ताजा अपडेट »

मजदूरीका लागि भारत जानेको लर्को

बुधबार, ०७ असोज २०७७, १६ : ५८
16 Shares

सर्लाही । कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदूरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरु भारततर्फ जान लागेका हुन् । खुला सीमा नाकाका कारण यहाँका स्थानीवासी रोजगारीका लागि दैनिक सयौंको सङ्ख्यामा भारततर्फ गइरहेका छन् ।

रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य छन् । नेपालमा लकडाउन भएसँगै नेपाल भित्रिएका उनीहरु पाँच महिना आफ्नै देशमा बसेपछि पछिल्लो समय खान लाउन र दैनिक गुजारा गर्न समस्या भएपछि भारत पस्न बाध्य भएका हुन् । भारतमा फैलिरहेको कोरोनासँग मनमनै डर लागिरहेको भएपनि एक छाक टार्न र परिवार पाल्नका लागि भएपनि रोजगारीका लागि भारत गइरहेको नेपालीहरु सीमाक्षेत्रमा भेटिएको स्थानीयवासी उमाशंकर साहले बताए ।

जिल्लाका अधिकांश नागरिक वर्षको करिब नौ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्दछन । “चाडपर्वको समयमा आफ्नो गाउँ फर्किने र अरु समयमा भारतमै मजदूरी गरी बस्ने गरेको मजदूर विनय महतोले बताए । “नेपाल काम गर्दा ज्याला पनि थोरै हुन्छ, काम पनि लामो समयसम्म गर्न पाइदैन”, उनले भने, “छोराछोरी पाल्नै प¥यो, घर व्यावहार चलाउनै प¥यो । अहिले गएर दुई महिना काम गरेपछि दिपावली मनाउन खर्च पुग्छ ।”

जिल्लाका प्रायः सबै स्थानीय तहबाट सयौंको सङ्ख्यामा नेपालीहरु कामको खोजीमा भारतका विभिन्न राज्यमा जान शुरु गरिसकेको गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र राय यादवले बताए । उनका अनुसार गोडैताबाट करिब चार सय नेपाली रोजगारीका लागि भारत गएका छन् । नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बसहरु सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन् । ती बसहरुमा करिब ४ हजार ५ सयसम्म भाडा तिरेर मजदूरहरु काम गर्ने स्थलतर्फ जान थालेका छन् ।

सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरुको लर्को रहेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङक्रमणकै बीचमा पनि उनीहरु भारत जान बाध्य छन् । जिल्लाबाट मजदूरीका लागि नेपालीहरु भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा जाने गरेका पाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।