ताजा अपडेट »

खाली भयो धौलागिरि अस्पताल

मंगलबार, ०६ असोज २०७७, १५ : ३९
6 Shares

बलेवा । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् ।

चैतको १५ गते बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीलाई आइसोलेसनमा राखेर अस्पतालले कोभिड–१९ को पहिलो उपचार चालेको थियो । उनी वैशाख १२ गते निको भएर घर फर्किएपछि जेठसम्म अस्पतालमा बिरामी आएनन् । जेठको पहिलो साताबाट निरन्तर कोभिड–१९ का बिरामीलाई आसोलेसनमा राखेर उपचार गर्दै आएको अस्पताल मङ्गलबारदेखि खाली भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए । गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको यो अस्पतालमा हालसम्म १७४ जनाले उपचार गराएका छन् ।

गौतमका अनुसार अस्पतालले सातमहिने बच्चादेखि ६५ वर्षीय वृद्ध सम्मलाई आइसोलेसनमा राखेर उपचार गरेको थियो । अस्पतालमा उपचार गराउनेमा पाँच स्वास्थ्यकर्मी, तीन जनप्रतिनिधि र तीनजना सुत्केरीसमेत छन् । २५ महिला सङ्क्रमितको उपचार भएको अस्पतालमा १४९ जना पुरुषले कोभिड–१९ को उपचार गराए । “अहिले स्थानीय तहहरुमा पनि अस्थायी कोभिड–१९ अस्पताल बनेका छन्, त्यसैले बिरामीहरु आउनुभएको छैन, पहिले रहनुभएका सबै निको भइसक्नुभयो”, गौतमले भने, “अब नियमित सेवा सञ्चालनमा सहज हुन्छ ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।