ताजा अपडेट »

प्रदेश ५ का ६ अस्पताललाई ५० शैयामा स्तरोन्नती गरिने

शुक्रबार, ०२ असोज २०७७, १५ : ०२
4 Shares

बुटवल । प्रदेश ५ सरकारले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने भएको छ । प्रदेशमा रहेका अस्पतालमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा गरि ६ अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने भएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठलले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । यसैबीच प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारांै तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने भएको छ ।

प्रदेश सरकारले शब बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने भएको छ । प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिकाको लागि रकम उपलब्ध गराउने भएको हो ।

बैठकले असोज ३ गते भोलि संविधान दिवसका अवसरमा घोषणा गरिने पदक सिफारिसलाई स्वीकृत गरेको छ । पदक प्राप्त गर्नेहरुको नाम भोलि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ । यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको र प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो ।

मन्त्रीपरिषद् बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले गुल्मीको रेसुङगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने भएको जानकारी गराए । त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाईने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।