ताजा अपडेट »

बोयर जातका बाख्रापालनमा आकर्षण, महिनामै लाखौं आम्दानी

शुक्रबार, ०९ असोज २०७७, १३ : १०
42 Shares

दाङ । कृषकहरु बोयरजातका बोका, खसी तथा बाख्रापालनमा आकर्षित भएका छन् । स्थानीय जाताका खसी बाख्राभन्दा तौल धेरै हुँदा मुनाफा पनि बढी हुने भएपछि दाङका कृषकहरु बोयर जातका बाख्रा पालनमा आकर्षित भएका हुन् । तुलसीपुर–३ डाँडाखुट्टीका मानबहादुर केसीले बाख्रापालन व्यवसाय गरेको करिब ४ वर्ष भयो । १२ वर्षसम्म खाडी मुलकमा बसेर फर्किएका केसीले ३ लाखको साउथ अफ्रिकन बोयर जातको एक बोका र १५ वटा स्थानीय बाख्राबाट बाख्रा पालन सुरु गरेका हुन् ।

‘१२ वर्ष विदेशमा बिताए । त्यसपछि गाडी किनेर चलाए, तर सोचे जस्तो नभएपछि आफूले जाने बुझेको कृषि पेशा तिर लागे । परम्परागतभन्दा पनि नयाँ तरिकाले गर्दा राम्रौ हुँदै गएको छ ।’–उनले भने । फार्ममा अहिले स्थानीय र बोयर जातका ७० वटा माउ बाख्रा साउथ अफ्रिकन र अस्ट्रेलियन गरी ३ वटा बोयर जातका बोका र अन्य पाठापाठी गरी करिब १ सय ४० बाख्रा रहेका छन् । फार्म सञ्चालनका लागि ६० लाख बैंकबाट ऋण लिएको बताउँदै उनले अहिलेसम्म डेढ करोढ बढी लगानी रहेको उल्लेख गरे । पछिल्लो समय गाउँघरमा स्थानीय बाख्राभन्दा बोयर जातका बाख्राको माग बढी भएको उनले बताए ।

‘स्थानीय जातबाट क्रस गराएका ५० देखि ७५ प्रतिशत बोयर पाठापाठीहरू बिक्री गर्दै आएका छौँ,’ उनले भने, ‘अहिले सतप्रतिशत नै बोयरको माग हुँदै आएको छ । पाठापाठी पु¥याउनै धौधौ छ ।’ मंसिरदेखि चैत–वैशाखसम्म विउका लागि पाठा–पाठी विक्रि गर्ने अवधि भएपनि त्यसअघिनै रकम बुझाएर जाने गरेको उनले बताए । पाठा–पाठीमा हुने बोयर जातको गुणअनुसार न्यूनतम ६ सयदेखि ३ हजार रुपैयाँ किलोका हिसाबले विक्रि गर्ने गरेको उनले बताए । वार्खा पालनबाट सुरुको वर्षमा खासै आम्दानी नभए पनि दोस्रो वर्षमा करिब ८ लाख तथा तेस्रो वर्षमा १५ लाख आम्दानी गर्न सफल भएको उनले बताए । आफूसँग ३ वटा बोयर जातका बोका भएको बताउँदै उनले क्रम ब्रिडिङ गरी स्थानीय लोकल बाख्राबाट पाठापाठी उत्पादन गर्ने लक्ष्य रहेको बताए । लकडाउन अवधिमा मात्रै ३ लाख बराबरको पाठापाठी बिक्री भएको केसीले बताए । लकडाउनका बेला अन्य मानिसको व्यवसायमा असर परे पनि उनको पेसामा भने खासै असर नगरेको उनी बताउछन् ।

केसीले बाख्रा मात्र नभई उन्नत जातका गाई तथा कुखुरा फार्म समेत संचालन गर्दै आएका छन् । ‘हामी ३ भाइ छौं। मैले बाख्रा, अर्काे भाइले गाई र अर्का भाइले कुखुरा पालन गरेका छौं,’ उनले भने । गाईपालन व्यवसायबाट पनि मासिक करिब डेढ लाखको दूध बिक्री गर्दै आएको उनले बताए । सबै खर्च कटाएर मासिक करिब ७५ हजार आम्दानी हुने उनको भनाई छ । ७ वटा गाईबाट प्रिया गाई फर्म दर्ता गरी सुरु गरेकोमा अहिले १८ वटा विभिन्न जातका गाईहरू रहेका उनले बताए । ती गाईबाट दैनिक ७०÷८० लिटर दूध उत्पदान हुने गर्दछ । बिचौलियाका कारण आफूहरूले दूधको मूल्य नपाएको गुनासो छ । ‘हामीले प्रतिलिटर दूधमा लागत कटाए १० देखि १५ रुपैयाँ आउँछ, तर डेरीले एक रुपैयाँको प्लास्टिकमा पोको पारेर ८० रुपैयाँ लिटरमा बेच्छन् । हामी ६० रुपैयाँ लिटरमा बेच्न बाध्य छौँ । सरकारले मूल्य निर्धारण गर्दा कृषकको लागतअनुसार गर्दैन, जसले गर्दा उपभोक्ताहरू समेत मारमा परेका छन् ।’–उनले भने । धेरै युवाको आकर्षण कृषि क्षेत्रतर्फ बढ्दै गए पनि लगानी नहुँदा समस्या हुने गरेको उनको गुनासो छ । ‘सरकारले दिने अनुदान हामीजस्ता सोझाले पाउँदैनौँ, जसको पहुँच छ, त्यसैले पाउने हो । बैंक तथा वित्तीय संस्थाहरू पनि धितोबिना ऋण दिँदैन । त्यसैले राज्यले यसतर्फ ध्यान दिनुपर्छ,’–उनले भने ।

सोही ठाउँका अर्का स्थानीय होतालाल कँडेलले पछिल्लो समय स्वदेशमै युवाले केही गर्न खोजे पनि राज्यले ध्यान नदिएको गुनासो गरे । केसी जस्ता धेरै युवा गाउँघरमै केही गर्नुपर्छ भन्ने सोचेका छन् । तर उनीहरूसँग लगानी गर्ने पैसा छैन । त्यसैले यस्ता युवालाई राज्यले साथ दिनुपर्ने उनको भनाई छ । स्थानीय सरकारले युवालाई स्वरोजगार बनाउन केही प्रयास गरेको भए पनि थोरै अनुदान दिँदा त्यसले काम गर्ने वातावरण नहुने समेत उनले बताए ।

त्यसैगरी तुलसीपुर–१७ की पुष्पा विष्ट ६ वर्षसम्म किराना पसल खोलेर बसिन् । व्यवसायबाट सोचेजस्तो नभएपछि व्यवसाय नै परिवर्तन गर्दै बाख्रापालन व्यवसायमा सुरु गरिन् । विष्टले २ वर्षसम्म लोकल जातका बाख्रापालन गरिन् तर ती बाख्राबाट खासै आम्दानी नहुने भएपछि एक वर्षदेखि २३ वटा बोयर जातका बाख्रापालन गर्दै आएकी छन् । उनले ६ महिना पुगेको एउटा बोयर बोकाको मूल्य ३० हजार र बाख्राको २० हजारमा बिक्री गरेको बताइन् । सुरुमा लोकल बाख्राबाट जन्मिएका पाठापाठी पाल्दा वर्ष दिनसम्म पनि यति धेरै मूल्यमा नगएको भन्दै बोयर जात बाख्राबाट धेरै आम्दानी गर्न सकिने बताइन् । कृषि ज्ञान केन्द्रको भकारो सुधार कार्यक्रमअन्तर्गत १ लाख अनुदान पाएको उनले बताइन् । त्यस्तै प्रदेश ५ सरकारले आयोजना गरेको प्रदेश एक्स्पो कार्यक्रममा समेत बोयर बोका प्रदर्शनमा आफू पुरस्कृत भएको उनले बताइन् ।

स्थानीय सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन अनुदान दिँदै आएको जनाएका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले कृषकहरूलाई बिउ विजनदेखि कृषि औजार सिँचाइमा अनुदान दिँदै आएको उपमहानगरपालिकाकी उपमेयर माया शर्माले बताइन् । त्यसैगरी उपमहानगरले कोभिड विशेष कृषि कार्यक्रममा २१४ जना युवालाई विभिन्न कृषि क्षेत्रका लागि ७५ प्रतिशतमा २० हजारका दरले अनुदान दिएको उल्लेख गरिन् । प्लाष्टिक टर्नेल वितरणमा सय जनालाई ५० प्रतिशत छुट दिएर अनुदान दिएको समेत उपमेयर शर्माले जानकारी गराइन् । त्यसैगरी उपमहानगरले बाली भण्डार, कृषकलाई परिचय पत्र, सुलभ कर्जा, बाली बिमालगायत क्षेत्रमा संघ र प्रदेशसँग सहकार्यमा काम गर्दै आएको उनले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।