ताजा अपडेट »

दाउन्नेमा पहिरोको कारण बस भिरबाट खस्दा एक जनाको मृत्यु

शुक्रबार, ०९ असोज २०७७, ११ : १३

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।

यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुनसकेको छैन । गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।