ताजा अपडेट »

संविधान दिवस मनाउन तिलोत्तमामा सजाइएका राष्ट्रिय झण्डा रातारात हराए

शनिबार, ०३ असोज २०७७, १२ : ४४
4 Shares

तिलोत्तमा । संविधान दिवस मनाउनका लागि रुपन्देहीको तिलोत्तमामा राखिएका झण्डा हराएका छन् । असोज तीन गते आज (शनिबार) पाचौं संविधान तथा राष्ट्रिय दिवस मनाउनका लागि यूवाहरुको सामाजिक संस्था ‘नमस्ते नेपाल’ ले आयोजना गरेको कार्यक्रमका लागि सजाइएका झण्डा रातारात गाएव भएको हो । सजावटका लागि राखिएका झण्डा गएराती हराएको क्लबका अध्यक्ष अर्जुन खनालले जानकारी गराए । ऐतिहासिक तथा राष्ट्रिय गौरवको विषय संविधान दिवस मनाउन सजाइएका राष्ट्रिय झण्डा रातारात हराउनु दुःखद तथा आपराधिक व्यवहार भएको भन्दै उनले खेद प्रकट गरेका छन् ।

लिलोत्तमा १ र ३ अन्तरगत पर्ने शंकरनगर चोकमै सजाइएका २० बढी राष्ट्रिय झण्डा हराएका हुन । संस्थाले आज परेको संविधान दिवस मनाउनका लागि शुक्रबार साँझ ५० बढी राष्ट्रिय झण्डा सडकका पोलहरुमा झुण्डाइएका थिए । बाँकी रहेका ठाउँहरुमा आज थप झण्डाहरु सजाउने क्रममा झण्डा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको संस्थाका अध्यक्ष खनालले बताए । सडकमा राखिएको सिसि टिभी क्यामेराको पहुँच भन्दा बाहिर सजाइएका झण्डाहरु गायव भएका हुन् ।

शुक्रबार राष्ट्रिय झण्डा सजाउने क्रममा युवाहरु

सडक किनारमा राखिएका झण्डा हराउनु सामान्य होला तर, संविधान दिवसका लागि सजाइएका राष्ट्रिय झण्डा रातारात चोरी हुनु निकै दुःखद तथा उच्छृंखल गतिविधि भएको स्थानीय तथा अधिवक्ता यूवराज कंडेलले बताए । उनले भने ‘राष्ट्रिय झण्डाको महत्व नबुझेका वा संविधानप्रति अपनत्व नभएका समूहले त्यस्तो गरेको हुन सक्छ । जसले जुन उद्देश्य र नियतले गरेपनि राष्ट्रिय झण्डाको अपमान भएको छ ।’ तिलोत्तमामा यसअघि रातीमै बुद्धमूर्ति तोडफोड र सडक किनारका हरिया बिरुवा काटिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।