । यस क्षेत्रमा अम्रिसो खेती आम्दानीको श्रोत बनेको छ । पश्चिमपाल्पाको रिब्दीकोट, पालुङ्गमैनादी र ठिमुरे क्षेत्रमा कबुलियती वनमार्फत टिमुर खेती प्रवद्र्धन हुँदैछ भने पूर्व खोलाको अर्चले स्थित लेकडाँडामा टिमुर, अम्रिसो, ओँखर र दालचिनीको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ डिभिजन वनकार्यालय, पाल्पाले कार्यक्रमहरु सञ्चालन गरेको छ ।

पाल्पाका लेकाली भेगका कबुलियती वनमा वितरण गरिएका दाँते ओँखरका बिरुवाहरु

माथगढी गाउँपालिका अन्तरगतका कबुलियती वनहरु समेत निकट भविष्यमा तेजपात खेतीको पकेट क्षेत्र बन्दैछन् । यसरी कबुलियती वन पाल्पा जिल्लामा विपन्न समूदायको आयआर्जन, रोजगारी, वातावरण संरक्षण, पर्यापर्यटन र हरित समृद्धिमा सफलताका कथाहरु सिर्जना गर्दै जिल्लाको वन क्षेत्रको विकास र विपन्न समुदायको जिवनस्तर सुधारमा सारथी बनिरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।