ताजा अपडेट »

तिलोत्तमाद्वारा युवालाई बिनाधितो सहुलियतपूर्ण कर्जा

शुक्रबार, ०२ असोज २०७७, १४ : २५
24 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन बिनाधितो सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो ।

पहिलो चरणमा दुई करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै सात सय युवामध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको हो । शुक्रबार आयोजित एक कार्यक्रम बीच नगर प्रमुख बासुदेव घिमिरेले १५ जना लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गरेका छन् । नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने जानकारी दिँदै उनले धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको बताए ।

कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भैरहँदा नगरपालिकाले गत वैशाख २४ गते सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेकाहरुमध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासँगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ ।

नगरपालिकाले सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिर्जब कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरेपछि बैंकले सहुलियत कर्जा दिएको हो । मूलतः विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ३.९९ प्रतिशत, महिलाको हकमा वार्षिक २.९९ प्रतिशत छ ।

लाभग्राहीलाई कर्जा प्रस्ताव-पत्र हस्तान्तरण गर्दै तिलोत्तमा नगरका मेयर बासुदेव घिमिरे

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडी पारिएको वर्ग–समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

तस्विर सौजन्य : विपि गौतम

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।