ताजा अपडेट »

विदेशबाट फर्केर कृषि कर्ममा युवा

आइतबार, ०४ असोज २०७७, २० : १७
12 Shares

बुटवल । पछिल्ला वर्षहरुमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दो छ । स्वदेशमा रहेका वा विदेशबाट फर्केका युवाहरुले कृषिलाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ । हाल कोभिड–१९ ले पारेको प्रभावका कारण बेरोजगारको संख्या बढ्ने छ । त्यसैलेपनि अबको रोजगारको मुख्य क्षेत्र कृषि नै हुनेछ । यस्तै कृषिमा सम्भावना देखेर पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड नं १ छिबनीमा विदेशबाट फर्किएका चार यूवाले व्यावसायिक रुपमा पशुफार्म सञ्चालन गरेका छन् ।

एकीकृत नमूना फार्म नामाकरण गरी उनीहरुले विगत २ वर्षदेखि १० बिघा जग्गामा सञ्चालन गरेको केही समयमानै ८ कठ्ठा जग्गामा दुईओटा माछापोखरी समेत निर्माण गरेका छन् । चार कठ्ठा जग्गामा फार्मको निर्माण भएको र बाँकी जग्गामा पशुका लागि आवश्यक बजेडा , बर्षिम, नेपियर जस्ता घाँस लगाएका छन् । सुरुवातमै ४ जनाले ४ लाखका दरले १६ लाखबाट सुरु भएको उनीहरुको फार्ममा हाल भने करोड बढीको सम्पत्ति रहेको छ । हाल फार्ममा करिब १५० को हाराहारीमा गाई र भैँसी रहेका छन् । फार्ममा दैनिक ३ सय लिटर दूध उन्पादन हुन्छ । हालसम्म आउँदा फार्ममा नै स्थानीयहरुको पनि दूध संकलन गर्ने दूध संकलन गर्ने केन्द्र डेरीसमेत सञ्चालन गरेका छन् ।

फार्मबाट लगभग ५ सय लिटरको हाराहारीमा दूध बाहिर जाने बताउँछन् फार्मका सञ्चालक मध्येका एक प्रकाश न्यौपाने । उनी भन्छन् ‘पैसा कमाउन खाडी मुलुक जानुपर्छ भन्ने नै छैन , स्थानीय स्तरकै स्रोत र साधनको पहुँचमा यहीनै मानो रोपी मुरी फलाउन सकिने रहेछ ।’ थोरै लगानीमै स्वदेशमा नै केही गरेर जिविकोपार्जन र आम्दानी गर्ने उद्देश्यले सामूहिक रुपमा पशुपालनमा अग्रसर भएको न्यौपानेले बताए । उनले भने ‘परिश्रम र मेहेनत नगरी कहिँ पनि सुख छैन । विदेशको तितो अनुभवलाई भुलेर त्यहाँ बगाइने पसिना अब स्वदेशलाई भन्ने सोँचका साथ काम सुरु गरेका छौँ ।’

‘स्वदेशमै केही गर्नुका साथै बाध्यताले विदेशीएका तर, स्वदेशमै कृषि कर्मबाटपनि जिविकोपार्जन र आर्जन गर्न सकिन्छ भन्ने उदाहरण बन्ने हाम्रो लक्ष्य हो । यसका लागि हामी एकीकृत नमुना फार्मको योजना अनुरुप नै काम गर्दै आएका छौँ । अहिले कोभिड–१९ को कारणले योजना अनुसार काम गर्न भने असहज भएको छ ।’ फार्मका सेयर सदस्य मध्येका कृष्ण डुम्रेले भने । कोभिड–१९ कै प्रभावले दूध बिक्री नहुँदा पनिर , घीउ बनाएर बेच्ने गरेका र फार्म सञ्चालनमा स्थानीय सरकारले समेत सहजीकरण गरेका कारण सहज भएको उनले बताए ।

अहिले स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिएको बताउँदै फार्मका सञ्चालक सुरज डुम्रेले भने ‘फार्मलाई स्थानीय सरकारले चिलिङ्ग भ्याट (चिस्यान) किन्न ५० प्रतिशत सहयोग गरेको थियो । त्यसैगरी पशुका लागि आवश्यक औषधि, विभिन्न घाँसका बिउहरु उपलब्ध गराउँदै आएको छ । घरपरिवारबाट टाढा बसेर विदेशी भूमिमा पैसा बगाउँदा दुःख लाग्थ्यो । त्यतिबेला नेपाल सरकारले पनि युवाका लागि आकर्षण गराउन विभिन्न योजना ल्याएको थियो । सरकारले युवाका लागि कृषि क्षेत्रमा योजना ल्याउँदा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोँच आयो ।’ पछिल्लो अवस्थामा कृषि क्षेत्रमा सुधार भएपनि युवाको लागि त्यति प्रयाप्त नरहेको गुनासोपनि गरे उनले ।

स्वोदेशमै बसेर कृषिमै केही गर्न चाहाने युवाको लागि तीनै तहका सरकारले विशेष योजना ल्याउनुपर्ने बताउँछन् फार्ममा अर्का सञ्चालक ग्यालल न्यौपाने । कोभिडबाट प्रभावित युवा जनशक्तिलाइ कृषिमा आकर्षण गराउन कृषिमा आधुनिककिरण गर्न आवश्यक भएको उनको धारणा छ । कृषिमा मिहिनेत गरेर दिर्घकालिन फाइदा हुने उनी बताउँछन् । ‘फार्ममा मासिक रुपमा दश लाखसम्म आम्दानी हुन्छ । आउने दिनमा फार्मलाई अझ ब्यवस्थित बनाउन गुरु योजना अनुसार अघि बढेका छौं । कृषिमा धेरैमिहिनेत छ । र, निरन्तर आवश्यक छ । आउने दिनमा वृहत पोखरी बनाउने ,कृषि उत्पादन ,साथै फार्ममा नै सहकारी निर्माण गर्ने भावी योजनाका साथमा अघि बढेका छौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।