ताजा अपडेट »

‘कुलमानलाई पुनः नियुक्ति नदिने, एमसीसी पारित गर्ने’

शुक्रबार, ०२ असोज २०७७, १४ : ०२
4 Shares

बुटवल । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति नदिने संकेत गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्राधिकरणको कार्यकारी निर्देशकको पदमा नविकरण गर्नुपर्ने प्रावधान नरहेको बताउँदै यस्तो संकेत गरेका हुन् ।

शुक्रबार प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले घिसिङले मुलुकलाई लोडसेडिङ मुक्त गर्न कुसल व्यवस्थापकको काम गरे भन्दै प्रशंसा व्यक्त गरे । कुलमानप्रति सरकार सकारात्मक भएपनि उनलाई पुनः नियुक्ति वा दोस्रो व्यक्ति नियुक्तिको बारेमा निष्कर्शमा पुगी नसकेको उल्लेख गरे । यसैगरी दोस्रो चर्चाको विषयका रुपमा रहेको एमसीसीलाई सरकारले जसरी पनि अघि बढाउने उनले बताए । एमसीसी सम्झौता भित्र रहेका बुँदाहरुलाई परिमार्जन गर्ने, हटाउनु पर्ने विषयलाई हटाउने तथा स्पष्ट नभएका विषयहरुलाई प्रष्ट पारेर सरकारले अघि बढाउने उनको भनाई छ । ‘सुझाब कार्यदलको सुझाब अनुसार आवश्यक विषयहरुमा काटछाँट गरी एमसीसी अघि बढ्छ ।’-उनले भने ।

प्रवक्ता ज्ञवालीले फरक प्रसँगमा सत्तारुढ दल नेकपामा विवाद तथा असमझदारीहरु टुङ्गीएको उल्लेख गर्दै पार्टीको ध्यान अब पूर्णरुपमा सरकार सञ्चालनमा केन्द्रित हुने बताए। ‘पछिल्लो समय नेकपामा सिर्जित असहज परिस्थितीले पार्टी फुटको संघारमा पुगेको थियो ।’-उनले अघि भने ‘नेकपाले ती संकट व्यवस्थापन गर्दै पूरानो अवस्थामा फर्किएको छ । अब हामी आगामी चैत्रमा हुने एकता महाधिवेशनमा केन्द्रित हुने छौं ।’ नेकपा भित्र संकट उत्पन्न हुँदा सिँगो मुलुक, संविधान तथा प्राप्त उपलब्धिहरुसमेत संकटमा पर्ने बताउँदै उनले संकटबाट बचाउनका लागि दोस्रो तहका नेताहरुको निरन्तरको दवाव र प्रभावकारी हस्तक्षेपले काम गरेको उल्लेख गरे ।

प्रवक्ता ज्ञवालीले विश्वव्यापी कोरोना महामारीले मुलुकको आर्थिक क्षेत्रमा पारेको क्षतीपुर्तीका लागि ठूलो मेहनत गर्नुपर्ने उल्लेख गरे। ‘आर्थिक पुनः जीवनका लागि धेरै मेहनत गर्नुपर्ने देखिन्छ । यसका लागि स्वास्थ्य सचेतना अपनाएर सबै आर्थिक क्षेत्रलाई चलायमान गराउने तर्फ लागेका छौं ।’-ज्ञवालीले भने । नागरिक सचेतनानै कोरोना विद्ध विजय प्राप्त गर्ने लडाई रहेको उनले बताए । सरकारले पिसिआर परिक्षणको दायरालाई वृद्धि गरी रोकथामका क्रियाकलाप अघि बढाएको उनले बताए । चाड पर्वहरु नजिकिँदै गरेको समयमा तेस्रो मुलुकबाट घर फर्किने नेपालीहरुबाट भन्दा छिमेकी मुलुक भारतबाट फर्किने नेपालीहरुका कारण समस्या आउन सक्ने उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।