ताजा अपडेट »

सिक्सलेन सडक किनारामा ‘तरकारी बारी’ : न देखिन्छ वारी, न पारी

शनिबार, ०३ असोज २०७७, २० : ००
110 Shares

तिलोत्तमा । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–बेलहिया सडक खण्डमा सडक श्रृङ्गार्न बनाइएको फूलबारी अव्यवस्थित तरकारी झाडीले कुरुप बन्न थालेको छ । सडक डिभाइडर तथा सडक छेउ र सर्भिस लेनको बीचमा रहेका फूलबारी पछिल्लो समय तरकारी बारीका रुपमा देखिन थालेका छन् । सडकमा सुन्दरीकरणका लागि छुट्याइएको किनाराका सार्वजनिक जग्गामा स्थानीयबासीले तरकारी लगाउँदा लाखौं खर्च गरेर लगाइएको तारजाली तथा विभिन्न जातका फूलहरु समेत हराउने अवस्थामा पुगेको छ ।

बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाले आ-आफ्ना क्षेत्रमा हरित नगर बनाउने योजनाका साथ सडक किनारमा फूल तथा हरिया बिरुवा लगाएपनि ती स्थानमा सिजन अनुसारका तरकारीको झाल देखिँदै आएका छन् । कहिँले करेलाको झाल, कहिले लौकाका झाल देखिन स्थानमा अहिले भने घिरौंला र बोडीका झाल देख्न पाइन्छ, त्योपनि झाडी नै हुनेगरी । सडक छेउमा बोडी फलाएका तिलोत्तमाका एक व्यापारी दामोदर पुडासैनीले तरकारी खेती गर्न थाँक्रा नचाहिने, लगाउँदा रुखमा चढ्ने र तारजाली भएको हुनाले पशुचौपायाबाट समेत जोगाउन सजिलो भएको प्रतिक्रिया दिए । हरियालीका लागि हुर्काइएका रुख तरकारीको झालले छोपिएपछि मर्ने हो की भनेर प्रश्न गर्दा उनले पछि सफा गर्ने बताए ।

विशेष गरी बुटवलको योगीकुटीदेखि शंकरनगरसम्म सर्वसाधारणले सडक किनारामा बोडी, घिरौँला, केरा, सिमी, खुर्सानी, करेला, तरुल लगायतका तरकारी खेती गरेपछि सडक वारपारको दृश्यसमेत देख्न नसकिने अवस्थामा पुगेको स्थानीय व्यवसायी रामप्रसाद खनालले बताए । स्थानीय सरकारले बजेट विनियोजन गरी फुलबारी सजाउन लगाएका दुबो, विभिन्न प्रजातिका बोट-विरुवा मात्र होइन ठाउँ-ठाउँमा राखिएका ट्राफिक चिन्हलाई समेत ढाक्ने गरी झाँगीएका तरकारीका झालले सडक थप कुरुप हुने चिन्ता बढेको छ । यसैगरी योगीकुटीदेखि राजमार्ग चौराहसम्मका सडक छेउमा रहेका फूलबारीहरुमा पनि स्थानीयले तरकारी लगाउन सुरु गरेपछि सडकको सौन्दर्यता हराउने चिन्ता थपिएको स्थानीय दिपक थापाले गुनासो गरे ।

आकर्षक तथा सुन्दर सिक्सलेन सडक किनारमा तरकारीको झाडी हुुँदा बीच सडकको दृश्य ओझेलमा परेको स्थानीयको गुनासो गरेका छन् । सडक किनारमा झाडी हुँदा दुबै तर्फका सडक, घर तथा व्यवसायिक संस्थाहरु नदेखिने समस्या बढ्दो छ । सडक हरीयाली बनाउन सम्बन्धित स्थानीय निकायहरुले सम्बन्धित वडा तथा स्थानीय टोल विकास समितिहरुलाई जिम्मा दिएर लाखौं रकम खर्च गरिएको छ । हरियाली सडकका लागि लाखौ रकम खर्च गरी तार जाली तथा बोट विरुवा लगाइए पनि तरकारी खेती हुन थालेपछि ती बोट विरुवा मासिने तथा सडक कुरुप बन्ने चिन्ता बढेको हो ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले सडक छेउमा रहेका फूलबारी सजाउनका लागि सम्बन्धित वडा तथा टोल विकास समितिलाई जिम्मा दिइएको बताउँदै कसैले पनि सडकको सार्वजनिक जग्गामा खेती गर्न नपाउने उल्लेख गरे । ‘सडकको सुन्दरता नै खराबहुने गरी कसैले खेती गरेका छन् भने हामीले तत्काल हटाउन लगाउँछौं । फलफूल लगाउने ठाउँमा तरकारी लगाउनु गलत हो ।’ उनले भने । यसैगरी तिलोत्तमा नगरका प्रवक्ता सुरेन्द्र श्रीले सडक छेउका फुलबारीमा तरकारी खेती गर्न नपाइने बताउँदै केही दिनमै सडकमा रहेका तरकारीका झालहरु हटाइने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।