ताजा अपडेट »

एक रातको वर्षाले एकको ज्यान गयो, दर्जनौ घर विस्थापित

शनिबार, १० असोज २०७७, १२ : ०२
9 Shares

बुटवल । गएराती परेको अविरत वर्षासँगै बाढी र पहिरोले विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति पुर्याएको छ । विशेष गरी तिनाउ नदी आसपासमा रहेका बस्तिहरुमा मानवीय क्षतिसहित बाढी पहिरो तथा डुबानले दर्जनौ घर परिवार विस्थापिन बनेका छन् । बाढी पहिरो तथा डुबानका कारण भएका क्षति बारे सम्बन्धित स्थानीय निकायहरुले अनुगमन तथा विवरण संकलनलाई समेत तीब्रता दिएका छन् । सामाजिक सञ्जालहरुमा समेत गएरातीको वर्षासँगै आएको बाढी पहिरोले पारेका असरहरु बारे तस्विरहरु सार्वजनिक भएका छन् ।

बुटवलमा एक महिलाको ज्यान गयो

तिनाउ नदीमा आएको बाढीले बगाउँदा बुटवलमा एक महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुटवल १३ दुर्गानगरकी ४० वर्षिया विष्णु राइलाई बाढीले बगाउँदा ज्यान गएको हो ।

यसैगरी बुटवल-१७ रानीगञ्जमा एक दर्जन घर बगाएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी गराएका छन् । पूर्व सावधानीका कारण मानवीय क्षति भने नभएको उनले बताए । बाढी आउने सम्भावित क्षेत्र भएको भन्दै उपमहानगरले शुक्रबार दिउँसो त्यस क्षेत्रका घर परिवारलाई स्थानी यएक सरकारी विद्यालयमा राखेको थियो । वर्षाका कारण बुटवलका वडा नम्बर ३, ४, ११, १२, १५ तथा वडा नम्बर १६ मा समेत डुबान हुनुका साथै केही गाइवस्तु र मालसामान बगाएको उनले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको रेग्मीले ग्लोबल आवाजलाई जानकारी गराए ।

तिनाउमा ५ घर विस्थापित

स्थानीयको घर भत्केपछि स्थलगत अध्ययनमा तिनाउ गाउँपालिका प्रवक्ता रोजेश श्रेष्ठ

यसैगरी पाल्पाको तिनाउ गाउँपालिकामा गएरातीको वर्षाले पहिरो तथा बाढी आउँदा ५ घर परिवार विस्थापित भएका छन् । गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्बर २ को भुजेल बस्तिमा फोक्सिङ खोेलाको बाढीले २ घर बगाएको छ ।

स्थानीय रिमबहादुर पुन र रोशन पुनको घर बाढीले बगाएको हो । यसैगरी घोडेबास भन्ने ठाउँमा ३ घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ । स्थानीय नारायण खरेल, टिकाराम खरेल तथा यज्ञ खरेलको घर पहिरोले पुरिएको हो । वडा नम्बर २ मा नै पर्ने डोल भन्ने ठाउँमा स्थानीय कला घिमिरेको घरमा आंसिक क्षति भएको छ भने वडा नम्बर ३ को पैथे डाँडामा स्थानीय अम्मर प्रधानको घर नजिकैबाट पानीको मुहान फुटेपछि घरमा क्षति भएको श्रेष्ठले जानकारी गराएका छन् ।

तिनाउमा रुपख ढलेर च्यापिएको एक घर

यसअघि मँगलबारदेखि विहिबारसम्म परेको अविरल वर्षाले तिनाउमा ४ घर परिवार विस्थापित भइसकेका छन् ।

नगर प्रमुख नै राती २ बजेदेखि उद्दारमा

रातको समयमा पनि उद्दार तथा अवलोकनमा तिलोत्तमा नगरपालिका प्रमुख बासेदेव घिमिरेसहितको टोली

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गएरातीको वर्षाले डुबानमा परेका क्षेत्रहरु पानीको सतह घटेसँगै जन-जीवन सामान्य बन्दै गएको नगरपालिकाले जनाएको छ । बाढी तथा डुबानका कारण तिलोत्तमाको वडा नम्बर ११ सबै भन्दा बढी प्रभावित भएको नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए । बाढीले बस्तिहरु डुवानमा परेपछि तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जोगेश्वरी चौधरी, प्रवक्ता सुरेन्द्र श्री, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले राती २ बजेदेखि विहानसम्म स्थलगत अनुमगन गरेका थिए ।

बाढीसँगै वस्ति डुवानमा आएपछि गएराती विभिन्न ठाउँका वस्तिहरुमा भागाभागको अवस्था आएपनि वर्षा रोकिएपछि पानीको सतह कम हुँदै जाँदा जनजीवन सामान्य बनेको हो । नगरका वडा नम्बर वडा नम्बर ११ को भुपु सैनिक टोल, सुखौरा खोला क्षेत्रमा नदी कटान हुनुका साथै केही गाइ वस्तु मरेका छन् भने कुखुरा फार्म तथा बँगुर फार्म डुबानमा परेका छन् । यसैगरी वडा नम्बर ६ मा डुबानका साथै एक घर भत्किएको छ ।

डुबानपछिको अवस्था अवलोकन गर्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरी

वडा नम्बर ७ मा एक दर्जन घर डुबानमा परेका थिए भने वडा नम्बर १० मा ड्यामसाइड क्षेत्रमा रोहिणी नदीले कुखुरा फार्म डुबाएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । यसैगरी वडा नम्बर ५ र १५ मा पनि केही घर डुबानमा परेका थिए । बाढी तथा डुवानका कारण भएको आर्थिक तथा भौतिक क्षति बारे पूर्ण विवरण आइनसकेको बताउँदै उनले सम्बन्धित वडालाई क्षतिको पूर्ण विवरणसहितको तथ्याङ्क ल्याउन निर्देशन गरिएको बताए । तिलोत्तमामा डुबानका कारण ठूलो क्षेत्रफलमा धानखेतीमा क्षति पुर्याएको छ ।

तिलोत्तमामा डुबानमा परेको एक घर

जिल्लाका अन्य विभिन्न ठाउँहरुमा पनि गए रातीको वर्षाले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

-तस्विर सामाजिक सञ्जालबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।