ताजा अपडेट »

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

सोमबार, ३० पुस २०७५, १७ : ३९
6 Shares

काठमाडौं । ललितपुर डर्बीमा च्यासल क्लबलाई १–० गोलले हराउँदै थ्रीस्टार क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  धनगढी रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेललमा थ्रीस्टारको जितमा रुपेश केसी नायक बने । रुपेशले खेल सकिन तीनमिनेट बाँकी छँदा निर्णायक गोल गरेका थिए । 

यसअघि सातौं मिनेटमा सुनिल बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे । १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो ।

२८ औं मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । ३९ औं मिनेटमा थ्रीस्टारका अनन्त तामाङले करिब २५ यार्ड टाढाबाट गरेको प्रहार बाहिरिएको थियो । ५८ औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्मान्डको प्रहार थ्रीस्टारका अनन्तले रोकेका थिए । ८१ औं मिनेटमा रन्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्किएको थियो । 

खेलमा निर्णायक गोल गरेका थ्रीस्टारका रुपेश केसी म्यान अफ द म्याच बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण जित हासिल गरेको बताए । थ्रीस्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ । 

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख रुपैयाँ पाउनेछ । उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । मंगलबार संकटा रक्यामरुनको दाफिनास एफसी भिड्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।