ताजा अपडेट »

नयाँ रेडिमिक्स व्यवसाय दर्ता नियन्त्रण गर्न माग

शुक्रबार, ०९ असोज २०७७, १७ : २३

भैरहवा । रेडिमिक्स व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ५ ले रेडिमिक्स व्यवसाय दर्ता प्रक्रियामा नियन्त्रण गर्न सरकारलाई अनुरोध गरेको छ । जथाभावी रुपमा दर्ता गर्दा व्यवसायीहरुबीच नै अस्वस्थ प्रतिस्प्रर्धा बढेको र सेवामुखी व्यवसायको अनुभव गर्न नपाएको व्यवसायीको गुनासो छ ।

भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले रेडिमिक्स व्यवसाय दर्ता गर्दा कुन क्षेत्रमा कतिवटा सम्म आवश्यक रहेको सोको निक्र्यौल गरि स्विकृति दिन सरकारलाई आग्रह गरेको छ । निर्माणको चापको तुलनामा रेडिमिक्स व्यवसाय धेरै भएको हुदा निश्चित दुरी हेरि मात्र दर्ता गर्न संघले सरकारलाई आग्रह गरेको हो । सरकारले थोरै बजार क्षेत्र रहेको स्थानमा पनि आवश्यकता भन्दा बढी व्यवसाय गर्ने स्विकृति दिदा यसले अस्वस्थ प्रतिस्प्रर्धा बढाएको रेडिमिक्स ब्यवसायी संघका अध्यक्ष भरत कुमार पोखरेलले जनाए ।

धेरै टाढा सम्म लैजान नसक्ने प्रकृतिको व्यवसाय रहेको र सानो ठाउँमा पनि धेरै व्यवसाय रहेको कारण व्यवसायी मारमा परेका पोखरेलले बताए । यस्तै रेडिमिक्स व्यवसायमा गाडीमा रहेको सामाग्री बिग्रिने डर रहेको कारणले यो रेडिमिक्स बोकेको गाडीलाई एम्बुलेन्स सरहको सुविधा दिन पनि माग गरेको छ । बाटो जाम, आन्दोलन, चेकजाँच लगायतको कारणले भित्र रहेको सामाग्री जमेर बिग्रिने हुदाँ यसलाई एम्बुलेन्स सरहकै सुविधा दिनु पर्ने रेडिमिक्स व्यवसायीहरुको जिकिर छ ।

पोखरेलको नेतृत्वमा प्रदेश समिति

प्रदेश नम्बर ५ का रेडिमिक्स व्यवसायीहरु संगठित भएका छन् । शुक्रबार भैरहवामा भएको पहिलो बैठकमा प्रदेश नम्बर ५ मा रहेको रेडिमिक्सका सञ्चालकहरुले रेडिमिक्स व्यवसायी संघ–नेपाल गठन गरि भरत कुमार पोखरेलको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मोहन प्रसाद भुषाल, सचिव बाबुराम चौधरी र कोषाध्यक्षमा बलराम उपाध्यायलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा अस्मिता पोखरेल, देवेन्द्र शाहु, संजय अधिकारी, मित्रलाल न्यौपाने, दिपक काफ्ले, दिनेश भुषाल र कमल ढकाललाई चयन गरेको छ । प्रदेश नम्बर ५ मा अहिले १४ वटा रेडिमिक्स सञ्चालनमा रहेकोमा रुपन्देहीमा मात्र ७ वटा रेडिमिक्स व्यवसाय सञ्चालनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।