ताजा अपडेट »

लघुकथा : रवि, कवि र अनुभवी

विहीबार, २५ भदौ २०७७, १७ : ५९
2 Shares

मास्टर्स डिग्री पहिलो वर्षको रुटिङ निस्कियो । कान्ति छात्रबासका रुममेट गणेश र राजेन्द्र अब खुब तयारीमा जुट्ने निर्णयमा पुगे । पकाएर खाने समय पनि पढाईमा लगाउने सोँचले जाँच नसिद्धिँदासम्म होटलमा खाने । किर्तिपुर नयाँ बजारका होटलमा खाना खान थाले । तर तेस्रो दिनमै राजेन्द्रलाई पेट दुख्ने, रुघा लाग्ने भइहाल्यो ।

एक-दुई दिन पानीको वाफ लिने, भिक्स दल्ने गरेर सन्चो भईहाल्छ कि भन्ने सोचे, तर भएन । अत्यन्तै टाउको दुख्न थाल्यो । किर्तिपुरकै मेडिकलमा औषधि किनेर खाए दुई/तीन दिन तर केही सुधार भएन । पाँचौं दिन वीर हस्पिटल गएर जचाँई औषधि खान थाले । पेट दुख्ने त ठिक भयो तर टाउको झनै फुट्ला झै दुख्न थाल्यो । बाफलिँदा, भिक्स दल्दासम्म ठिक भए झैं हुने पछी दुख्न थाल्ने । गल्यो साथी । अब त कमजोरीले रिंगटा पनि लाग्न थाल्यो । सरकारी हस्पिटलको के विश्वास ?

नाम चलेका डाक्टरहरूका प्राइभेट क्लिनिकहरूमा धाउन थाले । डाइटिशियन, कार्डियोलोजिष्ट यहाँसम्म कि साइकियाटिष्टकोमासम्म पनि गए । क्लिनिकल टेस्टमा केही पनि बाँकी राखेनन् । जसरी हुन्छ, चाडैं निको गराउनु थियो। सिटी स्क्यान त के काठमाडौंमा भर्खरै प्रवेश भएको एम.आर.आईसम्म पनि गराए । खासै कुनै रोग देखिएन । तर साथी झन्झन् कमजोर हुँदै गयो । ट्वाइलेट जाँदासम्म पनि साथ दिनुपर्ने भयो । एकोहोरो देखिन थाले राजेन्द्र । परीक्षाको तयारी त के सम्हालिनसम्म पनि गाह्रो भयो । रातदिन झोक्राईरहन्थे उनी ।

ल हिड एकछिन बाहिर चिया खाएर आउने, गणेशले भने । दुबैजना गेट बाहिरको चिया पसलमा गए। एकजना टि. यु. कै सहायक स्तरको कर्मचारीको श्रीमतीले आफ्नै क्वाटरबाट चलाएकी थिइन् त्यो पसल । राम्री थिइन् । होस्टेलका केटाहरू उनलाई हेर्न र उनको हातको चिया खान मन पराउँथे । सबैले भाउजू भन्थे । चिया खाईसकेपछि फर्कने क्रममा नजिकैको हेल्थ क्लिनिकमा आँखा पर्यो गणेशको ।

"ल हिँड तिमीलाई जचाँउने", गणेशले भने ।
टि.यु. कम्पाउण्ड रहेको उक्त क्लिनिकमा एच.ए. स्तरको स्वास्थ्यकर्मीले हेर्थे ।
'तिमी पनि जोक गर्छौ, कहाँकहाँ जचाएर भएन यस्ताले के गर्लान् ?" राजेन्द्रले भने ।
"नि: शुल्क हो, के फरक पर्यो त, कस्तो रहेछ, यहाँ पसिएको पनि छैन", राजेन्द्रलाई सहमत गराए गणेशले ।

उनलाई जाँचियो। त्यहाँबाट दिइने औषधि दिइयो र केही बाहिरबाट किन्नुपर्ने भनियो । पत्यार नलाग्दानलाग्दै पनि उठाए र यसो टहलिँदै पोस्टरहरू हेर्न थाले । त्यतिकैमा प्रवेशद्वार नेर बसेर क्रुस चलाईरहेकी पचास पच्पन्न बर्ष उमेरकी नर्सले एक्कासी सोधिन्- "तपाईँले भिक्स राखेको तातोपानीको बाफ अत्ती बढी लिनुहुन्छ हो ? त्यो लिन छोड्नुस्, आफै ठिक हुन्छ ।"

"ताल न तुलकी भ्याउती बुढी त्यसै बोल्छे, त्यसैले त अल्लि आराम भएको छ," मनमनै सोचे , केही बोलेनन् । कोठामा आएपछि कतै त्यहीँ त होइन ? एकदुई दिन परिक्षण गरौं न त भन्ने सोचे र गरे पनि । अचम्म नै भयो दुईदिन मै पुरै ठीक भएको महसुस गरे राजेन्द्रले ।

याद आयो बनारसमा संस्कृत पढेका नेपाली पढाउने गुरुले हिन्दीमा वाचन गरेर नेपालीमा उल्था गरेको कथन-"जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि, जहाँ पुग्दैनन् कवि त्यहाँ पुग्छन् अनुभवी ।"

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।