बुटवल । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ । स्वास्थ्य स्थिति बिग्रिदैँ गएपछि प्रशासनले डा. केसीलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । १९औं सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाव दिएका थिए ।
Advertisement
डा. केसीको उपचारमा चार सदस्यीय चिकित्सकको टोली खटाइएको छ । जसमा डा. अनुप मंगल सुमाल, डा. प्रविनकुमार गिरी, डा. धिरज गुरुङ र नर्स सविना थापा रहेका प्रतिष्ठानले जनाएको छ । तर, डा. केसीले भने कुनै उपचार नलिने अडान राखेका छन् । उनले मध्यरातमा अचानक अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै आफूले कुनैपनि उपचार नलिने अडान राखेका हुन् ।
डा. केसी भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९ औँ सत्याग्रहमा बसिरहेका थिए । उनी गुणस्तरीय स्वास्थ्य सेवा चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसीले सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका थिए । उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।
कोभिड- १९ को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश तथा जिल्लामा सरकारी मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउनु पर्ने लगाएतका माग राखेका थिए ।
उनको माग सम्बोधन गर्दै जीवन रक्षा गर्न नेपाल चिकित्सक संघ, नेपाली कांग्रेसलगायतका राजनितिक पार्टीले सरकारलाई दबाब दिँदै आइरहेका छन् ।
यस्तो छ डा. केसीको ६ बुँदे माग-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्। गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्। प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस्। कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।
हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस्। विश्वबिद्यालय, काउंसिल र प्रतिस्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस्।
राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस्। बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाइयोस्। यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानुन बमोजिम छानविन र महाभियोगलगायतका कारवाही गरियोस्। अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस्।
प्रतिकृया दिनुहोस्