ताजा अपडेट »

संघर्षशील विष्णुको जीवन यात्रा

शनिबार, ०३ असोज २०७७, १७ : ०५
60 Shares

आधा शताब्दी अगाडी नेपालमा छोरी मान्छे पढाउने चलन अति न्यून थियो । जनजाति समुदायमा त झन् यो चलन् शून्य नै थियो । यही चलनलाई तोडेर अघि आएकी थिइन् विष्णु । नागरिकताको उनको नाम विष्णु थापा हो । देशमा प्रजातन्त्र आउनु अघि विक्रम सम्वत् २००५ मंसिर २५ गते गुल्मीको तल्लो रेमी हालको चन्द्रकोट गाउँपालिकामा उनको जन्म भएको थियो । भारतीय सेनाका सेवा निवृत्त सु.मे परवीर थापा र आमा मानकुमारी थापाका नवौं अर्थात् अन्तिम सन्तानका रुपमा जन्मेकी थिइन् उनी ।

सन्तानको शिक्षादीक्षाका लागि उनका बुबाले घरमा मास्टर राखेर पढाउने व्यवस्था गरेका थिए । सेनाबाट सेवा निवृत्त उनले गाउँमै विद्यालय स्थापना गरे । बुबाले खोलेको सोही विद्यालयबाट नै विष्णुको अक्षराम्भ भयो । अति चतुर र जिज्ञासु स्वभावकी उनलाई बुबाले संधै छोरी मान्छे पढेर आफ्नो खुट्टामा उभिनुपर्छ भनी सिकाउँथे । बुबाको प्रेरणा नै छोरीको बालमस्तिष्कमा अमिट छाप बन्यो । अर्काको दैलो पोत्ने जातलाई पढाउनुभन्दा घरधन्दा मै पोख्त बनाउनुपर्छ । बल्ल पो अर्काको घर खान सक्छन् । पढेका छोरी मान्छे विक्दैनन् भन्ने कुरा बनमारा झैँ झाँगिएको समाजमा उनले सामाजिक कुरितिहरुसँगको लडाइँ जितेर छोडने निर्णय गरिन् ।

उदय मिडिल स्कुल शान्तिपुरमा भाई दीलिप र विष्णुले कक्षा ८ सम्मको अध्ययन पूरा गरे । अगाडि पढ्नका लागि स्कुल नभएको हुँदा त्यही विद्यालयमा स्वयंसेवक भई काम गरिन् । यसै क्रममा उनका माइला दाजुले महिला संगठनको सभापति मार्फत २ जना महिला जे .टि. ए पद रिक्त भएको तर कसैको आवेदन नपरेको खबर पाए । त्यसपछि उनी साथी रुपा थापासँग काठमाडौं गएर वि.सं. २०२३ सालमा जे .टि.ए को पदमा जागीरे भइन । वि सं २०२६ सालमा प्रौढ माध्यमिक विद्यालय दाङबाट उनले फलामे ढोका मानिएको एसएलसी पार गरिन् । त्यसपछि त उनमा पढाईप्रति झन मोह नै बस्यो । २०३० सालमा उनको विवाह दिब्रुरुङ दहका गोविन्द थापा बलालसँग भयो ।

यतिबेला आफ्नो घर, परिवार, जागिर र पढाईलाई कसरी सहि ढंगबाट व्यवस्थापन गर्ने भन्ने चुनौती एकैसाथ थपियो । सफलताको सगरमाथा चढ्न कति हम्मेहम्मे पर्यो भन्ने कुराका कुनै लेखाजोखा नै छैन । घर, परिवार र श्रीमानको पूर्ण साथले सगरमाथाको यात्रामा आइस ब्रेकर जत्तिकै काम गर्यो ।
जागिरकै क्रममा उनले रत्नराज्य क्याम्पस काठमाडौंबाट २०३२ सालमा कला शास्त्र गृह विज्ञान विषयमा प्रमाणपत्र तहको पढाई पूरा गरिन् । त्यसैगरि उनले सानोठिमी भक्तपुरबाट २०३५ सालमा बिएडको पढाई पूरा गरिन् । अथक मिहिनेत स्वरुप अन्तिममा पद्मम कन्या क्याम्पस काठमाडौंबाट २०५६ मा गृह विज्ञान विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरिन् ।

जीवनको लामो समय जागिर, अध्ययन र समाजिक कार्यमा नै बिताएकी उनलाई क्याम्पसको पढाई ताका नोट बनाएर चेक गराउनुपर्ने तर धेरै कार्यव्यस्तताका कारण एकदमै गाह्रो हुन्थ्यो । ती दिनहरुमा श्रीमान् र छोराले कलेजको नोट बनाउँदा निकै सघाएको सम्झिन्छन विष्णुले । उतिबेला जागीर बचाउन कै लागि कार्यालयमा हाकिमको नजरबाट कर्मचारीले बच्चालाई शौचालयमा थुन्नुपर्ने अवस्था थियो । महिला विकास प्रशिक्षण केन्द्र नारायण भवन जाउलाखेलमा काम गर्दाको घटना मनमा संधै नै बल्झिरहन्छ उनका ।

एकदिन जेठो छोरो कोठामा एक्लै बस्न डराएर मैले पढाउने कोठा नजिकै खेल्न पुग्यो । बाबु खेल्दाखेल्दै ठूलो पानी पर्यो । बाबु डराएर बेस्सरी रुन थाल्यो । रुँदै दौडेर मैले पढाउँदै गरेको कोठातिर आउन खोज्यो । मैले फकाउँदै बाबु यता आउनु हुँदैन कोठामा गएर बस । बाबु समय पूरा भएपछि म आउँछु भनें तर छोराले रुँदै प्रतिप्रश्न गर्यो-उसो भए म कहाँ बसेर रुने त आमा ? यतिबेला अबोध बालकको प्रश्नले म एकदमै भावुक भएँ । जवाफ त के दिन सक्थें ? आजभोलि जस्तो बग्रेल्ती बालअधिकारका कुरा हुन्थेनन् । रुँदै गरेको छोरालाई आफुले पढाउँदै गरेको कोठासम्म लैजादा त्यो दिन साँच्चिकै सन्तानको माया र कर्तव्य बिच मेरो मातृत्व थिचिएको महसुस गरेकी थिएँ ।

महिला कर्मचारीलाई बच्चाको रेखदेख, जागीर र पढाईलाई सन्तुलनमा राख्नु साँच्चिकै अति चुनौतीपूर्ण काम हो । चुनौतीभित्र नै अवसरहरु लुकेका हुन्छन् । पहिलेको तुलनामा अहिलेको महिलाका लागि अवस्था सहज भएको अनुभव गर्छिन् उनी । अहिले प्रायः महिलाहरु शिक्षित छन् । जागीर गर्दा सुत्केरी बिदा, घर पायकमा दरबन्दी लगायत मानव अधिकार र बालअधिकारका धेरै कुराहरु उपलब्ध छन् ।

२०२३ सालमा कृषि मन्त्रालयदेखि सुरु भएको यात्रा स्थानीय विकास मन्त्रालय हुँदै शिक्षा मन्त्रालयमा पुगेर २०६२ मा टुङ्गिदा उनलाई सम्वन्धित निकायबाट सेवा योगदानको उच्च कदर गर्दै आधा दर्जनभन्दा बढी पुरस्कारले सम्मानित गरिएको थियो । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट गोरखा दक्षिणबाहु (तेस्रो ) बाट विभुषित भएकी थिइन् । यसका साथै शिक्षा सेवा पदक, दीर्घ सेवा पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्दार पदक, बाह्र वर्षे सेवा पदक, गद्दी आरोहण रजत महोत्सव पदकबाट विभूषित भएकी थिइन् ।

जागीरका क्रममा उनलाई तालीम तथा गोष्ठीका लागि भारत, बंगलादेश, थाइल्यान्ड जापान, बेलायत र श्रीमानका साथमा क्यानडा, फिलिपिन्स, सिङ्गापुर हङकङ, इटली र अमेरिका भ्रमण गर्ने अवसर जुरेको थियो । काठमाडौंमा जे.टि.ए पदबाट आरम्भ गरेको यात्रामा रुपन्देही, दाङ, भोजपुर, ललितपुर र काभ्रे लगायतका जिल्लासम्म पुगेर निकै लगनका साथ काम गर्दै स्थानीय विकास मन्त्रालय हुँदै अन्तिममा शिक्षा मन्त्रालयबाट २०६२ सालमा सेवा निवृत भईन् ।

२०५७ सालदेखि सामुदायिक शिशुस्याहार केन्द्र, तीखेदेवल र सामुदायिक महिला उद्यमी समुहको व्यवस्थापन समितिको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । यसका साथै उनी दिबुङ दह छात्रवृत्ति कोषकी कोषाध्यक्ष र गरिब तथा असहाय छात्रवृत्ति कोषकी उपाध्यक्ष छिन् । विगतमा नेपाल प्रहरीमा कार्यरत प्रहरीहरुको श्रीमती संघको कार्यसमितिमा कोषाध्यक्ष र उपाध्यक्ष पदमा रहेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकी थिइन् ।

महिलाहरुले सपना देख्नु र त्यसलाई जीवन्त तुल्याउन जागीरमा प्रवेश गरेर मात्र हुँदैन आफूलाई समय सापेक्ष तिखार्न उत्तिकै जरुरी छ । अवकाशपछि समाज र देशप्रति नागरिकले महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्दछ । यस्तै प्रेरणा भावले ओतप्रोत उनी आममहिला दिदीबहिनीलाई कथन सुनेर बस्नुभन्दा आफ्नो शैक्षिक योग्यता, सीप र दक्षताको समयमा सहि सदुपयोग गर्न आँट र सल्लाह दिन्छिन् । परिवारमा महिला र पुरुषको एकता र सद्भावले नै उत्कृष्ट परिवार र समाजको निर्माण हुने उनको सोच छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।