ताजा अपडेट »

६ महिनापछि सञ्चालनमा आउन थाले रुपन्देहीका तारे होटल

बुधबार, ०७ असोज २०७७, २० : ००
6 Shares

बुटवल । रुपन्देहीमा साना होटलहरुसँगै तारे होटलहरु पनि सञ्चालनमा आउन थालेका छन्। कोरोना महामारीसँगै गरिएको लकडाउन खुकुलो भएपछि होटल तथा रेष्टूरेण्टहरु सञ्चालनमा आएका हुन् । होटल व्यवसायी संघ,रुपन्देहीले यसअघि नै निर्णय गरेअनुसार असोज १ गतेदेखि जिल्लामा ठूला तथा साना होटलहरु सञ्चालनमा आएका छन्। विश्वव्यापी कोरोना महामारीसँगै मुलुक बन्दाबन्दीका कारण ६ महिनादेखि ठप्प होटल व्यवसाय सञ्चालनमा आएपनि ग्राहकको चहल–पहल निकै कम भएतापनि आंशिक रुपमा कर्मचारी राखी सञ्चालनमा ल्याइएको होटल एशोसियशन नेपाल(हान)का केन्द्रीय सदस्य गोपाल रानाले बताए ।

बाह्य पर्यटकहरुलाई लक्षित गरी खोलिएका तारे होटल तथा ठूला होटलहरुमा अधिकांशले २५ प्रतिशतभन्दा कम कर्मचारीहरु राखेर सञ्चालनमा ल्याएका छन् । तीनतारे ‘थ्री स्टार ’ मान्यता प्राप्त ड्रिमल्याण्ड गोल्ड रिसोर्टका सञ्चालक समेत रहेका रानाले महामारीले बाह्य पर्यटकहरुको आगमन नहुनु तथा आन्तरिक पर्यटकहरु समेत नआउँदा होटलहरु सञ्चालनमा आएपनि कारोबार भने ठप्प जस्तै भएको बताए । ‘विशेष गरी तारे होटल तथा अन्य ठूला होटलहरु बाह्य पर्यटक लक्षित भएको हुँदा सञ्चालनमा आएपनि आर्थिक कारोबार नगन्य नै हुन्छ ।’–रानाले भने, महामारीले ठूला साना सबै होटल व्यवसाय आर्थिक रुपमा धरासायी बनेका छन् । सय बढी कर्मचारी रहेको होटलमा हाल १५देखि २० जना मात्रै कर्मचारीहरुले काम गरिरहेको उनले बताए ।

यसैगरै रुपन्देहीको ओमसतिया–६ बसन्तपुरमा रहेको बोधी रेडसन होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले पनि होटल सञ्चालनमा आए पनि गतिविधि सुनसान जस्तै भएको उल्लेख गरे । ९० जना कर्मचारी रहेको बोधी रेडसनमा हाल २०देखि २५ जना कर्मचारी रहेको बताउँदै उनले फाट्ट–फुट्ट मात्रै आन्तरिक सेवाग्राही आउने गरेको बताए । महामारीको समयमा संक्रमण फैलिन सक्ने अति संवेदनशिल मानिएको होटल तथा पर्यटन व्यवसायलाई सरकारले सञ्चालनमा ल्याउन अनुमति दिएपनि विदेशी पर्यटकहरुको आगमन नहुँदा स्टार होटलहरु सुनसान बनेका हुन् ।

संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष-२०७६ लक्षित तारे होटलहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको व्यवसायीहरुले बताए । रुपन्देहीमा १० वटा तारे होटलसहित १ सय ५० वटा क वर्गका, ५ सय बढी ख वर्गका, १ हजार ५ सय बढी ग वर्गका तथा २ सय बढी स्तरीय पार्टि प्यालेस तथा रेष्टूरेन्टहरु रहेको छन् ।

लुम्बिनीमा क्षेत्र अवस्थित होटल पवन

लुम्बिनी क्षेत्रमा रहेको होटल पवनका सञ्चालक पवन हलुवाईले भने बाह्य पर्यटकको नआउने भएपछि होटल सञ्चालनमा नल्याइएको बताएका छन् । ‘विशेष गरी लुम्बिनी घुम्न आउने ८० प्रतिशत बढी नेपाल-भारत नाकाबाटै आउने हुन् । उनीहरु नआउने भएपछि होटल बन्द गर्नुको विकल्प छैन ।’-उनले भने ‘नगन्य रुपमा आन्तरिक पर्यटक आउने भए पनि होटल सञ्चालनमा ल्याउँदा आम्दानी भन्दा खर्च बढी हुने भएकाले बन्द गरेर राखिएको छ ।’ कोभिड-१९ का कारण अन्तराष्ट्रिय उडान ठप्प हुनु, अन्य देशसँगका सिमा नाका बन्द हुनु लगाएत कारणले पर्यटकको आगमन नहुँदा होटल सञ्चालनको अनुमति प्राप्त भएपनि कारोबार ठप्प रहेको होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा भैरहवामा सञ्चालनमा रहेको होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठले बताए ।

गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी गत साउन ६ गतेबाट अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न सरकारले स्वीकृति दिए पनि त्यस लगत्तै विभिन्न स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको निषेधाज्ञा तथा बन्दका कारण होटल व्यवसाय ६ महिनासम्म ठप्प भएका थिए । अहिले व्यापार तथा नाफाभन्दा पनि व्यवसाय गर्ने वातावरण सहज बनाउने सन्देश दिन मात्रै व्यवसाय सञ्चालन शुरू गरिएको व्यवसायीले बताउने गरेका छन् ।

भैरहवा स्थित होटल निर्भाना

कोरोना महामारीले थला परेको होटल व्यवसाय सञ्चालनका लागि सामाजिक तथा भौतिक दूरी कायम राखी उच्च स्वाथ्य सुरक्षा अपनाउन सबैलाई आग्रह गरिएको होटल तथा रेष्टूरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताएका छन् । होटल तथा रेष्टूरेण्टहरुमा अनिवार्य रुपमा सेनिटाइजर तथा साबुन पानीले हात धुने व्यवस्था, माक्सको प्रयोग तथा खान बस्नका लागि अनिवार्य सामाजिक दूरी कायम राख्न आग्रह गरिएको उनले बताए ।

https://www.globalaawaj.com/archives/48982
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।