ताजा अपडेट »

लोगो डिजाइनमै रमाएका सौरभ, मासिक लाख बढी आम्दानी

विहीबार, १८ भदौ २०७७, ११ : ०९
4 Shares

विश्वव्यापी कोरोनाको असर सबै किसिमका क्षेत्र, व्यवसाय र पेशामा देखिएको छ । सामान्य लगानी र सामान्य सीपमूलक पेशा गर्नेहरुदेखि लाखौं लगानीका साना, करोडौं लगानीका मझौला र अरबौं लगानीका ठूला उद्योगहरु र ती उद्योगमा कार्यरत कर्मचारीहरु प्रभावित भएका छन् । कोरोना संक्रमण र कहरबाट नेपालमै लाखौं बेरोजगार थपिने क्रम बढ्दो छ । तर, केहि यस्ता सीप, पेशा र व्यक्ति छन् जसलाई लकडाउनले न त गम्भीर प्रभाव पारेको छ, न त उनीहरुको आयस्रोतनै बन्द भएको छ । यस्तै सीप तथा पेशा अंगालेका यूवा हुन्, सुशिल न्यौपाने, ‘सौरभ’ र उनी पेशाले एक ग्राफिक्स डिजाइनर हुन् ।

कोरोना कहर र लकडाउनले करिब विश्वलाई नै घरमा थुनिने अवस्था सिर्जना गर्यो । यस दौरान धेरैका आर्थिक गतिविधि र पेशागत कार्यहरु ठप्प रहयो । तर, सौरभलाई भने सामान्य नै रहयो । किनकी उनको काम वा पेशा नै घरमै अर्थात् आफ्नो कार्यालयमा नै बसेर गर्ने हो । उनलाई कामको अवसर इन्टरनेटको माध्यमबाट नै प्राप्त हुन्छ । अनि उनले आफूले गरेको कामको डेलिभरी पनि इन्टरनेटबाट नै दिन्छन् । विशेष गरि उनले देश तथा बिदेशका संघ-संस्था तथा ब्यक्तिहरुका काम इन्टरनेटबाट लिने तथा इन्टरनेटबाटै पठाउने गर्दछन् । अधिकांश काम विदेशबाटै आउने उनि बताउँछन् ।

उनको पेशा प्राविधिक हो । कम्प्यूटरमार्फत विभिन्न सिर्जनाका काम गर्ने उनी मुख्यतया लोगो डिजाइनर हुन् । बुटवल–११ देविनगरमा ‘मेगा रिजूयलेशन’ सञ्चालन गर्दै आएका उनी विशेषतः लोगो डिजाइन गर्दछन् र सोही कला मार्फत परिचित पनि छन् । उनले ग्राफिक्स डिजाइन विधाका विभिन्न कामहरु गर्नुका साथै समसमायिक विषयमा कार्टून पनि कोर्दै आएका छन् भने थ्री डि एनिमेशनमा पनि राम्रो दख्खल राख्दछन् । बाल्यकालदेखिनै चित्रकलामा रुचि राख्ने उनी किशोर अवस्थादेखि कम्प्यूटरसँग खेल्न थालेको बताउँछन् । वि.सं.२०३८ सालमा स्याङ्गजामा जन्मेका उनी चर्चित साहित्यकार तथा प्रध्यापक घनश्याम न्यौपाने ‘परिश्रमी’का कान्छा सुपुत्र हुन् ।

बुवा प्रध्यापक तथा साहित्यकार र दाजु विद्यालयमा प्रिन्सिपल भएपनि उनी भने दाजु र बुवाले अंगालेको पेशा भन्दा फरक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । सानैदेखि विद्यालय स्तरका चित्रकला प्रतियोगितामा सहभागिता जनाउँदै आएका उनको विद्यालय स्तरको शिक्षा भने देशका विभिन्न स्थानबाट पूरा भएको थियो । बुवा प्रध्यापक भएको हुनाले उनको जहाँ–जहाँ सरुवा हुन्थ्यो त्यहिँका विद्यालयमा उनले अध्ययन गर्दै गए । उनले औद्योगिक नगरी विरगञ्जमा प्लस टू अध्ययन गरे भने बुटवल बहुमखी क्याम्पसबाट स्नातक सम्मको अध्ययन तथा भैरहवा बहुमुखी क्याम्पसबाट स्नाकोत्तर पूरा गरे । नवपरासीको बर्दघाट स्थायी घर भएका सौरभ कामको शिलशिलामा करिब ५ वर्ष काठमाण्डौं बसे । उनले त्यहाँ रहेर देशकै ठूला मध्यमा गनिने विज्ञापन एजेन्सीमा ग्राफिक्स डिजाइनिङ तथा भिजूअल मिक्सिङ्गको काम गरे । सोही एजेन्सीमा रहेर आफ्नो सीपलाई थप निखार्ने अवसर समेत पाए ।

वि.सं.२०५६ सालमै बर्दघाटमा कम्प्यूटर इन्ष्टिच्यूट सञ्चालन गरेका उनलाई कम्प्यूटर सम्बन्धी ज्ञान र कम्प्यूटरको लगाव राम्रोसँग थियो । सोही लगावकै कारण उनले कम्प्यूटरलाई आफ्नो कर्मको माध्यम मात्रै होइन, जिविकोपार्जनका लागि स्रोत र साथी दुबै बनाए । बर्दघाटको कम्प्यूटर इन्स्टिच्यूटको अनुभव र काठमाण्डौंको कामको राम्रो अनुभव बटुलेका उनी २०६९ सालमा थप सम्भावना तथा अवसर देखेर बुटवल झरे । ग्राफिक्स, त्योपनि मोफसलको विकसित शहर बुटवलमा निकै सम्भावना देखेका उनले आफूले चिनेको कम्प्यूटर र जानेको सीपलाईनै निरन्तरता दिने उद्देश्यले बुटवलबाट मेगा रिजुयलेशन मार्फत ब्यवसायिक डिजाइनिङको सेवा आरम्भ गरे ।

किशोर अवस्थाबाट सुरु भएको कम्प्यूटरसँगको उनको यात्राका २ दशक पूरा भएका छन् । यस दौरान उनले विभिन्न स्थानीय, राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरका कम्पनीका आकर्षक लोगो बनाएका छन् । हालसम्म ५ हजार बढी लोगो बनाएको उनी बताउँदछन् । बुटवलकै बिमला बस्यालसँग वैवाहिक जीवनको यात्रा गरेका उनका एक छोरा र छोरी रहेका छन् । उनी हाल बुटवलका स्थायी बासिन्दा समेत हुन् । कम्यूटरसँग खेल्दै गरेका क्रियाकलापहरुबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् । यहि पेशा अपनाएर नै महिनामा एकलाख बढी औसत आम्दानी गर्ने उनी बताउँछन् ।

बेला बेलामा समय निकालेर प्रकृतिसँग रमाउन रुचाउने उनि, ट्रेकिङका सौखिन हुन् । कामबाट थोरै समय पाउनासाथ साथीभाईसँग ट्रेकिङमा निस्कन्छन् । यसरी घुम्दा नियमित कामको प्रेसरबाट थोरै भएपनि आराम मिल्नुका साथै नयाँ उर्जा पनि प्रप्त हुने उनि बताउँछन् । उनको घरमै एउटा छुुट्टै काम गर्ने कोठा छ । जसलाई उनले आफ्नो कार्यालय बनाएका छन् । लगानीका हिसाबले यो पेशामा खासै ठूलो आर्थिक लगानी नभएपनि उनले प्रयाप्त समय लगानी गरेका छन् । डिजाइनिङ पेशामा धैर्यता र लगावनै मुख्य रहने उनि बताउँछन् । डिजाइनिङ्ग उनको कला पनि हो । किनकी लोगो डिजाइन गर्नु एक किसिमको बौद्धिक कला हो भने त्यसलाई आकारमा ल्याउनु उनको सीप हो ।

बुवा चर्चित प्रध्यापक तथा साहित्यकार र दाजु बिद्यालयका प्रिन्सिपल भएतापनि आफ्नो काममा कहिल्यै जिज्ञासा र प्रश्न नगरेको उनी बताउँछन् । कम्प्यूटर इन्ष्टिच्यूटदेखि यस क्षेत्रमा अघि बढ्न आमाको माया र दाजुको भरपुर साथ रहेको र सधैं दाजू सूवर्णबाट आगाडि बढ्न प्रेरणा मिलेको उनको भनाई छ । हाल विभिन्न कम्पनीहरु मात्रै नभई सयौं संघसंस्थाहरुको स्थापना र सञ्चालन गर्दा पहिचान चिन्ह “लोगो” आवश्यक पर्ने हुनाले लोगो डिजाइनरको काम प्रयाप्त रहेको उनी बताउँछन् ।

सानादेखि ठूला उद्योगले गर्ने क्रियाकलाप र विज्ञापनका लागि पनि आकर्षक डिजाइन आवश्यक पर्ने हुँदा डिजाइनरको माग दिनानुदिन बढ्दो रहेको उनी दोर्होयाउँछन् । तर, माग अनुसार बुटवलमा मात्रै नभई देशकै विभिन्न शहरमा दक्ष जनशक्ति नरहेको पनि उनको ठम्याई छ । ग्राफिक्स डिजाइनलाई हल्का रुपमा लिनेहरु धेरै र व्यवसायिक तवरले काम गर्ने निकै थौरै रहेको हुँदा पनि यो व्यवसाय त्यति व्यवसायिक हुन नसकेको उनी महशुस गर्दछन् । ग्राफिक्स डिजाइनको क्षेत्रमा प्रयाप्त रोजगारीका सम्भावनाहरु रहेको हुँदा दृढ इच्छाशक्ति भएका यूवाहरुलाई यस क्षेत्रमा आउन समेत उनि अपिल गर्दछन् । विद्यालय स्तरदेखि ग्राफिक्स डिजाइनको कोर्ष अध्यापान गराउन सके देश तथा विदेशमै धेरै यूवाहरुलाई रोजगार बनाउन सकिने उनि बताउँदछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।