ताजा अपडेट »

प्रदेश ५ का मुख्यमन्त्रीद्वारा संविधान दिवसको अवसरमा शुभकामना

शनिबार, ०३ असोज २०७७, ०७ : ००
2 Shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्य मन्त्री पोखरेलले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भावको कामना गरेका छन् ।

उनले प्रेस विज्ञप्ती मार्फत संविधान दिवसको अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको उनले बताएका छन् । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको विज्ञप्तीमा उल्लेख छ ।

पोखरेलले विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ (कोरोना भाइरस) को असरले सिंगो समाज पिल्सिएको बताउँदै कोरोनासंग जुध्दै दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेको औंल्याएका छन् । लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदैछन् ।

'लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड- १९ नियन्त्रण भएको बुझ्नु हुँदैन् ।' उनले भनेका छन्, 'कोरोनासंग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक छ ।' मुख्यमन्त्री पोखरेलले कोरोनाविरुद्ध सरकारले चालेका हरेक कदम नागरिकको जीवन रक्षाको लागि रहेको बताउँदै सरकारले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन नागरिकको सार्थक सहयोग आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश (पुर्णपाठ)

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुप्रति सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सबै ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताले लामो समयदेखि गर्दै आएको एकताबद्ध संघर्षबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई नागरिकले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीे निर्माण गर्न सम्भव भएको हो । नयाँ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार स्थापित गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्दै हामी अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ । कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको छ ।यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं । संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न हामी दृढसंकल्पित छौं ।

संघीयताको व्यवहारिक कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गरी मुहारमा उज्यालो छर्न सबैको सकारात्मक पहलकदमी र सहयोग आवश्यक छ । संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न अवश्य प्रेरित गर्ने छ । राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा संभव छ । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको बलियो जगको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

केही महिनादेखि हाम्रो दैनिकी खल्बलिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड- १९ ९कोरोना भाइरस० को असरले सिंगो समाज पिल्सिएको छ । लामो लकडाउन र निषेधाज्ञापछि क्रमशः स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुला हुँदैछन् । लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड- १९ नियन्त्रण भएको बुझ्नु हुँदैन् । कोरोनासंग जुध्दै हाम्रो दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक छ । कोरोनाविरुद्ध सरकारले चालेका हरेक कदम नागरिकको जीवन रक्षाको लागि हो । कोभिड- १९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेका छन् । सरकारले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन नागरिकको सार्थक सहयोग आवश्यक छ ।

सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै यो माहामारीलाई जित्न सकिन्छ ।
पर्व, उत्सव र दिवसमा ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले यसपटकको संविधान दिवसको कार्यक्रम सामान्य औपचारिकता पूरा गरी मनाउँदै छौं । सबैले घर घरमा दिपावली गरेर संविधान दिवसलाई भव्य रुपमा मनाऔं । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षका चाडपर्व, उत्सव र दिवसलाई भव्य रुपमा मनाउने नै छौं ।

अन्त्यमा, संविधान दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ असोज ३

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।