ताजा अपडेट »

६ चर्चित उद्घोषक : ६ महिनादेखि स्टेज चढेका छैनन्

विहीबार, ०८ असोज २०७७, २० : ००
52 Shares

बुटवल । मेला महोत्सवको समय होस् वा अन्य इभेन्टहरुमा व्यस्त रहने यस क्षेत्रका चर्चित स्टेज उद्घोषकहरु स्टेज नचढेको ६ महिना बढी भएको छ । विश्वव्यापी कोरोना महामारी तथा लकडाउनका कारण गतिविधि शून्य भएपछि स्टेजलाई नै मुख्य पेशा बनाएका उनिहरुको दैनिकी परिवर्तन भएको छ ।

विगत २५ वर्षदेखि स्टेज कार्यक्रमहरु गर्दै आएका गोपाल अधिकारी महामारीको अवधिमा पुस्तक लेखेर समय बिताउने मेसो गरेका छन् । रुपन्देहीमा स्टेज कार्यक्रमका लागि नाम कहलिएका मध्ये अग्र पंतिmमा पर्ने अधिकारीले यो समय ‘लकडाउन’ नामको पुस्तक लेखी रहेको बताए । गत फागुनमा उद्योषणकला सम्बन्धि प्रशिक्षण दिएको स्मरण गर्दै उनले महामारीका कारण स्टेजका कार्यक्रम तथा उद्घोषण सम्बन्धि कुनैपनि गतिविधि शून्य भएको बताए ।

सामान्य समयमा समेत स्टेज कार्यक्रमबाटै मासिक ५० देखि ६० हजारसम्म आम्दानी गर्ने तथा मेला महोत्सवको अवधिमा मासिक १ लाख ५० हजार बढी आम्दानी गर्ने उनले गतिविधि शून्य भएपछि पुस्तक लेखनमा लागेको बताए । नेपालका करिब ३२ जिल्ला तथा हङकङ, जापान लगाएतका देशमा गएर स्टेज कार्यक्रम गरिसकेका अधिकारीले महामारीका कारण कम्तिमा सय बढी स्टेज कार्यक्रम गुमाउनु परेको अनुमान गरे ।

सामान्यतया चैत्रदेखि साउनसम्मको अवधि स्टेज कार्यक्रमका लागि शून्य जस्तै भएपनि भाद्र महिनामा तीज तथा असोजदेखि दशै तिहार लक्षित कार्यक्रमहरुले व्यस्त हुने गरेको विगत सुनाउँदै उनले महामारीले गतिविधि शून्य बनाएको उल्लेख गरे ।

सुमन श्रेष्ठ

यस क्षेत्रमा हुने प्रायजसो स्टेश कार्यक्रममा देखिने अनुहार हो सुमन श्रेष्ठ । रेडियो खस्यौलीको स्टेशन म्यानेजर समेत रहेका श्रेष्ठ महामारीपछि सिर्जनात्मक ढङ्गले मिडियालाई इम्प्लिमेन्ट गर्नेतर्फ व्यस्त रहेको बताए । महिनामा कम्तिमा दर्जन स्टेज कार्यक्रममा व्यस्त रहने श्रेष्ठले महामारीका कारण स्टेज गतिविधि शून्य भएको बताए ।

‘म प्राय सेलेक्टेड कार्यक्रमहरुका लागि मात्रै स्टेज चढ्ने गर्छु ।’-उनले भने ‘महामारी सुरु भएपछिको स्टेजका कुनै पनि कार्यक्रम भएनन् । गतिविधि सून्य भएको छ ।’ स्टेजबाटै मासिक मासिक ७० हजारसम्म आम्दानी गर्ने उनले ६ महिना अगाडि बाग्लुङको एक कार्यक्रममा स्टेज चढेको बताए । प्रदेश ५ का रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची ,कैलाली,गुल्मी बाहेक अन्य ठाउँहरु चितवन, पोखरा, बागलुङ, स्याङ्गजा लगाएतका दर्जनौ ठाउँमा स्टेज कार्यक्रममा पुग्ने गरेका श्रेष्ठ विदेशका कार्यक्रमहरुमा भने अहिलेसम्म नगएको बताए ।

खेमराज रेग्मी

विगत १६ वर्षदेखि स्टेजका कार्यक्रमहरुमा चढ्न थालेका खेमराज रेग्मी पछिल्लो समय निकै व्यस्त उद्घोषकका रुपमा परिचित नाम हो । हालसम्म करिब ५२ जिल्ला तथा भारतका विभिन्न ठाउँहरुमा समेत पुगेर स्टेज चढेका रेग्मी महामारीका कारण गतिविधि शून्य भएको बताउँछन् ।

टेलिभिजन प्रस्तोता समेत रहेका उनले महामारीको अवधिमा घरमै बसी भर्चूअल मिटिङमार्फत मोटिभेशन कक्षामा सिमित भएका छन् । पहिल्लो पटक ताप्लेजुङको एक विद्यालयमा आयोजित स्वर्ण महोत्सवमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएको स्मरण गर्दै उनले महामारीका कारण पूर्व निर्धारित आधा दर्जन कार्यक्रम स्थगित गर्नु परेको बताए ।

पछिल्लो समय धार्मिक कार्यक्रमहरुका स्टेजमा परिचित अनुहारका रुपमा रहेका रेग्मीले महामारीका कारण साना–ठूला गरी सय बढी कार्यक्रम गुमाउनु परेको बताए । उद्घोषणलाई नै मुख्य पेसा बनाएर लागेका उनले आफ्नो आम्दानीका बारेमा खुलाउन नचाहे पनि सन्तुष्ट हुने गरेको बताए । यही अवधिमा गत वर्ष लम्जुङको कार्यक्रम सकेर रातारात फर्किएर बुटवलको एक कार्यक्रममा स्टेज उक्लिएको उनले विगत सम्झिए ।

सन्जु पौडेल

आफ्नो मूख्य पेसा पत्रकारिता भन्दा बढी स्टेजहरुमा सबैले सम्झिने नाम हो सन्जु पौडेल । कुनै समय स्टेजबाटै महिनामा १ लाख ५० हजार बढी आम्दानी गरेको अनुभव सुनाउँदै सन्जुले महामारीले स्टेज गतिविधि शून्य रहेको बताइन् ।

वितेको ६ महिनामा महामारीकै कारण करिब १ सय ५० स्टेजका कार्यक्रम गुमाउनु परेको उनले अनुमान गरिन् । जिल्ला भन्दा बाहिरका कार्यक्रममा अफरहरु आए पनि खासै नजाने सन्जुले महामारीका कारण २ महिना अगाडि नै डिल भएका आधा दर्जन बढी कार्यक्रमहरु स्थगित भएको बताइन् । महामारीमासँग जुधिरहेको यो अवधिमा नयाँ वर्ष, तीज तथा विभिन्न कम्पनीका इभेन्टहरुमा स्टेज चढ्ने गरेको विगत सुनाइन् ।

पछिल्लो पटक सिजी ग्रुपले बुटवलको होटल सिद्धार्थमा आयोजना गरेको नाइट इभेन्टपछि स्टेज जान नपाएकी पौडेलले महामारीसँगै पत्रकारिता पेसामा मात्रै ध्यान केन्द्रित भएको बताइन् ।

रवि राना

यस क्षेत्रमा हुने स्टेज कार्यक्रमहरुमा दर्शकहरुले धेरै देख्न पाउने अर्को अनुहार रवि राना हो । रेडियो शुद्धोधनका स्टेशन म्यानेजर समेत रहेका रवि लाइभ कन्सर्ट तथा अन्य स्टेज कार्यक्रमहरुमा देखिने गर्दछन् । यही अवधिमा गत वर्ष चितवनको एक स्टेज कार्यक्रममा व्यस्त भएका उनी अहिले भने रेडियोको कार्यालय र बचेको समय कृषि कर्म गरेर विताउने गरेको बताए ।

नेपालका एक दर्जन बढी जिल्ला तथा दुबईमा समेत स्टेज कार्यक्रमका लागि पुगेका रानाले महामारीका कारण कम्तीमा ५ दर्जन बढी कार्यक्रम गुमाउनु परेको बताए । कपिलवस्तु महोत्सवपछि केही साना इभेन्टहरुमा स्टेज चढेका रानाले होलीका लागि तय गरिएको स्टेज कार्यक्रमका साथै त्यस लगत्तै हुने भनिएका आधा दर्जन बढी स्टेजका कार्यक्रम गुमाउनु परेको बताए । स्टेजबाटै मासिक ४० देखि ५० हजारसम्म आम्दानी गर्ने उनले दशै तिहारका अवधिमा मात्रै १२ बढी कार्यक्रमहरुमा सहभागी हुने गरेको विगत सुनाए।

दुर्गा गुरुङ

रुपन्देहीमा आयोजित ‘मम्मी डान्स’ को उपाधिसँगै स्टेजमा देखिन लागेकी उदयीमान उद्घोषिका दुर्गा गुरुङको पछिल्लो स्टेज कार्यक्रम तिलोत्तमाको कोटिहवामा आयोजना भएको खाद्य मेला हो । महामारीले २ महिना अगाडि नै तय भएका कार्यक्रमहरु समेत गुमाउनु परेको उनले बताइन् । साना–ठूला गरी करिव सय बढी स्टेजका कार्यक्रम गुमाउनु परेको उनले बताइन् ।

विभिन्न संघसंस्था तथा क्लबहरुले आयोजना गर्ने साना-ठूला कार्यक्रमहरुमा व्यस्त भइरहने समयमा लकडाउनले गतिविधि शून्य बनाएको उनको भनाई छ । आफ्नै हेल्थ एण्ड फिटनेश सेन्टर रहेको दुर्गाले अहिले आफू तथा अन्य दिदी-बहिनीहरुलाई समेत फिटनेसका लागि सहभागी गराइरहेको जानकारी गराइन् । गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, पोखरा, धरान, काठमाण्डौ लगाएत करिब एक दर्जन जिल्लाहरुमा स्टेज कार्यक्रमका लागि पुगेकी दुर्गाले स्टेजबाटै मासिक ४० देखि ५० हजारसम्म कमाउने गरेको विगत सुनाइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।