ताजा अपडेट »

बुटवलका शैक्षिक व्यक्तित्व नेपालको निधन, स्वास्थ्यकर्मी भाइ ३ दिनदेखि वेपत्ता

आइतबार, ०४ असोज २०७७, १२ : ०३
4 Shares

बुटवल । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका अवकाश प्राप्त प्रधानाध्यापक छबि नेपालको निधन भएको छ । पाल्पाको रिव्दीकोट गाउँपालिकामा जन्मिएका ६८ वर्षिय नेपाल लामो समयदेखि रुपन्देहीको बुटवल उपमहानगर–१ मा बसोवास गर्दै आएका थिए । उनको आइतबार बिहान काठमाण्डौ स्थित शसस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाल लामो समय देखि उच्च रक्तचाप र मधुमेहबाटग्रस्त रहेका थिए । उनलाई केहीदिन अघि निमोनिया भएपछि काठमाण्डौ स्थीत शसस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचारका लागि लगिएको थियो । यस्तै उनका भाई बिष्णु प्रसाद नेपाल तीनदेखि बेपत्ता भएका छन् । बिहीबार राति १२ः १५ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केका विष्णु घरमा नगई वेपत्ता भएका हुन् ।

खोजतलास गर्ने क्रममा उनले चढ्ने मोटरसाइकल प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको प्रहरीले जनाएको छ । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले शनिबार नहरको पानी बन्द गरी दिनभर खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । उनको आइतबार बिहानदेखि सोही नहरमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विष्णु मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए भने सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । यसैगरी छवि र विष्णुका जेठा दाजुको केही वर्ष पहिलो काठमाण्डौंमा हत्या भएको थियो भने माहिला दाजुको हृदयघातका कारण गत वर्ष निधन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।