ताजा अपडेट »

नेपाल महिला टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा

सोमबार, ३० पुस २०७५, १२ : ४८
8 Shares

काठमाडौं । नेपाल थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बैंकक क्रिकेट मैदानमा सोमवार भएको समूह चरणको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’लाई ६ विकेटले हराउँदै अन्तिम चारको स्थान तय गरेको हो । 

‘युएई’ले दिएको १ सय ६ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । नेपालका लागि ओपनर ब्याट्सविमेन सिता रानामगरले ३७ रन जोडिन् । उनलाई काभिसा कुमारीले क्याच आउट गरिन् ।  

काजल श्रेष्ठ २५ रन बनाउँदै आउट भइन् । उनलाई काभिसाले रनआउट गरेकी थिइन् । त्यस्तै डोली भट्ट ६ रन बनाएर पेभेलियनमा फर्किन् । उनी एलबिडब्लुमा आउट भएकी थिइन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्मा १३ रन बनाएर पेभेलियनमा फर्किन् । यता कप्तान रुबिना क्षेत्रीले १० तथा नेरी थापाले ६ रन जोडिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको योगफल तयार पारेको थियो । युएईका लागि छाया मुगालले सर्वाधिक ३१ रन जोडिन् ।

त्यस्तै इशा ओजाले २८ रन तथा चमानी सिनेभिरात्नेले नटआउट २३ रन जोडिन् । यता नेपालका लागि सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले समान एक-एक विकेट लिईन् ।
यता सरिता मगरले इश्नी सेनाभीराप्नेलाई तथा काभिसा कुमारीलाई डोली भट्टले रनआउट गरेकी थिइन् ।

जितपछि नेपालले अपराजित रहँदै ६ अंक बनाएको छ । यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।अब समूहको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको सामना गर्नेछ । यो खेल यहि बुधवार हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।