ताजा अपडेट »

कथा : पुरानो पुस्ताको

सोमबार, २९ भदौ २०७७, २१ : ३०
64 Shares

'छोरी धेर भाको हो भने हात खुट्टा बाँधेर कोशीमा हाल्दिनु ! ’


ढोकामा ढक ढक को आवाज दिएपछि ८४ वर्षीया राधादेबी आफैले ढोका खोलिन् र हामीलाई कुर्सीमा बस्ने इसारा गर्दै चिसो पानी लिएर आइन् । घरमा बुहारी नातिनीहरु थिएनन् । हामीलाई मिठो मिल्क टी उनी आफैले बनाएर पिलाइन् । त्यो उमेरमा उनको स्फुर्ती तारिफ योग्य थियो ।

'अझै चिया खाजा आफै बनाउन सक्नुहुन्छ है आमा ?
'अझै त सक्दैछु नानी ’
मिठो हाँसोसहितको उत्तरपछि राधादेबीले आफ्नो जीवन भोगाईका पन्तुरा फुकाउन थालिन् ।
ओखलढुंगा ३ गहतेका गने मानिएका विद्वान तथा ज्योतिष भद्रलाल कोइराला र तुलसादेबी कोइरालाका १० जना सन्तानमध्ये कान्छी सुपुत्रीका रुपमा राधादेबीको जन्म भयो ।
उनले भनिन् ’’ हामी १० जना सन्तानमा अहिले म मात्र बाँकी छु । ’’

९० सालको भुकम्प गाको ३ वर्ष पछि वि. स. १९९३ सालमा उनी जन्मेकी रहिछन् ।
पहाडको गाउँमा सकेको काम त गर्नु पथ्र्याे नै ठूला साना सबैले घाँस दाउरा , ढिकी जाँतो आदि । तर राधादेबीले माइतमा मेलापात र अर्म तथा पर्मको काम भने त्यति गर्नु परेन । ३ चार जना गोठाला थिए घरैमा । चुल्हा चौकामा भने विशेष रुची थियो उनको । तर पढ्न भने पाइनन् । छोरी पढाए बिग्रिन्छे भन्ने जमाना थियो । त्यही समयको शिकार भइन् उनी पनि ।

'अहिले जस्तो बोल्न कहाँ सकिन्थ्यो र उ बेला ? त्यो बेलाको जुग जमाना नै कस्तो कस्तो ? दबिएरै बसिन्थ्यो , मन खुशी केही गर्ने आँट हुँदैन्थ्यो' समयप्रतिको गुनासो पोखिन् राधादेबीले ।

गाउँमा वनारसबाट आएका पण्डित गुरुहरुले पढाउथे । राधादेबीका दाजुहरुलाई घरबाट पढ्न पठाए तर छोरीहरु कसैले जान पाएनन् । किन पठाइएन त ? भन्ने सवालमा राधा देबीभन्छिन् त्यतिीबेला छोरी पढाउने चलनै थिएन भनुम्न । छोरीले पढे बोक्सी हुन्छ पो भन्थे ।“
कोठाभरी उनको मुग्ध हाँसो गुन्जियो ।

बिहे चाँही कती बेला भयो त आमाको ?

'१३ बर्षमा भयो ।'

तेर्है बर्षमा ?

'त्यो बेला अनुसार त ढिलो पो भाको हो रे ।'

अनि कसरी भयो त ?

स्मृतिको पाना पल्टाउदै बर्साैं अघीको बिगतमा पुग्छिन् राधा देबी ।
'हाम्रा बुवालाई सबैले मान्थे गाँउमा ।नामी ज्योतिष हुनुहुन्थ्यो । प्राय बनारस तिर गैरहनुहुन्थ्यो । म १२ बर्ष पुगेर १३ लागेकी थिएँ । उतै मेरो चिना हेर्नु भएछ र कान्छी छोरीको बिहेको लगन बित्ने लागेछ भनेर आत्तिदै बनारसबाट घर फिर्नुभएछ ।

मध्यान्नको बेला बुवा घर आईपुग्नु भयो । कान्छीको विहेको लगन बित्न लागो भन्दै आउनासाथ घरमा खेताला लगाएर ठुल्ठुला सुकुलमा बिस्कुन सुकाउन लगाउनु भयो , ठुला खड्कुलामा चिउरा कुट्ने धान भिजाउन लगाउनु भयो । आकैदिन पात टिप्ने खेताला पनि खटाउनु भयो ।

भोली पल्ट टपरी गाँस्न गाँउकाले पनि सघाए , दाउराको खलिया सारियो । धान कुटेर धोक्राको धोक्रा चामल तयार पारियो , चिउरा कुटियो , दालको छाँटा तयार पारियो । सबै तयार भएपछि बुवाले कपाल खौरेर नानीमुखी गर्नुभयो । पुराणको जम्मै सामग्री तयार पारेपछी सप्ताहको लागी बेसासनमा पण्डितहरु बसाए । तर उ बेला सम्म बेउलो चाँही टुंगोनै लागेको थिएन । चार दिशा दुलाहा खोजी गर्न भनेर भान्दाई र अर्काे आफन्त मान्छे खटाउनुभाथ्यो बुवाले ।

पुराण लगाको २ दिन भैसक्दा पनि दुलाहा भेटिएकै थिएन ।
अनुहार भरी राधा देबी हासोँ
छरियो ।
त्यो कस्तो समय होला ? सुन्दै अचम्म लाग्छ ।
आज भोली बर्षाै अघी देखी चिनजान गरी जोडेको सम्बन्ध पनि टुट्न रत्ती बेर लाग्दैन तर त्यतिबेला कहिले नदेखेको मान्छेसँग पनि असहज बाटोहरु हिड्दै सहजै जिन्दगीको यात्रा पुरा गरीदिन्थे । सम्बन्ध विच्छेदका घटनाहरु त अपवादका रुपमा मात्र भेटिन्थ्यो ।

अनि कहाँ कसरी भेटियो त दुलाहा ?

बाल्यकालबाट भर्खर किशोर अवस्थामा पुगेकी एक नवयौवनालाई के थाहा ? विवाहनै उस्को जिवनको पहिलो र कठोर मोड हो भन्ने । उस्बेला बिचरीले सायद विवाहलाई जीवनको एक उत्सव मानेकी हुदी हो या एक वियोगको क्षण, जुनबेलाको एक एक घटना उन्को स्मृतिपलटमा अमिट छाप बनेर बसेको छ ।

आफ्नो बिहे हुदा कस्तो लाग्यो त आमा ? खुशी हुनुभो ?
'त्यस्तो खुशी हर्क ( हर्ष) केही लागेन !'
राधादेबी हाँस्दै आफ्नो विवाहको बाँकी कथा
रिठ्ठो नबिराई सुनाउछिन् ।
तिर्पा खोटाङमा एकजना पौरखी दुलाल भेटिएको छ भनेर दुलाहा खोजी गर्न जानेले खबर पठाएछन् । उनी साइला छोरा रहेछन् ।जग्गा जमिन प्रसस्त भएका धनि सम्पन्न भएर पनि गोबर सोर्ने ,घाँस काट्ने देखी मल बोक्ने सम्म जम्मै काम गर्ने दुलाल केटो भएको खबर ल्याए । बुवाले जसरी नी उनैलाई लेरआउनु भन्ने सम्चार पठाउनुभो ।

भोली पल्टै उता घरमा खबरै नगरी बेँसीमा मल बोक्दा बोक्दै गर्दाका मान्छेलाई दुलाहा बनाउन १ दिनको बाटोलेरआए । दुलाहा हेर्न हुन्न भन्दै मलाईचै दिदीहर्ले लुकाउन लानुभो । अरुले घर्मा कुरा गरेको सुन्दा घर गएर लुगा फेर्नसम्म नदिई रछ्यानसुद्दै लेराएछन् दुलाहा भन्थे । बेला बित्छ भनेर होला । सप्ताह लाको ४ दिनाँ बल्ल टुंगो लाग्यो बेउलोको । यति भनी सकेर धक फुकाएर हास्छिन् राधा देबी । ६ वर्ष कटे पछिका कलिलो मुनालाई अर्काको घरमा जिम्मा लगाउन हतार गर्ने त्यो समयको समाजले १३ बर्षमा पनि राधा देबीको बिवाह नहुनु अभिभावकको लागी ठुलै बोझ घरमा रहनु ठान्थ्यो होला ।

चोखी कन्यादान गरी पुन्य कमाउने लालचमा कति कलिला मुनाहरुको जीवन मरुभूमि बनेर बित्यो त्यसको लेखा जोखा कसैले राखेन । उबेला विवाह नगरी बस्ने चेलीलाई राम्रो मानिदैनथियो ।

सप्ताह सकेकै दिन राधा देबीलाई अन्माएर पठाए रे । दिउसोको लगन परेकोले विवाह सकेर बेलुका दुलाहाको घर पुग्न सम्भव थिएन । दुधकोशी तरेर जानु पर्ने एकदिनको बाटो थियो । बेहुलीको घर नजिकैको ग्वाली जस्तो मतानमा दुलही सहित जन्तिहरुले रात बिताएछन् । त्यही मतानमा जन्ते बाख्राको बहुभतेर लाए रे । भोली पल्ट बिहान मिर्मिरे उज्यालोमा बेहुली लिएर जन्ती बाटो लागेछ । जता जता डोर्याउथे तेतै हिड्थिन रे सानी राधा ,जस्तो की दाम्लो समाएर फकाउदै डोर्याएको सानो बाच्छी हुन् उनी ।

"सजिलो बाटो हुँदा डोलीमा चढाउथे रे अप्ठेरोमा पैदलै हिडड्थिन् अरे ।"

१३ बर्षको बच्चीलाई के पो ज्ञान हुन्छ र ? किताव ,कापी र बिद्यालयको साटो घाँस दाउरा , कोदाली र हसिँयामा अल्झिएको कलिलो मानसिकतालाई ।
दुरन फिरे पछि एकै चोटी दशैँमा मात्र माइत आइन् राधा देबी । माइतको आँगनमा दिदीहरुसँग भेट हुदा, बुबा आमाको दर्शन गर्न पाउँदाको खुशी उनी बयान गरेरै सक्तिन भन्छिन् । उसो त उता कर्मघरमा पनि उन्लाई मायामा कुनै कन्जुस्याई भएन । बुवा आमाले झै सासु ससुराले पनि माया र स्नेहमा कुनै कमी गरेनन् ।

उनी भन्छिन् ।

'त्यस्तो अमृत जस्तो सासु ससुरा पाउनु भाग्यकै कुरा हो ।'

प्रकृतिको नियमनै हो परागसेचन पछि गर्भाधान हुनु । राधा देबीमा पनि यो नियम लागु भएरै छोड्यो । असार १५ गते १३ पुगेर १४ टेकेकी राधा देबीले असोज ३ गते पहिलो सन्तानलाई जन्मदिइन् । अहो ! संझिदा कहाली लाग्छ १३ बर्षको बालिका बच्चाको आमा !! राधादेबी र होमनाथ दुलाललाई पहिलो सन्तानको रुपमा पुत्रलाभ भयो ।

यती सानै उमेरमा बच्चा भएछ कसरी स्याहार्नुभयो भयो त ?
"सानी छे , केही जान्दिन भनेर होला सासु ससुरालेनै सबै गर्नुहुन्थ्यो नानी स्याहार्ने काम मैले त्यति गर्नु परेन ।

कता जन्माउनु भयो नानी ?
घर कि अस्पताल ?
काँहाको अस्पताल हुनु र त्यो बेला ।
बाटो बाटै ,मेला मेलै ,पाखा पखैमा जन्मिए के काहाँ जचाउनु पाउनु ? के को डाक्टर नर्स ?

"उति बेला जाँचबुझ गर्ने न कुनै अस्पताल थियो न कुनै खोप, न भिटामिन । उही घरमा दुध दही घ्यु र फलफुल छ भने खायो । त्यही हो भिटामिन त, दही मोही र ध्युको चाँही छेलो खेलो थियो ।

जन्मे पछि हुर्किन त बेर नलाग्ने रछ !
हेर्दा हेर्दै दुलाल दम्पतीको जेठो छोरो ६ महिनाको भयो । उमेरले ६ महिना पुगे पनि बालक बर्षीको भन्दा ठुलो थियो रे । हलक्क बढेको । राधा देबी आफै अचम्म मान्छिन् ६ महिनामै हिड्न शुरु गरेको बालक ९ महिना पुग्दा बोल्न थालिसकेको थियो अरे । त्यस्तो अनौठो बालक देखेर घर गाँउले सब छक्क पर्थे भन्छिन् राधा देबी । हजुरबासँग नातिको खुबै लगाव थियो रे । हजुरबा पनि नातिलाई अति माया गर्ने। ३ बर्षको बालक मजा हजुरबासँग भैँसीलाई पानी ख्वाउन पोखरीमा पुग्थ्यो रे । बाजे र नाति सुत्नेबेलामात्र छुट्टिन्थे रे । तर राधादेबीको आँगनमा सुन्दर बालक खेलेको दैवलाई सह्य भएनछ । ३ बर्ष पुगेकैदिन बिधाताले चुडेर लगेको बिलौना कहन्छिन् ।

राधादेबी भावविह्वल हुदै आफ्नो काख रित्तिएको त्यो परम पिडाको कथा सुनाइन् । जस्तो की उनको त्यो घाउ अहिलेनै बल्झिएर आलो भएको छ ।
एउटी आमालाई सन्तानको शोक बोक्नु भन्दा गहिरो अर्काे कुन घाउ पो हुन्छ र ? राधादेवीले सरासर ३ चोटी यस्ता चोट खपेकी रहिछन् । संझेर ल्याउदा त्यो पिडाले उनको छाती छिया छिया हुन्छ अझै ।
ओढारबाट उम्रेको मुल झै गहिरो उनको आँखाबाट आँसुको भल निस्कियो । बार बार धुजा परेको छाती फेरी चर्काउदै उन्ले त्यो बेलाको अकल्पनिय दर्दनाक शोक आँसुसँगै खसालिन् ।
एकछिन कोठामा सन्नाटा छायो ।

बच्चाको बुवाचै कति बर्षका ?

“बुवा २० बर्षको हुनुहुन्थ्यो ।’’
श्रीमानलाई प्राय जसो बुवा र कहिले मालिक भनेर सम्बोधन गर्थिन् राधादेबी ।
"३ बर्षको नानीको ८ नौ बर्षको जस्तो अचम्मले सप्रेको थियो । जम्मै मुख आइसकेको थियो । सबैसँग प्रष्टबोलीमा बात मार्न सक्थ्यो । तर बिधातालाई मेरो बारीमा फुलेको त्यो फुल स्वीकार्य भएन । अचानक नानी बिमारी भयो । कुनै ओखतीले भेटेन ।"

अहिले जस्तो अस्पताल डाक्टर केही थिएन ।
ससुराले जाने जति ओखती मुलो गर्नु भयो नी , तर पार लागेन । बिमारै खुट्टिएन । (रोग पत्ता लागेन) धामी झाँक्री बैदाङ्गी पनि भएजति जम्मै लगायौं ।घरमा पुजापाठ गरायौं । गर्ने जति जम्मै गरियो । अन्तमा उस्ले जानेनै भनेर लेखेर आको रछ क्यार । गएरै छाड्यो । यति भनीरहदा माटोको घैला रसाएझै राधा देबीको आँखा रसाउदै थियो ।

उ जाने दिन रछ, मध्यरातको समय थियो, मेरो आँखा उघारै थिए । मेरो हातको सिरान लगाएर नानी सुताकी थिएँ । उ जुरुक्क उठ्यो र मलाई हात समाएर आमा जाउँ भनेर डोर्याउदै लग्यो ।खोला नाला तर्दै जाँदा समुद्र माथी जग जग बलेको सुनको महलमा लिएर गयो र भगवानका तस्वीरहरुले सजिएको तेश्रो बैठक कोठा पारी पुगेपछि आमा ! तपाई फिर्नुहोस् , तपाईलाई पालन पोषण गर्ने म भाई पठाइदिन्छु पर्खिनु है ? भन्दै घरप्प ढोका लगायो ।

यता म बिम्झिदा नानीको प्राण गैसकेको रहेछ ।बाह्र घण्टा पछि मेरो आधा होश आयो । पुरा होस आउनु त आधासाल लाग्यो । त्यो बिचमा कती रात त म उठेर एक्लै चप्लेटी ढुंगा उदी कहिले पहरामाथी चढेर सुतेछु । कहिले बिचरातको जुनमा उज्यालो घाँस काटेर थुप्रो लगाएछु ।कहिले साँझमा बिस्कुन सुकाएछु । कहिले मध्यरातमा पँधेरो गएछु । मलाई केही थाहा हुदैन थियो । पछि मेरो त ढुक्कै गोठाला पो लाग्नु पर्ने भएछ ।

लगातारको पुत्रशोकले होश गुमाएको कथा लस्करै सुनाउछिन् राधा देबी ।
"अलिकति होश खुलेको बेला बाँच्न मन लाग्दैन थियो । के गरुँ कहाँ जाँउ छटपटी हुन्थ्यो । एक पल्ट त पानी खान गाको थोरे भैँसीसँगै सुनकोशीको उर्लदोँ छालमा फाल हानेछु । कसोरी हो होशमै हो की बेहोशीमा हो ? नदिमा पसेको थोरे ( किशोरी ) भैंसीको पुच्छर समाउन पुगेछु । ससुराले समयमा थाहा पाउनुभएछ र मात्र संयोगले बाँचेछु । तर त्यो बटारिएको छालले सक्दो लतारेर हिर्काएकोले २२ दिनपछि मात्र मेरो होस् आएछ । होसमा आउदा शरिरमा लागेको चोट सबै निको भैसकेछ । खाटामात्र बाँकी थिए ।’’

अहिले त्यो पनि सबै हराईसकेछ । मनमा बसेको खाटा भने बाचुन्जेल नजानेरछ भन्छिन् । भाग्यबस गहिरो चोट चै लागेनछ राधादेबीलाई ।

माई खटिराको महामारीले पनि झण्डै लगेको रे उनलाई ।

मेरो कथा त कती छ कती नानी ’ भन्दै राधादेबी पटक पटक छेवैबाट गुज्रेको मृत्युलाई फेरी महसुस गर्छिन् र बक्सिसमा पाएको जिन्दगीको बाँकी कथा सुनाउन आतुर हुन्छिन् ।

उनले सन्तान शोक एउटा मात्र होइन सरासर ३ पल्ट सहिछीन् । लगातार तीन बर्षको अन्तरमा ३ बर्ष पुरा हुदै ३ वटै पुत्रहरुको चोला उठ्नु भनेको एउटा आमाको लागी मृत्यु भन्दा कठोर सजाय हो । बरु मृत्यु सजिलो होला । पिडाको यो घाउ थेग्न सितिमिति छातीले सक्दैन । तर परेपछि आफुमाथी आकाशै बज्रे पनि सहनुनै पर्ने रहेछ । मरीजान नसकिनेरछ । लगालग ३ वटा बितेर गएका पुत्रशोकले राधाको कलेजा फाट्नु त छदैथियो त्यसमाथी सरासर ४ वटी छोरी जन्मिदा त्यो बेलाको समाजको सोँचले उनको पिडामा मरौ माथी कात्रो थपिदिन्थ्यो ।

अब कोइरालाकी छोरीबाट छोरा हुदैन भन्थे रे ।घरका लाई भन्दा बाहिरकालाई चासो हुन थाल्यो । पार तार्ने त छोरा हो । छोरा नहुनु भनेको त स्वर्गमा बास नपाउनु हो भन्ने समाज थियो ।अन्धविश्वासको यो जालो अझै सम्म जकडेको छ हाम्रो समाजलाई ।

कतिले त मुटु बिजाउने गरी मुखैमा आएर भन्थे रे । समय त अझै पनि कँहा सहज छ र छोरीको लागी । यो संसार देख्न नपाई भ्रुणमै मारिन्छन् अझै कति छोरीहरु ।

दाइजोको निहुमा कतिलाई जिउदै जलाइन्छ ।कति दुधे बालिका अवस्थामै बलात्कारको शिकार हुन्छन् । अपराधको पोल खुल्छ भनेर कति किशोरीहरुको बलात्कार पछि निर्मम हत्या गरिन्छ । कति छोरीहरुले आफन्तबाटै चरम हिंसा सहेर पनि जिउदै मरे समानको जीवन बाँचिरहेकाछन् ।
उबेला छोरा नपाउने नारीले सौतासँग श्रीमान भागबन्डा लगाउनै पर्थ्यो । साँच्चै भन्नु पर्दा तरकारीमा नुन भुटुन मिलाउन नजानेकै निहुमा स्वास्नी छोड्ने , अर्की ल्याउने जमाना थियो । राधादेबीलाई पनि छोडेन त्यो समय र समाजको सोँचले ।
बाँकी कथा सुनाउदै राधादेबी भन्छिन् ।

'काइली छोरी जन्मेको २ दिन भाकोथ्यो , कुनाबाट उक्सेकी पनि थिइँन । साँझ पख पारी खार्पा गाँउबाट ३ जना नचिनेको पाहुना हाम्रा घरमा आए । सिकुवामा बसेर सासु ससुरासँग बात मारे ।

'मैले सासुलाई सोधेँ ’ को थिए त ति पाहुना ?
उदेक लाग्दो त्यो अतितमा पुग्दै राधा देबीले भन्छिन् ।
"बुझ्दै जाँदा त मेरै श्रीमानलाई छोरी दिन आकारछन् ।सासु ससुराले पनि हुदैन भन्दै लाखा पाखा लाग्नुभो ।"
केटीका बावु आमाले मलाई फकाउन थाले ।
मैले पनि
'छोरी धेर भाको हो भने हातखुट्टा बाँधेर कोशीमा हाल्दिनु । मलाई सौता हाल्न ल्याए खुकुरीले छिनाउछु नी भन्दिएँ ।अनि उनीहरु त्यहाबाट हिडे ।’ खै कल्ले भनेर आए थाहा भएन ।

बाहिरकोलाई त वाक्अस्त्र उठाई हराएर पठाइन् तर आफ्नैलाई भने हराउन सकिनन् ।
एउटी नारी सबैथोक बाँड्न राजी हुन्छन् ।तर कसैसँग श्रीमान भने भाग लगाउन मन्जुर हुदैन ।तर समयसँग कसैको केही लाग्दैन । समय र समाज साँच्चै बलवान हुनेरहेछ । राधादेबीलाई पनि त्यो समयको दाष हुनु कर लाग्यो ।

'काइली छोरी जन्मेकै भोली पल्ट श्रीमानले मलाई छोरा चाहिन्छ अब अर्काे बिहे गर्छु भन्न थाल्नुभो।' बुवा आमासँग त्यती बोल्न सक्दैनथिए । तै खोज्छेस् की म आफै खोजुँ भनेर सोध्नुभो ।
मैले मुटु मिचेर मै खोज्छु भने । सौतेनी ग्रह छ भन्थे । पत्यारै लाग्दैन थियो । हो रहेछ ठानेँ ।

त्यो रात देखी राधाको मनको सागरमा कति ज्वारभाटा उठे ? कति आँधीबेहरी चल्यो ? कती सुनामी आयो ? सायदैलाई थाहा होला ।सपनाका महलहरु कस्तरी लडे ? आस्थाको पर्खालहरु कस्तरी भत्के ? मायाको बाचाहरु कसरी तोडियो ? संझेर साध्य छैन । तर जसरी पनि आफ्नै मन बाधेँर जीवनसँग संझौता गर्नुको विकल्प थिएन । किनकी उनलाई सात फेरा लाएर बाँधेको सम्वन्ध छुट्ने डर थियो

अग्नी साक्षी राखेर गाँसेको नाता टुट्ने डर थियो । अझ त्यो भन्दा कुलको इज्जत बोक्ने धैर्यताको बाँध फुट्ने डर भयो ।

बंश चलाउन पनि छोरा त चाहिन्छ नै भन्ने कुरा सबैले भन्दै आएका थिए ।

अन्ततः छातीमा पथ्थर राखेर राधाले आफ्नै ठुली छोरीको उमेर बराबर सानी ७ बर्षे बालिकासँग श्रीमानको लगनगाँठो कसिदिईन् । एउटा पुरुषले राधाको ठाँउमा उभिएर हेर्नु हो भने बरु मृत्यु रोज्न तयार होला तर जारसँग जिन्दगी बिताउन कुनै सर्तमा तयार हुदैन थियो । मनमा चल्ने अनेको आँधीहरुसँग बार बार जुधेर पनि जिवनलाई सँधै शान्त राख्न राधाले कत्रो पर्वत छातीमा राखिन् होला सायदैले अनुमान लगाउलान् ।

सौता कता खोज्नु भयो त ?

'सँगै मेलापात, पधेरो जाने छिमेकमै एउटी मिल्ने साथी थिइन । हामीलाई काम सघाउथी । उस्को घरमा अलि दुःख दुःख थियो । हामी साह्रै मिल्थिम् पनि । सबैले सौता पस्न आउली नी भन्थे । मेरो छारीसँगैको छोरी थिई उस्को पनि । पछि श्रीमानका लागी उस्कै छोरी मागेँ । आमा होइन छोरीलाई सौता बनाएँ ।'

सौता र सैतेनी लोग्नेसँग कत्तिको सहज भयो जीवन ?
'छातीमा पथ्थर राखेर आफुले आफैसँग कसम खाँए नी कि कहिले सौतासँग द्वेषमन र इर्श्याभाव र राख्दिन भनेर ।मेरा छोरीहरुको लागी पिताको छत्रछाँया खोस्ने मलाई अधिकार पनि त थिएन ।

श्रीमानले पर्खेको भए मेरो कोखमा पनि अझै छोराको बास रछ नी । सौता हुले पछि दुई छोरा भए । एक मन त भन्थ्यो आफ्नो भाग लिएर अलग्गै बसुँ । तर नाबालक छोराछोरी संझे । साधु जस्ती सोझी सौताले मलाई के नराम्रो गरेकी छ र ? भन्ने सोचेँ । विद्रोह गरेर पनि मैले के जित्नु थियो र ? मेरो भाग्यमा मात्र सौता लेख्या हैन होला नी संसारमा ? यस्तै संझे अनि आफ्नो मन आफै बुझाएँ नि । ’’
मनसँग एक प्रकारको संझौता गरिन् उन्ले ।

सबै संझौताहरु सम्बन्धलाई धरापमा पार्ने मात्र नहुने रहेछन्, सम्वन्धलाई मजबुत बनाउने पनि हुदारहेछन् भन्ने गतिलो उदाहरण हुन् राधा देबी ।भोक लाग्यो भन्थी , बनाई तुल्याई खान दिन्थेँ । आ( आफ्नो काम गर्थिम् । आफुले राम्रो नजरले हेरे संसार राम्रै देखिदोरछ नानी !! ’
आनीको गीत छ नी ?
'फूलको आँखामा फुलै संसार,
काँढाको आँखैमा काढै संसार'

राधा देबीलाई आनीको गीत पनि
कण्ठै रहेछ । यति दुई लाइन गाए पछि उनी हासिन् र बाँकी लाइन शब्दमा डुबेर गाइन् । दाँतबिनाको मुखमा फुलेको राधाको निस्छल हाँसो ओढारमा सुनखरी फुले जस्तै सुन्दर देखियो ।

उसो त राधा देबीलाई धेरै जसो संगिनी र सिलक अझै कण्ठै छ । एउटै सिलक पुरै भन्दा डेढ घण्टा पुरा लाग्छ । उनलाई त्यो जम्मै कण्ठस्थ छ । छोरीलाई अर्ती भन्ने निकै लामो सिलक एक अक्षर नबिराई अझै भन्नसक्छिन् ।

राधा देबीले श्रीमान साथै हुदा सबै छोरा छोरीको विहेदान गरीसकिन । बितेका ३ भाई छोरा बाहेक पाँच बैनी छोरी र दुई छोरा गरी जम्मा सात सन्तान जिवित छन् राधादेबीको ।
६४ जना त नाति नातिनी र पनाति पनातिनी भैसके । सौता पट्टिका एउटा छोरालाई आफ्ना छोरालाई भन्दा कम स्नेह गर्दिन भन्छिन् ।

"सबैले आ( आफ्नो गच्छे अनुसार गरी खाँदैछन् । छोरा छोरीबाट मलाई सन्तोक छ नानी अहिलेसम्म ।"
'छोराहरुको विवाह गर्दा त हर्षबढाई भयो नी । दुईटी बुहारीहरु छन् ।अहिले सम्म दुइटै बुहारीलाई मैले जान्दा सम्म एक बचन नमिठो बोलेकीछुइन । मलाई पनि राम्रो गरेकाछन् । कामको दुख भए पनि मैले पनि बुहार्तन सहिन खटन खानु परेन । बुहारीहरुलाई पनि कहिले खटन गरिन । मेरो त सासुनै अमृत । सासुले जस्तो सिकाउनुभो त्यसै गरेँ । मलाई अहिले हाइसन्चो छ । हालको आफ्नो अवस्था खुशीले सुनाउछिन् ।

आमालाई पहिले कामको दुःख कत्तिको भयो त ?

अहिले जस्तो सुख कहाँ थियो र उ बेला ?
कहिले नटुटाई एक पल्टमा बीस बाइस जनालाई भात पकाउनु पर्थ्यो। जाडो गर्मी जहिलेसुकै चोला लाएर भात पकाउन पाइदैन थियो । पाखा बस्दा लगाको फरिया लाएर चुल्हामा पस्न हुन्नथ्यो ।

खेतीको समयमा त एक छाकमै ५० साठी जनालाई भात पाक्थ्यो । बेलुका खानपनिको काम सकेर ३० पाथी अन्न जाँतोमा पिसेर मात्र सुत्न पाइन्थ्यो । तीनवटा जाँतोमा ६ जनाले १० (१० पाथी पिस्थिम् । ढिकीमा धान कुट्नु पर्थ्यो । अहिले जस्तो मिल थिएन । लेक बेँसी उकालो ओरालो त कत्ति हो कत्ति गर्नु पर्ने । ६ जना जेठानी देउरानी थिम् । खन्नु जोत्नु , गोडमेल , मल बोक्नु ,बाली लाउनु उठाउनु कहिल्यै कामले फुर्सद नहुने । खेती पनि निकैनै थियो । बेँसी टाढा थियो । सुनकोशी किनार छेउ ।

कामको यति चटारोमा दश जना सन्तान हुर्काउन गार्हाे भएन ?

’ छ वटी बुहारी थिम हामी । बर्षेनी घरमा २ तीन जना सुत्केरी नटुट्ने । लेक बेँसी गर्दा गर्दै बाटो बाटै नानी जन्मिन्थ्यो । मेरा १० सन्तानमा ३ जना मात्र घर भित्र जन्मिए । अरु सबै पाखा पाखै । कोही रुखको फेँदमा कोही आँगनमा कोही ग्वालीमा , कोही बाटोमै । जचाउने जाने अस्पताल थिएन । अहिले जस्तो अप्रेसन गर्नु पर्ने भए त उहिल्यै मरीसकिन्थ्यो होला ।

काहिली छोरी जन्मिदा घर भित्र पस्न नी भ्याईन । आँगन भरी तोरी ,दालको कुनाउरो थियो त्यही सानो सुतक भयो अनि नानी पनि झरीगो । नानीको जीउभरी कुनाउरोको कस् बिझेको थियो । न्वारानको दिनसम्म पनि बिझेको कस निकाली सकिएन । त्यही छोरीको पालामा कुनामै ( सुत्केरी बस्ने ठाँउ ) मनमा ठुलो पीर पर्याे ।

त्यतिबेलाको समयमा आफुले भोगेको समस्या हेरी अहिलेको महिलाहरुलाई स्वर्गनै छ भन्छिन राधा देबी ।

छोरीहरु अन्माउन कति कठिन भयो त ?

जवाफमा राधादेवीले एक टुक्रा सिलकमा ओकलिन् एउटा आमाको पुरानो एक ढिक्का पिडा ।

'सुनकी पुतली जस्ती, सुन्दरी मेरी छोरी
एक न दुई तारा, आयौ मायाकी डोरी
अब दिनु कसोरी, बज्र पारी छाती
संझीकन मन पोल्छ, निद्रा लाग्दैन राती ।’

'गार्हाे भो नी । आफुले माइतघर छोडेर जानु पर्दाको पिडा आलै थियो । अलि बुझ्ने पनि भैसकेकी थिए बिहे हुँदा । दशवटी छोरी भए पनि त माया बराबर हुन्छ ।
जस्तै भए नी माइत र घर उस्तै हुदैन नी ।
छोरीबाट बुहारी भएपछि जीवन फरक हुन्छ
भन्छिन् राधा देबी । आफैले भोगेकी छु ।
त्यसैले मलाई बुहारीहरुको पनि उत्तिकै माया लाग्छ ।’’
अहिले कस्तो छ त आमालाई ?

मालिकले छोडेर गएनी माया गर्ने सन्तान छन् ।
छोराहरुले आफुसँगै राखेकाछन् । बजारमा गोठ नभएनी दुध दहीमा डुबाकाछन् । मलाई दौलत छ भन्छिन् राधादेबी ।

श्रीमान रहुन्जेल ईटहरी र झापाको घरमा आईजाई गरिरहने उनि अहिले भने जेठा छोरासँग बस्दै आएकीछिन् । जग्गा जमिन खेती पाती प्रसस्त भएपनि पहाडमा कामको धेरै दुख खेपेकी राधादेबी २५ सालमा झापाको गौरादह झरेपछि भने काममा निकैनै होलो सजिलो भएको बताउछिन् ।

"२०७२ सालमा श्रीमान बित्नुभो । त्यतीबेला आफु पनि सार्है बिमारी थिएँ । बोनटिबीले ओछ्यान लागेको ६ महिना भाकोथ्यो । मालिक खसेको खबर पाएपछि अन्तिम श्रध्दाञ्जलि दिन कसरी झापा पुगेँ मआफैलाई थाहा छैन" भन्छिन राधा देबी । अहिले आफुलाई सुगर प्रेसर जस्ता कुनै दिर्घ रोग नभएकोमा खुशी ब्यक्त गर्छिन् उनी ।

बोन टि बी ले सताको बेला बाहेक आमाले कहिल्यै ऐया आथ्था गरेको सुनेकी छैन मैले ।
अझै त दुई डाढु घिउ मजाले पचाउनुहुन्छ आमा भन्दैथिइन् जेठी बुहारी ।
पहिला हेरी अहिलेको जामाना धेरै सजिलो लाग्छ रे उनलाई । अलि छिटै जन्मिएछु भन्छिन् ।
'धेरै बिकास बिकास देख्न नपाई गइन्छ होला ।'
जन्मेको १३ बर्ष देखी जोडिएको नाता ८० बर्षको उमेर कतै नडगमगाई निभाइन् उनले ।
जस्तै चुनौती आए पनि सात फेराको बद्नाम र सिंदुरको अपमान गर्न कहिले चाहिनन् ।
सौतालाई मुटुको किला संझिने महिलाको जात भएर पनि आफैले भित्र्याको
सौताको डाह कहिले लागेन भन्छिन् ।
बरु छोरी जतिकै माया दिएँ भन्छिन् । मालिक बितेको बेला म थलामै थिएँ ।आमालाई जत्तिकै सबै स्याहार उसैले गरी भन्छिन् ।

के गरेर दिन बिताउनु हुन्छ त आमा ?

'उ तेई त हो नी मेरो काम' भन्दै कपास सहित १ मुठा बाती राखेको थाली देखाउदै हातको इसाराले बाती काटेको अभिनय गर्छिन् राधादेबी र दातबिनाको ओठबाट एक लहर हाँसोले कोठा उज्यालो बनाउछिन् ।

यो साल ३ लाख बाती कात्ने र बाल्ने धोको छ उनको ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।